‘मुसलमानमाथि नरसंहार मच्चाउन हिन्दूहरूलाई अन्यत्र सारेर जनसांख्यिक परिवर्तन !’

‘मुसलमानमाथि नरसंहार मच्चाउन  हिन्दूहरूलाई अन्यत्र सारेर जनसांख्यिक परिवर्तन !’

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २१, २०७९

भारत प्रशासित जम्मु काश्मिरमा रहेका हिन्दूहरु (काश्मिरी पण्डित) लाई जबर्जस्ती पलायन हुन बाध्य पारेको पाकिस्तानी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । 

पाकिस्तानको ‘द एक्सप्रेस ट्रिब्युन’ ले प्रकाशित गरेको समाचारमा भारत सरकारले सन् १९९० को दशकमा जस्तै काश्मिरी पण्डितलाई पलायन हुन बाध्य पारेर त्यसको आरोप पाकिस्तान र काश्मिरको स्वतन्त्रताको पक्षमा रहेका काश्मिरी माथि लगाएको उल्लेख गरेको छ । 

विश्वस्त सुत्रको जानकारी भन्दै प्रकाशन गरिएको समाचारमा भारतको कब्जामा रहेको घाटीबाट हिन्दूलाई अन्यत्र सार्ने र मुस्लिम समुदायमाथि नरसंहार मच्चाउने योजना नै अनुसार भारतले त्यहाँका हिन्दूहरूलाई अन्यत्र सारेर जनसांख्यिक परिवर्तन गराउने प्रयास गरेको उल्लेख छ । 

भारतले इजरायलले प्यालेस्टिनी जमिन कब्जा गरेर अलग अलग स्थानमा बस्ती बसाएको शैलीमा नै काश्मिरमा पनि बस्ती विस्तारको योजना बनाएको दाबी गरिएको छ । 

यद्यपि भाजपा सरकारको उक्त नीतिको काश्मिरी पण्डितले नै विरोध गरेका छन् । काश्मिरी हिन्दूहरू यसअघि नै भारत प्रशासित काश्मिरमा सुरक्षा र कानुनी व्यवस्था लागू गर्न असफल भएकोमा असन्तुष्ट छन् । 

भारत सरकार स्वयमले काश्मिरी पण्डित र मुस्लिम समुदायबीच विभाजन ल्याउने प्रयास गरेको पनि समाचारमा उल्लेख गरिएको छ । 

काश्मिरको स्वतन्त्रताका लागि मुस्लिम समुदायले गरिरहेको संघर्षमा हिन्दू समुदायलाई निशाना नबनाएको काश्मिरी मुस्लिम समुदायले बताउँदै आएका छन् । 
समाचारमा मुस्लिम समुदाय पनि काश्मिरमा हिन्दू समुदायको उपस्थितिको पक्षमा रहेको र उनीहरु पनि काश्मिरको आत्म निर्णयमा आफूहरुको सहभागिताको पक्षमा रहेको उल्लेख छ । 

भारत प्रशासित काश्मिरमा मुस्लिम समुदायले लामो समयदेखि स्वतन्त्र काश्मिरका  लागि भन्दै जारी राखेको स्वतन्त्रताको संघर्षलाई भारतले आतंकवादी क्रियाकलापको संज्ञा दि‌दै सोही अनुसार  दमन गर्दै आएको छ । 

५ अगस्ट, २०१९ मा मोदी नेतृत्वको सरकारले भारतीय संविधानको धारा ३७० मा उल्लेख गरिएका काश्मिरका विशेषाधिकार अन्त्य गर्दै काश्मिरलाई तीन अलग शासकीय क्षेत्रमा विभाजन गरेको छ । 

त्यसयता काश्मिरमा मुस्लिम समुदायले संघर्ष चर्काउने त्रासका कारण ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । पाकिस्तानले यसको विरोध गर्दै भारतको यो कदमले यो क्षेत्रलाई नै अस्थिरता र अशान्तिमा बदलिदिएको बताउँदै आएको छ ।