पर्वतीय खेलकुदको गण्डकी भेला: नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्र बनाउने प्रतिबद्धता

पर्वतीय खेलकुदको गण्डकी भेला: नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्र बनाउने प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २६, २०७९

कास्की ।  पर्वतीय खेलकुद महासंघको पोखरामा गण्डकी स्तरीय भेला नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको एसियाली केन्द्र बनाउने प्रतिबद्धता सहित हालै  सम्पन्न भएकाे  महासंघले जनाएको छ  ।

महासंघको गण्डकी खेलकुद परिषद्सँग परम्परागत, साहसिक र पर्यटकिय खेलकुदका लागि आवश्यक नीतिगत, कार्य क्रमिक र व्यवस्थापकीय सहयोगका लागि उक्त भेलाको आयोजना गरिएकाे हो । विगत एक दशक देखि नेचर, एडभेन्चर र कल्चर प्रमुख उद्धेश्यका साथ स्थापित महासंघले दिगो खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धनका लागि क्रियाशिल रहेको छ ।

नेपालका दर्जनौ राष्ट्रिय संघहरूको साझा संस्थाका रुपमा  महासंघ रहँदै आएको छ ।  नेपालमा साहसिक खेलकुद मार्फत पर्यटन प्रबर्द्धन गदै राष्ट्रिय पहिचान र गौरवको लागि खेलकुदका बिभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । 

गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पर्वतिय खेलकुद महासंघका केन्द्रिय अध्यक्ष गोविन्द भट्टराईले समेत आफ्ना भनाई राख्दै गण्डकी प्रदेशलाई सहासिक खेलकुदको लागि प्रमुख गन्तव्य रहेकोले नितिगत रुपमानै अघि बढाउन प्रदेश सरकारको ध्यान त्यसतर्फ जानुपर्ने आवश्यक्ता रहेको बताए ।

भेलामा महासंघ र सदस्य संघको प्रदेश समिती निर्माण, संघ र महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया, प्रतिनिधित्व, सहासिक खेलकुदको विकासका लागि प्रदेश खेलकुदको अध्ययन प्रतिवेदन संगै प्रदेशमा कृयाशिल संघ र इभेन्टहरुको अवस्थाका बारेमा समेत विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, गल्फ कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, रक क्लाइम्विङकी लक्की क्षेत्री, मोटर स्पोर्टसका शिव श्रेष्ठले आ–आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए । त्यसै गरी महानजङ्ग पाण्डे, रमेश कार्की, जगन विक, अग्रज फोटो पत्रकार सुनिल उलकले समेत आफ्ना सुझाव प्रस्तुत गर्दै परम्परागत खेलकुद र पर्वतीय खेलकुदलाई अझै व्यवस्थित बनाउन जोड दिएका थिए ।

अध्यक्ष गोविन्द भट्टराई र गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ सहितको टिमले कास्की , पर्वत , वाग्लुङ , म्याग्दी , मुस्ताङ र स्याङजा जिल्लाका पर्यटकीय र शाहसिक खेलको सम्भाब्यता अध्ययन गरि फर्केको सन्दर्भमा समेत छलफल भएको महासंघले जनाकारी दिएको छ । 

महासंघको गण्डकी प्रदेश कमिटि प्रदेश सभा सदस्य इन्द्रधरा विस्टको संयोजकत्वमा १५ सदस्यीय रहँदै आएको  छ ।. जसमा भू बहादुर गुरुङ ( गल्फ) र गोपी भट्टराई (विच गेम ) तथा वसन्त दुवाडी (प्याुराग्लाइडीङ्ग)  सह संयोजक रहेका छन् भने मोटर स्पोर्ट्स, साइक्लिङ्ग , आर्चेरी , एथलेटिक्स , रोविंग , इक्विस्टरीयन, रयाफ्टिङ्ग , स्पोर्ट्स क्लाइम्बिङ्ग , स्केटिङ्ग, क्यायोनिङ्ग, अल्पाइन स्पोर्ट्स , टग अफ वार , योग स्पोर्ट्स, ठेलोे, ट्रयथलन ,वुमन स्पोर्ट्स एण्ड एडभेन्चर्स लगायतका खेलहरुका प्रतिनिधि सदस्यमा रहेका छन् ।

भेलाले  महासंघको साधारण सभाको लागि प्रतिनिधि प्रदेश खेलकुद परीषदको सिफारिस सहित प्रतिनिधि पठाउने र सम्वधित संघको प्रदेश समिति यथासक्य छिटो वनाउने प्रस्ताव समेत अनुमोदन गरेको छ ।कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यद्वय बसन्त दवाडी र खगेन्द्र क्षेत्रीको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध परम्परागत साहसिक तथा पर्यटकिय क्षेत्रसँग सम्बन्धित नेपालको भुगोल र वातावरण मैत्री बिभिन्न खेलहरूलाई एकत्रित गरी आगामी केहि बर्ष भित्र नेपाललाई साहसिक तथा पर्यटकिय खेलकुदलाई एसियाली केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ यस पर्वतीय खेलकुद महासंघ नेपाल सक्रिय रहँदै आएको पनि बताइएकाे छ ।