पृथ्वी राजमार्गको पहिरो हटाई २ तर्फी सवारी संचालन हुन समय लाग्ने

पृथ्वी राजमार्गको पहिरो हटाई २ तर्फी सवारी संचालन हुन समय लाग्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७९

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले गए रातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग २ तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् । 

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका- ५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहे तापनि समस्या आएको छ’, प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई २ तर्फी सवारी संचालन हुन अझै समय लाग्छ ।’ 

सडक खुलाउन २ वटा जेसीबी प्रयोग भइरहेका उनले जनाए ।  

पहिरो झरी राति सवा ११ बजेदेखि २ तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । 

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासका क्षेत्रमै रोकिएका छन् ।