नेपालको विद्युत् भारतमा निर्यात, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

नेपालको विद्युत् भारतमा निर्यात, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २२, २०७९

नेपाल विद्युत्‌ प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युत्‌गृहबाट उत्पादित विद्युत्‌ भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत्‌ प्राधिकरणले कालीगण्डकी विद्युत्‌गृहबाट उत्पादित विद्युत्‌ शनिबार मध्यराति १२ बजेदेखि निर्यात सुरु गरेको हो । 

प्राधिकरणले विद्युत्‌ भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्‌गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत्‌ निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलब ७ मेगावाट विद्युत्‌ भारत निर्यात गर्न थालेको हो ।

कालीगण्डकी 'ए'को १४० मेगावाट, त्रिशूलीको २३ दशमलब २ मेगावाट र देवीघाटको १४ दशमलब ५ मेगावाट विद्युत्‌ भारत निर्यात हुनेछ । वर्षात्‌सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्‌गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत निर्यात भएको विद्युत्‌को औसत बिक्री मूल्य प्रतियुनिट ११ दशमलब २ रुपैयाँ (भारु ७ रुपियाँ) रहेको बताए । 

‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (भारु १२), न्यूनतम २ दशमलब ३८ रुपैयाँ (भारु १ दशमलब ४९) र औसत दर ११ दशमलब २ रुपैयाँ (भारु ७) छ’, घिसिङले भने । 

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटका ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्‌को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । 

प्राधिकरणका अनुसार निर्यात गरिएको विद्युत्‌को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (नेरु १९ दशमलब २) र २ दशमलब ४९ (नेरु ३ दशमलब ९८) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६ दशमलब ७२ (नेरु १० दशमलब ७६) छ । 

यसैगरी शनिबार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९ दशमलब २ रुपैयाँ (भारु १२) र न्यूनतम ४ दशमलब ०८ रुपैयाँ (२ दशमलब ५५ भारु)मा विद्युत्‌ बिक्री गरेको छ । औसतम मूल्य ११ दशमलब ४८ रुपैयाँ (भारु ७ दशमलब १८) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत्‌ बिक्री गर्न अनुमति पाएको छ ।