असीलाई घाटमा पुर्‍याएपछि कालो झन्डा एक्कासी सेतो ! नैतिकता र सिद्धान्तको नयाँ भाष्यको खोजी

फर्कलान् र ती दिनहरू

असीलाई घाटमा पुर्‍याएपछि कालो झन्डा एक्कासी सेतो ! नैतिकता र सिद्धान्तको नयाँ भाष्यको खोजी

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  जेठ २१, २०७९

म सिद्धान्तको कुरा गर्छु । के हो त सिद्धान्त भनेर मेरो मनमा आउने गर्छ । सिद्धान्त कसरी बन्छ ? सायद सिद्धान्त एउटा लक्ष्यसहितको परिणामको खोजी हो, जुन पहिले अमूर्त हुन्छ तर परिणामचाहिँ मूर्त रूपमा देखिनुपर्छ । जीवनको लक्ष्य के हो ? जीवन कुन सिद्धान्तमा आधारित भएर चल्छ ? ग्रहहरू कुन सिद्धान्तमा आधारित भएर अनुशासमा बाँधिएका छन् ?

पृथ्वीको अनुशासनमा हामी मानिसहरूले नै आफ्ना आवश्यकता पूरा गर्न बाधा दिएका रहेछौँ र त अहिले पृथ्वीको अनुशासन तोडिएको छ, जसलाई अहिलेसम्म हामीले जलवायु परिवर्तनसम्मको नाम दिएका छौँ । भयावह रूपमा पृथ्वीको अनुशासनहीनता देखिन थालेपछि झन् कसरी मानिसहरूले आफूलाई सुरक्षित राख्लान् ? चिन्ता अहिलेको हो र भोलि फेरि कस्तो अवस्था आउला भन्नेबारेमा भन्नै नसकिने एकातिर छ भन्ने अनुमान चाहिँ गर्न थालिएको छ ।

त्यसैले होला, पृथ्वीबाहेक अन्यत्र पनि बसोबास गर्न सकिन्छ कि भनेर खोजी सुरु भएकै छ ।

तर, हामीले जानेको जीवनको सिद्धान्तमा परोपकारलाई नै जीवनको लक्ष्य, प्रक्रिया र परिणामका रूपमा लिइएको रहेछ । पूर्वको सबैभन्दा गहकिला श्रुति र स्मृतिको रूपमा रहेका वेद, उपनिषद् र विभिन्न पुराणहरूसहित (अठार पुराण, अठार उपपुराण र अन्य संहिताहरूसहित) र कुरानमा समेत, त्रिपिटक, मुन्धुम, कन्फुसियस, ताओ या अरू सबैको एउटै भनाइ देखिन्छ- परोपकाराय पुण्याय पापाय परपीडनम् । 

अर्थात्, परोपकार नै पुण्य हो र अरूलाई दुःख दिनु नै पाप हो । यहाँ पुण्य र पापको सीमालाई मानवीय नैतिकतासँग जोडिएको पाइन्छ । नैतिकताका विभिन्न आयाम हुन सक्छन् तर पनि जीवनको सिद्धान्त भनेको सुखी र खुसी समय व्यतीत हो बरु कस्तो समयलाई सुखी मान्ने, कस्तो बेलालाई खुसी मान्ने भन्ने पनि विषयगत भएको छ- विभिन्न संस्कृतिका कारणले । 

पुण्यको परिभाषा या अर्थ केलाई मान्ने ? पापको कस्तो हो  उदाहरण ? केलाई पाप मान्ने ? एउटा वेदान्तिक जस्तो लाग्ने कथा छ- एउटा चोर, डाका, हत्यारा थियो । उसलाई लागेछ, मैले धेरै पाप गरेँ , म त नरक जानुपर्छ, धेरै दुःख पाउनेछु- नरकमा गरुड पुराणमा भनेझैँ ।  त्यसैले अब धर्म गुरुहरूको शरणमा जानुपर्‍यो र धर्मका काम गरेर पाप मोचन गर्नुपर्‍यो । 

आफूमा आएको अन्तरात्माको वाणी सुनेर पुण्यका कामहरू गरेर एकातिर पाप पनि पखाल्ने, अर्कोतिर स्वर्गको बाटो पनि तयार गर्ने भन्ने परेछ । त्यसपछि ऊ कुनै साधुको कुटीमा पुगेछ । साधुले महसुस त गरे, यो हत्यारामा प्रायश्चित गर्ने भावना आएको त रहेछ तर यस्ताको के विश्वास हुन्छ र ? भनेर एउटा यस्तो काम दिने विचार गरेछन् । सोचे- ऊ घुम्दाघुम्दै उतै हराउनेछ र यो झन्झटबाट म मुक्त हुनेछु । यदि मैले यसलाई यही कुटीमा अरू शिष्यहरूसँग राखेँ भने यसले अरूलाई बिगार्न सक्छ किनभने यो सप्रिएको प्रमाण त अरू केही पनि छैन, स्वयं उसको स्वघोषणा मात्र हो ।

न मैले यसभन्दा पहिले कहिल्यै चिनेको थिएँ, न त अहिले नै यसका बारेमा अरू केही थाहा छ । त्यसैले यस्तो झन्झटिलो काम दिनेछु, जसले यो मानिस न फर्केर मेरो कुटीमा आउनेछ, न त फेरि मैले उसका बारेमा केही सुन्नु वा भन्नुपर्नेछ । यति सम्झेर साधुले उसलाई बोलाएर एउटा डन्डीमा लामो र ठूलो कालो झन्डा दिएर भनेछन्, 'लौ यो लिएर जाऊ । भेटेसम्म सबै मन्दिर र तीर्थस्थलमा जाऊ । जबसम्म यो कालो झन्डा सेतो हुँदैन, त्योबेलासम्म यो झन्डा बोकेर हिँडिरहू । हिँडिरहू । जब यो झन्डा सेतो हुनेछ, त्यसपछि यो लिएर मनेर आऊ । त्यसपछि मैले सम्झनेछु, तिम्रो पाप केही हटेर धर्मको बाटोमा तिमी लाग्न थाल्यौ ।'

अनि उसले सोधेछ, 'महात्मा, कुनै मन्त्र पनि छ कि जुन मैले बाटामा हिँड्दा, बस्दा र आराम गर्न थाल्दा जपूँ ।'

साधुले भनेछन्, 'जबसम्म यो झन्डा सेतो हुँदैन, तबसम्म तिम्रो पहिलो कर्तव्य भनेको यही झन्डा लिएर धार्मिक स्थल, तीर्थस्थलमा जाने हो । र, बारम्बार यही झन्डातर्फ हेर्ने मात्र हो- कालो सेतो भयो कि भएन भनेर ।'

बडो श्रद्धाका साथ, तन्मयताका साथ विश्वास गर्दै, एक दिन यो झन्डा सेतो हुनेछ भन्ने आशा र भरोसा राख्दै त्यो स्वघोषित अपराधी कालो झन्डा लिएर सेतो बन्ने आशामा त्यो कुटीबाट हिँड्यो । करिब २ वर्षसम्म यताउता भड्किएर रह्यो, घुमिरह्यो, घुमिरह्यो तर उसको कालो झन्डा सेतो भएन । चारधाम पनि गयो । पवित्र नदीमा पनि स्नान गर्‍यो र त्यो झन्डा धोयो तर अहँ, सेतो भएको थिएन । 

'मबाट ८० जनाको हत्या भएपछि यो झन्डा सेतो भयो किनभने म साधु महात्मा हजुरको शरणमा आउनुभन्दा पहिले मैले ७० जनाको हत्या गरिसकेको थिएँ, अहिले १० जनाको हत्यो गरेँ अनि मेरो झन्डा सेतो भयो । मलाई पनि थाहा छैन, यो झन्डा कसरी सेतो भयो । हजुरले सेतो भएपछि तेरो पापमोचन भएको मानिने भएकाले सेतो भएपछि आउनू, म शिष्य बनाउँछु भनेकाले फर्केर आएको हुँ ।

एक दिन उसको बास घना जंगलमा भयो । ऊ भूतपूर्व डाका भएकाले उसलाई रूख चढ्न, रूखका हाँगा काटेर बस्ने ठाउँ बनाउन र शत्रुको टोहो लिने कुरामा पुरानो अनुभव थियो । त्यसैले जंगली जनावरसँग कसरी बच्ने भन्ने उसलाई थाहा थियो । डाकाहरूसँग त उसलाई किन पनि डर थिएन भने एक त ऊसँग केही पनि सम्पत्ति थिएन, जसलाई डाकाहरूले लुटून्, तैपनि उसलाई डर त मात्र जंगली जनावरसँग मात्र थियो ।

अनि, ऊ रूखमा चढेर बस्ने ठाउँ बनायो, आफूले ल्याएको खानेकुरा खायो, पानी पनि पियो र एउटा हाँगामा सिरानी बनाएर सुत्यो । बिहान चराको चिरबिरसँग उठ्यो र तल भुइँमा हेर्‍यो । त्यहाँ कुनै मैतालु आफूसँग केही भरिया, सहयोगीसमेत लिएर माइतबाट घर जान हिँडेकी देख्यो । यसो साउती गरेर त्यही पोसाकमा नै एक्लै शौच गर्न झाडीभित्र पसिन् । उनका महिला सहयोगी तथा भरियाहरू केही अघि गइसकेका थिए । उनी शौचमा निमग्न थिइन् ।

त्यही बेला पारेर १० जना डाकाहरू उनको गहना लुछ्न् र बलात्कार गर्ने नियतले उनलाई घेरेको कुरा त्यो झन्डा लिएर हिँडेको पूर्व हत्याराले देख्यो । उसले परिस्थितिको मूल्याङ्कन गर्‍यो र सम्झ्यो कि यी महिलाको अवस्था सुरक्षित त छैन छैन, ज्यान पनि अब रहनेछैन । भरियाहरू पनि यति पर पुगेका थिए कि रूखबाट पनि देखिँदनथ्यो । उनको चित्कार पनि अब कसैले सुन्नेछैनन् किनभने टाढा टाढा सम्मबाट कोही आउँदै या जाँदै थिएनन् ।

अनि, झन्डा बोक्ने त्यो मानिसले सबै कुरा बिर्सियो कि म कुन काममा हिँडेको हुँ । झटपट तल झरेर ती १० जना तस्कर तथा डाकुहरूसँग त्यही बोकेको डन्डाले पिट्न थाल्यो । उनीहरूले पनि आक्रमण गरे । बिचरी, ती मैतालुले कुनै कुरा बुझेकी नै थिइनन् किनभने ती सबै कुरा अचानक भएका थिए । 

धेरैबेरसम्म घम्साघम्सी चल्यो, पुरानो डाकाले नयाँ १० जना डाकालाई मारेर आफ्नो जीउ टकटक्याउँदै, आफ्ना शरीरमा भएका घाउहरू हेर्न थाल्यो । अनि, ती अकेली मैतालुलाई उनका साथीहरू भएको ठाउँमा सकुशल पुर्‍याएर त्यसरी घना जंगलमा एक्लै कोही पनि नहिँड्नू भन्ने अर्ति दिँदै बिदा गर्‍यो ।  र, आफ्नो झन्डातिर हेरेको त झन्डा त सेतो पो भएको रहेछ । 

ऊ छक्क पर्‍यो र फेरि पनि राम्रोसँग हेर्‍यो । साँच्चै नै कालो झन्डा सेतो भएको थियो । महाछक्क पर्दै ऊ फर्केर साधुको कुटीमा आयो र भन्यो, 'महात्माजी, मेरो झन्डा त कालोबाट सेतो भयो ।'

महात्माले अपत्यारिलो तरिकाले झन्डा हेरे, आफैँले बाँधेर दिएको लुगा थियो, त्यही डन्डा थियो र साँच्चै त्यही कालो झन्डा नै सेतो भएको असंभव कुरा भएको थियो ।

महात्माले सोधे, 'कहाँ पुगेपछि, कुन तीर्थमा पुगेपछि कालो झन्डा सेतो भयो त ?'

उसले भन्यो, 'महात्मा, असी घाटमा पुगेपछि कालो झन्डा सेतो भयो ।'

'कुन असीघाट ? बनारसको ? कि कहाँ थियो अर्को असी घाट ?'

 पूर्व डाकाले भन्यो, 'मबाट ८० जनाको हत्या भएपछि यो झन्डा सेतो भयो किनभने म साधु महात्मा हजुरको शरणमा आउनुभन्दा पहिले मैले ७० जनाको हत्या गरिसकेको थिएँ, अहिले १० जनाको हत्यो गरेँ अनि मेरो झन्डा सेतो भयो । मलाई पनि थाहा छैन, यो झन्डा कसरी सेतो भयो । हजुरले सेतो भएपछि तेरो पापमोचन भएको मानिने भएकाले सेतो भएपछि आउनू, म शिष्य बनाउँछु भनेकाले फर्केर आएको हुँ । अब मलाई शिष्य बनाएर हजुरको कुटीमा बास बस्न दिनुहोस् र ध्यान, जप, तपका लागि आफ्नो शिष्य बनाउनुहोस् ।'
 यो कथाले वेदान्तको एउटा पक्ष प्रकाशमा ल्याएको देखिन्छ- प्रत्येक हत्या पाप मात्र नहुने रहेछ । त्यसको प्रयोजन र परिणामले के अर्थ राख्छ, गरिएको भनेको पापले कस कसको भलो गरेको हुन्छ, त्यसको परिणाम र परिमाणको कुरा गर्ने रहेछ । परोपकार भएछ ती १० जनाको हत्याले, किन रे भने, त्यसमा उसको कुनै स्वार्थ लुकेको थिएन र ती निरीह महिलाको जीवन यदि उसले प्रयास नगरेको भए र निरपेक्ष बसेको भए मात्र पनि समाप्त हुने थियो ती १० जना डाँकाबाट ।

अनि, पो उसले भनेको रहेछ ८० घाटमा पुगेपछि उसको कालो झन्डा सेतो भयो र संभवतः पापमोचन मानिएको थियो । 

अहिले म बाँचेको यो समयमा, सिद्धान्त भनेको मरुभूमिमा आँधी तुफानपछिको बाटो भएको छ र नैतिकता सापेक्षतामा बाँचेको छ । हुनत सिद्धान्त र नैतिकता एकअर्काका परिपूरक अवस्था हुन् । समसामयिक समाजमा सिद्धान्त र नैतिकताको आवाज प्रशस्त उठेको त छ तर सिद्धान्त र नैतिकताको नै नयाँ भाष्य तयार गर्नुपरेको छ किनभने समाजको मानकता नै परिवर्तन गरिएको छ । समाजको परिभाषामा नै नयाँ भाष्य तयार भएको छ, संस्कृतिको परिभाषा नै हुँडलिएको छ ।

क्रमशः