एकीकृत समाजवादी : निर्वाचनको समीक्षा रिपोर्ट ५ दिनभित्र ल्याउने सातै प्रदेशको जिम्मा शीर्ष नेतालाई

एकीकृत समाजवादी : निर्वाचनको समीक्षा रिपोर्ट ५ दिनभित्र ल्याउने सातै प्रदेशको जिम्मा शीर्ष नेतालाई

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७९

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले  स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।

शनिबार पार्टी कार्यालय आलोक नगरमा स्थानीय तह चुनावको समीक्षाका लागि बसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय गरेको हो । 

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै ५ दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने गरी ७ वटै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताउनु भयो । 

बैठकपछि  पत्रकारहरुलाई संक्षिप्त जानकारी गराउँदै तुलाधरले  प्रदेश–१ मा जयन्ती राई,  मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।
शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्य योजनाको बारेमा छलफल भएको बताईएको छ ।
सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने तुलाधरको भनाई छ ।

नेता तुलाधरले संगठनात्मक आधार हुँदाहुँदै गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको लगायतका सवालमा सत्ता गठबन्धनमा रहेका दलमा छलफलको विषय बनाउने निर्णय पनि गरेको छ ।

आफूहरू गठबन्धनप्रति इमानदार  भए पनि अन्य दलबाट  धोखा भएको अनुभव नेताहरुबाट रिपोट भएको नेता तुलाधरले जानकारी गराउनु भयो ।

 ‘बैठकमा स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्य  योजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरू प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरूलाई पाँच दिन भित्र त्यसको गम्भीर समीक्षा हुने गरी आवश्यक सूचना सङ्कलन गर्न खटाउने निर्णय गरिएको छ ।’ तुलाधरले बताउनु भयो ।
बैठक  आज  ११ वजे पूनः बस्ने गरी स्थगन भएको छ ।