जग्गाधनी र किसानबीच द्वन्द्व बढाउन चलखेल

जग्गाधनी र किसानबीच द्वन्द्व बढाउन चलखेल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

राजापुर । अन्न भण्डारको रूपमा परिचित राजापुरको भवराटप्पुका किसान र जग्गाधनी एकै थलोमा बसेर बुधबार एउटा निष्कर्षमा पुगे। जग्गाधनीले उत्पादित अन्नको तिक्कुर बटैया (चार भागको तीन भाग) नदिए खेती नगर्ने किसानले घोषणा गरे भने जग्गाधनीले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्। राजापुर, हनुमानगढी मन्दिरपरिसरमा भएको भेलामा दुवै पक्षका सय÷सय जनाको उपस्थिति थियो।

किसानको तिक्कुर बटैयाको अन्यायपूर्ण माग भएको जानकारी गराउँदै राजापुरका उपप्रमुख मनकला चौधरीलाई जग्गाधनीले ज्ञापनपत्र बुझाएका छन्। जग्गाधनीले बटैयामा खेती लगाए खेती गर्ने किसानलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने किसानको निष्कर्ष छ। यस्तै, कुनै पनि जग्गाधनीले तिक्कुर दिए जग्गाधनीलाई नै ५० हजार रुपैयाँ जरिवाना गर्नसक्ने निर्णयमा उल्लेख छ। परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा जबर्जस्ती लाद्न खोज्ने समूह यतिखेर राजापुर क्षेत्रमा सक्रिय रहेको पाइएको छ। जग्गाधनी र किसानलाई तर्साउन विभिन्न किसिमका प्रचार र पम्प्लेट बाँड्ने र टाँस्ने गरिएको छ। यस्ता गतिविधिले जग्गाधनी र किसान दुवैमा त्रास उत्पन्न भएको छ। जग्गाधनीसँग असन्तुष्ट किसान तिक्कुर बटैया खेती लगाउने मुद्दालाई अघि बढाइरहेका छन्। जसले गर्दा जग्गाधनी र किसान दुवै मर्कामा परेको स्थानीय बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।