नेपाल र जोर्डन भिड्दै

नेपाल र जोर्डन भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २५, २०७९

जोर्डनविरुद्धको खेलसँगै नेपालले आजदेखि कुवेतमा हुने एएफसी एसियन कप छनोट, २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । 

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ जना खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा  छ । हालसम्म नेपाल र जोर्डनबीच ४ पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएका छन् । 

पछिल्लो समय प्रशिक्षक-खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ जना खेलाडी रहेका छैनन् । कप्तान किरणकुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ती मगरलगायत खेलाडी टिमबाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताइरीले बताएका छन् । 

‘हामीलाई घेरै दबाब छैन किनभने हाम्रो समूहमा हामी पोर्ट ४ का राष्ट्र हौँ । यसै कारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रूपमा हामी केही गर्न चाहन्छौँ । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्त्वपूर्ण छ । आज खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ । हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौँ । यसै कारण उनीहरू कस्तो खेल्छन् र के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौँ', अल्मुताइरीले भने । 

उनले अगाडि थपे,  'हामीले जोर्डनलाई रोक्न सक्यौँ भने  कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौँ । हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौँ । हामीसँग ११ जना नयाँ खेलाडी छन् र उनीहरूको औसत उमेर २१ वर्ष छ । समूहमा जोर्डन निर्णायक टोली हो । हामी उनीहरूसँग राम्रो नतिजाका लागि प्रतिस्पर्धा गर्नेछौँ । हामी पनि छनोटमा कठिन टिम बन्न चाहन्छौँ । जोर्डनको प्रतियोगितामा छनोट हुने धेरै सम्भावना छ । दोस्रो स्थानमा कुवेत र इन्डोनेसियाको सम्भावना छ ।’

जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।