'लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ'

'लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७९

प्रतिनिधिसभामा नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकाटका जनतामाथि अन्याय भएको जनाए । 

‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेँसीको बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ’, संसदमा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’ 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिह्नमा चुनाव लडेका थिए । साह काठमाडौं महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् । 

‘फोहोर व्यस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवकोटमा जुन बेथिति भएको छ, त्यसको व्यस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पूरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्', सांसद खतिवडाले भने ।