जीवनकुमार श्रेष्ठलाई ठक्कर दिने मोटरसाइकल धनी सविन राई र चालक अभिशेष राई विरुद्ध जाहेरी

जीवनकुमार श्रेष्ठलाई ठक्कर दिने मोटरसाइकल धनी सविन राई र चालक अभिशेष राई विरुद्ध जाहेरी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७९

खोटाङ । माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाे मृत्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्ध सवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएका श्रेष्ठको आइतबार निधन भएकाे हाे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १७ वर्षीय अभिशेष राईले चलाएकाे माेटरसाइकलले उनलाई ठक्कर दिएकाे थियाे । माेटरसाइकलका धनी

भने उदयपुरको त्रियुगा नगरपालिका–१ का सविन राई हुन् । उनीहरू दुवैविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सवारी कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता भएको हो ।

आफन्तसहित जिल्ला प्रहरी कार्यालय पुगेका मृतक श्रेष्ठका अन्तरे भाई रुद्रकुमार श्रेष्ठले सोमबार जाहेरी दिएका हुन् । उनीहरूले घटनाकाे सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीकाे माग गरेका छन् । 

२० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको माेटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि श्रेष्ठलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनकाे न्युरो अस्पतालमा उपचारका क्रममा २२ जेठमा निधन भएको थियो । तीव्र गतिमा रहेकाे मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि श्रेष्ठकाे टाउको र छातीमा गहिरो चोट लागेकाे थियाे । 

श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिकाविरुद्ध निडरताका साथ खुलेर बोल्ने र विरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।