एकीकृत समाजवादीले पुराना मन्त्री फिर्ता:  बुझायो नयाँ मन्त्रीको नाम

एकीकृत समाजवादीले पुराना मन्त्री फिर्ता:  बुझायो नयाँ मन्त्रीको नाम

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७९

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । एकीकृत समाजवादीले आइतबार साँझ नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

पार्टीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनु भएको हो ।

सिफारिस भएका मन्त्रीहरुमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वास्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उहाँको ठाउँमा केसीलाई ल्याइएको हो।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो। पार्टीको पहिलेको सहमति बमोजिम नै ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले उहाँहरूलाई फिर्ता बोलाएको पार्टीका उपमहासचिव विजय पौडेलले बताउनु भयो । मन्त्रीहरुको नियुक्ति र शपथ आजै हुने बताइएको छ।