किन फर्काइयो राहदानी विधेयक ?

किन फर्काइयो राहदानी विधेयक ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो एक वर्षमा संसद्ले पारित गरेका ३६ वटा विधेयक सहजै प्रमाणीकरण गरिन् । उनले प्रमाणीकरण नगरी फिर्ता पठाएको पहिलो विधेयक बन्न पुगेको छ– राहदानी विधेयक । संसद्ले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले फिर्ता गरेको गणतान्त्रिक शासन व्यवस्थाकै पहिलो हो । 

संघीय संसद्का दुई सभामध्ये राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो । प्रतिनिधिसभाको व्यवहारबाट राष्ट्रिय सभाका सांसद असन्तुष्ट थिए । राष्ट्रिय सभाको अपहेलना/अपमान भएको उनीहरूको गुनासो थियो ।

राष्ट्रिय सभाको विधायन समितिले उक्त विधेयकमा प्रशस्तै छलफल चलाएर केही महत्त्वपूर्ण संशोधन गरेको थियो । जुन प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको विधेयकमा समेटिएन । राष्ट्रपति कार्यालय स्रोत भन्छ, ‘राष्ट्रिय सभाबाट विधेयक पारित नभईकनै प्रमाणीकरणका लागि आएकामा राष्ट्रपतिको पनि चित्त बुझेन ।’ अर्कोतिर राष्ट्रिय सभाले विधेयकमा गरेको संशोधन राष्ट्रपतिलाई पनि ठीक लाग्यो । उनले आफूलाई प्राप्त विधेयक फिर्ता पठाउन सकिने संवैधानिक अधिकार प्रयोग गरिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।