पार्थ अर्थात् अविच्छिन्न रूपले आत्म ज्ञानमा नरहने अवस्था

पार्थ अर्थात् अविच्छिन्न रूपले आत्म ज्ञानमा नरहने अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  जेठ २१, २०७९

एकादशोऽध्यायः
अर्जुन उवाच –
  मदनु ग्रहाय परमं गुह्यमध्यात्मसंज्ञितम् ।
    यत्वयोक्त  वचस्तेन  मोहोऽयं विगतो मम् ।। १ ।।

अन्वय र अर्थ – अर्जुनः  उवाच = अर्जुनले भने । मदनुग्रहाय = मलाई अनुग्रह गर्नका लागि, परमं = अत्यन्त, गुह्यं = गोप्य, अध्यात्मसंज्ञितं = आत्मा अनात्मा विवेचन विषयक, यत् = जुन, वचः = वचन, त्वया = तपाईले, उक्त = भन्नुभयो, तेन = ती तपाईका वचनहरूले, मम = मेरो,  अयं = यो  मोहः = अविवेक बुद्धि (म मार्ने यिनीहरु मारिने इत्यादि लक्षण भ्रम), विगतः = नष्ट भयो ।

भावार्थ – अर्जुन भन्दछन्- मलाई  अनुग्रह गर्नका लागि तपाईले जुन परम गुह्य आत्म अनात्म विवेक विषयक वाक्य भन्नु भएकोछ, त्यसबाट मेरो यो मोह (अविवेक बुद्धि) विनष्ट भएको छ ।

बिशिष्टार्थ – (भगवानले पूर्व अध्यायको अन्तमा  'म यस समस्त जगत्लाई एकांशले धारण गरि रहेको छु'  भनेर उहाँको जुन विश्वरूपी भाव हो त्यो व्यक्त भएको छ । अर्जुन भगवान्को त्यो विश्व रूपलाई प्रत्यक्ष गर्नका लागि आनन्दले भरिएको मानसमा एक पछि एक गर्दै चार श्लोकोक्त  वाक्यहरू भन्दछन्) ।  

'म'  को त्यो जुन अणुलाई ग्रहण गर्नको लागि निमित्त स्वरूप जुन परम गुह्य वाक्य हो, जसलाई कसैले कहिल्यै पनि बाहिर ल्याएर प्रकाश गर्न सक्दैन, जुन अध्यात्मसंज्ञित अर्थात् आत्म विषय र अनात्म विषयहरूको ज्ञापक हो त्यो त्वं रूपमा नरहेर अहँ रूपमा रहेको हुनाले भन्न सकिदैन । यो जुन पहिले पहिलेका अध्यायहरूमा प्रत्यक्ष गर्नु भएको सुन्दै आएँ । यसबाट मायाको मोह त मेरो हट्यो ।

   भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।
    त्वत्तः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम् ।। २ ।।

अन्वय र अर्थ – कमलपत्राक्ष = हे कमलपत्राक्ष ! त्वत्तः = तपाईबाट,  भूतानां = सम्पूर्ण प्राणीहरूको, भवाप्ययौ = सृष्टि र प्रलय दुबै, हि = नै, मया = मैले, विस्तरशः = विस्तार पूर्वक, श्रुतौ = सुनेको छु, अव्ययं = अविनाशी, महात्म्यं = माहात्म्य, च = पनि (श्रुतं = सुनेको छु) ।

भधावार्थ – हे कमलपत्राक्ष ! तपाईँबाट समस्त भूतहरूको सृष्टि र प्रलयको कथा मैले सविस्तार सुने, तपाईको अव्यय माहात्म्य पनि सुनेको छु ।

विशिष्टार्थ  – हे कमल पत्राक्ष ! कमलको फूलका प्रत्येक पत्रहरू हेर्दा सबै चक्षु आकारका देखिन्छन्, त्यस्तै जगत्का प्रत्येक अणु परमाणुमा द्रष्टा स्वरूपले तपाई हुनुहुन्छ, कुनै यस्तो स्थान छैन जहाँ तपाईँको दृक् शक्तिको अन्तरालमा रहन सकोस् । भूत समूहको भव अर्थात् उत्पत्तिको विषय, अप्यय अर्थात् प्रलयको विषय, अनि 'म' को (मेरो) माहात्म्यको विषय तपाईको निकट-अर्थात् जब म 'म' को भावमा थिएँ, सोही भावमा-रहेर विस्तार रूपले मैले सुनेको छु-प्रत्यक्ष गरेको छु-र बुझेको छु ।

    एवमेतद् यथात्थ त्वमात्मानं परमेश्वर ।
    द्रष्टुमिच्छामि ते रूपमैश्वरं पुरुषोत्तम ।। ३ ।।

अन्वय र अर्थ – परमेश्वर = हे परमेश्वर ! त्वं = तपाई, आत्मानं = आफूलाई, यथा = जस्तो, आत्थ (विष्टभ्याहमिदं कृत्स्नमेकांशने स्थितो जगत् इति एवं कथयसि) = भन्नुहुन्छ, एतत् = यो एवं = यस्तै नै हो, (न अन्यथा = कत्ति फरक छैन), पुरुषोत्तम = हे पुरुषोत्तम ! (तथापि = तै पनि) ते = तपाईको, ऐश्वरं = ज्ञान, ऐश्वर्य, शक्ति, बल, वीर्य र तेजले युक्त ऐश्वर्यमय वैष्णव, रूप = रूपलाई, द्रष्टुं = हेर्न, इच्छामि = चाहन्छु ।

भावार्थ – हे परमेश्वर ! आत्म विषयमा तपाईँले जस्तो भन्नु भएको छ त्यस्तै नै हो । हे पुरुषोत्तम ! तपाईको त्यही ऐश्वरिक रूप देख्न म चाहान्छु ।

सबै आकाशका कार्य हुन्, रंग, तूलिका, मृत्ति कापटे केही पनि छैन । नाना प्रकारका रंग सबै आकाशका हुन्, आकासले बनाएका सबै आकृतिहरू आकाशमा झुण्डिएका छन्, कुनै आधार छैन । निराश्रयमा स्वयं आफ्ना आफ्ना मूर्तिहरूको प्रकाश, जसरी आफ आफैमा गर्दछन् । परस्पर कसैको कुनै सहारा छैन, सबका सब स्वतन्त्र छन् ।

विशिष्टार्थ – यस्तो 'म'  जसलाई त्वं-ज्ञानमा पुगेर सम्झनु पर्दछ, जसको विषयमा तपाईले भन्नु भएको छ त्यो त्यस्तै नै हो, यसमा अन्यथा छैन । तपाई परमेश्वर अर्थात् ज्ञान, ऐश्वर्य, शक्ति, बल, वीर्य, तेज सम्पन्न हुनुहुन्छ । हे पुरुषोत्तम !  हे ज्ञानको प्राणको प्राण सखा ! तपाईको सोही ऐश्वरिक रूप देख्ने मेरो ठूलो अभिलाषा छ । तपाईको उपदेश अनुसार मेरो अन्तःकरणमा जुन जुन अनुभवहरू भएका छन्, तिनीहरूमा अव कुनै प्रकारको संशय छैन, परन्तु म बाहिर आएर यो ऊ भन्ने पृथक् विचार लिएर अलम लिन्छु, अब तपाई तिनै सबैको मीमांसा गरि दिनुहोस्,  कसरी एक अवयवमा एक अंशमा यस विश्व जगत्लाई धारण गर्नु भएकोछ, त्यसैलाई देख्ने मेरो चाहाना छ ।

    मन्यसे यदि तच्छक्यं मया द्रष्टुुमिति प्रभो ।
    योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ।। ४ ।।

अन्वय र अर्थ – प्रभो = हे प्रभु ! यदि = यदि, तत् = त्यो ऐश्वर रूप, मया = मैले, द्रष्टुं = देख्न, शक्यं = समर्थ, इति = यस्तो, मन्यसे = ठान्नुहुन्छ, ततः = त्यसो भए, योगेश्वर = हे योगेश्वर ! त्वं = तपाई, मे (मह्यं) = मलाई, अव्ययं = अविनाशी, आत्मानं = आत्म स्वरूप, दर्शय = देखाउनुहोस् ।

भावार्थ – हे प्रभो ! यदि म त्यो रूप देख्न समर्थ छु भन्ने यस्तो तपाई ठान्नुहुन्छ भने हे योगेश्वर ! तपाई मलाई आफ्नो  उही अव्यय आत्म स्वरूप देखाउनुहोस् ।

विशिष्टार्थ – – हे प्रभो ! हे योगेश्वर ! (योगेश्वर= हे योगेश्वर अहँ भाव होस् या त्वं भाव चाहे जुनमा रहोस्, परन्तु उसमा योगावस्थाको अभाव कहिल्यै हुँदैन), यदि म यस त्वं ज्ञानमा रहेर तपाईको त्यो अहँ भावलाई देख्न लायक सम्झनु हुन्छ भने तपाई मलाई भित्र बाहिर मिलाएर आफ्नो  अव्यय आत्म भाव देखाउनुहोस् ।
 

श्रीभगवानुवाच –
    पश्य मे पार्थ रूपाणि शतशोऽथ सहस्रशः ।
    नाना विधानि दिव्यानि नानावर्णाकृतीनि च ।। ५ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच – भगवान्ले भन्नु भयो । पार्थ=  हे पार्थ ! मे = मेरा, नाना विधानि = अनेक प्रकारका, दिव्यानि = अलौकिक, नानावर्णाकृतीनि = अनेक प्रकारका वर्ण तथा आकृतिले युक्त, च = पनि, शतशः = शयौं, अथ = अरू, सहस्रश = हजारौं, रूपाणि = रूपहरू, पश्य = हेर ।

भावार्थ – श्री भगवानले भन्नु भयो – हे पार्थ ! मेरा नाना विधि, दिव्य अलौकिक नाना वर्ण र आकृति युक्त सयौं तथा हजारौं रूपहरू हेर ।

विशिष्टार्थ – (पूवोक्त चार श्लोहरूमा साधकले जीव भावमा जुन आकांक्षा गर्दछ, यी चार श्लोकहरुमा  आत्म भावले त्यो पूर्ण हुन्छ । दिव्य दृष्टिको विकासले  विश्वरूप प्रत्यक्ष हुन्छ ।)

हे पार्थ ! (पृथ् क्षेपणे (पृथ्+उवण्), अविच्छिन्न रूपले आत्म ज्ञानमा जो रहन सक्दैन, उसैको नाम पार्थ हो ।) हेर, 'म' को रूप हेर, शत–शत, सहस्र–सहस्र, अन्त शून्य अनन्त कस्तो छ त्यसलाई हेर । म एक भएर पनि कसरी बहु आत्मक छु, फेरि बहु भएर पनि कसरी एक छु, त्यो हेर । सबै आकाशका कार्य हुन्, रंग, तूलिका, मृत्ति कापटे केही पनि छैन । नाना प्रकारका रंग सबै आकाशका हुन्, आकासले बनाएका सबै आकृतिहरू आकाशमा झुण्डिएका छन्, कुनै आधार छैन । निराश्रयमा स्वयं आफ्ना आफ्ना मूर्तिहरूको प्रकाश, जसरी आफ आफैमा गर्दछन् । परस्पर कसैको कुनै सहारा छैन, सबका सब स्वतन्त्र छन् ।

    पश्यादित्यान् बसून् रुद्रानश्विनौ मरुत स्तथा ।
    बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ।। ६ ।।

क्रमश: