अस्पतालले अमानवीय व्यवहार प्रति मणिपाल कर्मचारी आन्दोलनमा

अस्पतालले अमानवीय व्यवहार प्रति मणिपाल कर्मचारी आन्दोलनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २४, २०७९

कास्की । पोखराको मणिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् ।

यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मणिपाल मा आन्दोलन हुन्छ । सच्चिन सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी सुत्केरी र किरिया बिदा माग्दै धर्नामा छन् । कर्मचारी र चिकित्सकहरूको साझा संगठनहरू सम्झौताअनुसारको सुविधा माग गर्दै आन्दोलन थालेका हुन् ।

किरिया र सुत्केरी बिदा दिनुपर्ने, यसअघिको सम्झौता र श्रम ऐनअनुसार उपदान र सुविधा दिनु पर्ने लगायत उनीहरूको माग छ । ‘अस्पतालले सुत्केरी र किरिया बिदा समेत नदिनु भनेको महापाप नै हो । ६-७ वर्षदेखि कर्मचारीलाई करारमा राखेर बिदा घटाउने, तलब स्केल घटाइएको छ । यो सरासर ठगी हो,’ कर्मचारी अमृत पौडेलले भने, ‘एक वर्षअगाडि श्रम कार्यालयको रोहवरमा अस्पताल प्रशासनसँग सम्झौता भएको छ । तर त्यसलाई कार्यान्वयन गरेको छैन । मागहरू सामान्य छ तर मानवअधिकारसँग जोडिएको छ । अति नै गरेको भएर हामी धर्नामा उत्रिनु परेको हो ।’

समस्या समाधान गरिदिन जिल्ला प्रशासन र श्रम कार्यालयसँग पनि कर्मचारीहरूले आग्रह गरेका छन् । श्रम कार्यालय र प्रशासनले दिएको निर्देशनसमेत नमानेको स्वतन्त्र कर्मचारी संघका अध्यक्ष नवराज भण्डारीले बताए । पुराना कर्मचारीलाई पाखा लगाएर नयाँ कर्मचारी करारमा नियुक्त गर्ने परम्परा बढेको उनले बताए । ‘भइरहेका कर्मचारीलाई निरुत्साहित गर्न करारका फ्रेस कर्मचारी राखिएको छ । यसबाटै नियत प्रष्ट हुन्छ नि,’ उनले भने, ‘रस छउन्जेल चुस्ने र पछि फ्याँकिदिने काम भएको छ । यसको अब नियमित प्रतिरोध गर्छौं ।’ मणिपालका करिब साढे चार सय कर्मचारी दैनिक धर्नामा छन् ।