एकीकृत समाजवादीमा वाम गठबन्धनको बहस सुरु: गठबन्धनको आयुमा नै प्रश्न !

लोकसंवाद टिप्पणी

एकीकृत समाजवादीमा वाम गठबन्धनको बहस सुरु: गठबन्धनको आयुमा नै प्रश्न !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम हात पार्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) समीक्षामा जुटेको छ । स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले २० वटा पालिकामा प्रमुख/अध्यक्ष र २४ उपप्रमुख/उपाध्यक्षमा जित हात पार्न सफल भएको थियो । 

कतिपय स्थानीय तहमा राम्रो जनाधार देखिए पनि नेकपा एस प्राविधिक रुपमा पराजित भएको छ भने पाँच दलीय गठबन्धनमा रहेर पनि कतिपय स्थानीय तहमा नेकपा एसका उम्मेदवार पराजित भएका छन् । यसलाई सो पार्टीले गठबन्धनको अन्तर्घातका कारण निर्वाचनको परिणाम गुमाउनु परेको उल्लेख गरेको छ ।

गठबन्धनकै कारण पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकामा जित हात पारेको नेकपा एसले देशभर भने राम्रो नतिजा ल्याउन भने  सकेन । निर्वाचनको नतिजा राम्रो नआएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले यसअघि नै सत्ता गठबन्धनबाट धोका भएको भन्दै आक्रोश व्यक्त गरिसकेका छन् । खनाल व्यक्तिगत रुपमा पनि वाम गठबन्धनको पक्षमा वकालत गर्न थालेका छन् । तर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अझै पनि संघीय र प्रदेश निर्वाचनमा सत्तारुढ गठबन्धन एकजुट भएर चुनाव लड्नु पर्ने अडानमा रहेका छन् । 

सम्मानित नेता खनाल वाम गठबन्धनको पक्षमा 

नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्तारुढ गठबन्धनले चुनावमा गम्भीर धोका दिएकोमा आफूहरुको गम्भीर आपत्ती रहेको भन्दै मुलुकको अहिलेको आवश्यकता वाम गठबन्धन नै भएको बताएका छन् ।

वाम गठबन्धन कुन कुन पार्टी मिलेर बनाउने भन्ने बारेमा नखुलाएका खनालले वामपन्थी गठबन्धन मुलुकको आवश्यकता भए पनि तत्काल वाम गठबन्धनको सम्भावना भने कम रहेको उल्लेख गरेका छन् ।

गत वर्षमात्रै नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएको तथा एमाले विभाजित भएर नेकपा एस बनेका कारण तत्कालै यी पार्टीहरूबीच चुनावी तालमेल वा वाम गठबन्धन भइहाल्ने सम्भावना कम छ ।

किनकि यी पार्टीहरूबीच अझै पनि तत्कालीन राजनीतिक भन्दा पनि व्यक्तिगत तहसम्म झरेर टिका टिप्पणी भएका कारण मन मिलिहाल्ने सम्भावना न्यून छ । एमाले र एसमात्र मिलेर पनि अहिलेको भन्दा केही बलियो परिणाम ल्याउन सके पनि कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन देशव्यापी रुपमा भएको अवस्थामा एमालेलाई आगामी चुनाव जित्न सहज छैन । त्यसैले माओवादी सहितको वाम गठबन्धनमा जोडबल सुरु भइरहेको छ ।

पोखरा र हेटौडामा नेकपा एसलाई गठबन्धनले सहजै पत्याएनन् । त्यसैले नेकपा एस ठूला महानगर र उपमहानगरमा एमालेभन्दा प्रभावशाली उपस्थिति देखाउन क्रियाशील भयो । तर यही बेला पार्टीका मुख्य नेताहरु बाहेक अन्य नेताहरु प्रदेश, जिल्ला र पालिकामा खटिनुपर्नेमा त्यो परिचालन हुन नसकेको बिषयले बैठकमा स्थान पाएको बताइएको छ । 

तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा एस र माओवादी दुवै विश्वस्त छैनन् । त्यसकारण पनि तत्काल वाम गठबन्धनको सम्भावना देखिदैन । यद्यपि कांग्रेस भित्रको आन्तरिक समस्या र गठबन्धनमा साझेदार दलहरूमाथि निर्वाचनमा भएको अन्तर्घात र धोकाले सत्ता गठबन्धनको आयुमा नै प्रश्न चिन्ह भने खडा गरिदिएको छ ।

धोकाको तथ्यांक संकलन गर्दै एस 

स्थानीय तहको निर्वाचनको समीक्षाका लागि नेकपा एसले सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकले स्थानीय तह निर्वाचनको गम्भीर ढंगले समीक्षा गर्न सही सूचना आवश्यकता रहेको निष्कर्ष निकाल्दै सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो ।

पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई,   मधेस प्रदेशमा रामचन्द्र झा,  बाग्मती प्रदेशमा गंगालाल तुलाधर,  गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई सूचना संकलनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ । 

शनिबारको बैठकमा गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा नेकपा एस र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढंगले छलफल गरेको छ । बैठकपछि नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले भने, ‘बैठकमा स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धनभित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरुको भूमिका र आगामी दिनमा कस्तो कार्य योजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ ।

तर सबै सूचनाहरु प्राप्त नभएकाले सात वटै प्रदेशमा सचिवालयका सदस्यहरुलाई पाँच दिनभित्र त्यसको गम्भीर समीक्षा हुने गरी आवश्यक सूचना संकलन गर्न खटाउने निर्णय गरिएको छ ।’

नेकपा एस स्थानीय तहमा ६ महानगर र ११ उपमहानगरको भागबण्डा र त्यसमा आफ्ना उम्मेदवार जिताउन बढी केन्द्रित भयो । एमालेबाट विभाजित भएको धेरै समय नभएका कारण गठबन्धनभित्रै पनि चुनावअघि गठबन्धनमा भाग पाउन पनि आफ्नो मत देखाउनुपर्ने बाध्यता नेकपा एसलाई आइलाग्यो ।

पोखरा र हेटौडामा नेकपा एसलाई गठबन्धनले सहजै पत्याएनन् । त्यसैले नेकपा एस ठूला महानगर र उपमहानगरमा एमालेभन्दा प्रभावशाली उपस्थिति देखाउन क्रियाशील भयो । तर यही बेला पार्टीका मुख्य नेताहरु बाहेक अन्य नेताहरु प्रदेश, जिल्ला र पालिकामा खटिनुपर्नेमा त्यो परिचालन हुन नसकेको बिषयले बैठकमा स्थान पाएको बताइएको छ । 

एकातिर नेकपा एसको सबैतिर ध्यान नपुगेको अवस्था र अर्कोतिर भागबण्डा पाएका स्थानमा जित्नुपर्ने चुनौतीको सामना गर्नुपरेका बेला गठबन्धनमा रहेका अन्य दल (कांग्रेस र माओवादी) ले सुदूर पश्चिमसहित देशभरका धेरैजसो स्थानीय तहमा भागबण्डा गरे । जसका कारण नेकपा एसले कतिपय स्थानमा उम्मेदवार नै उठाउनै पाएन । त्यसैले स्थानीय तहको निर्वाचन परिणाममा पनि पार्टी पछि परेको निश्कर्ष निकालेको छ । अबको संघीय र प्रदेश सभाको निर्वाचनमा पनि प्रभावशाली परिणामका लागि गठबन्धनको विकल्प छैन । तर कसरी त्यसलाई प्रभावकारी बनाउने वा नयाँ गठबन्धन बनाएर अघि बढ्ने भन्ने विषयमा पनि नेकपा एसले अब लिने निर्णय चाल्ने कदममा भर पर्ने निश्चित छ ।