चिनियाँ भाषाका २ पुस्तक: ‘सट्टेबाज फ्याउरी’ र ‘टाटे माउ स्याल’ को नेपाली संस्करण बजारमा

चिनियाँ भाषाका २ पुस्तक: ‘सट्टेबाज  फ्याउरी’ र ‘टाटे माउ स्याल’ को नेपाली संस्करण बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २७, २०७९

काठमाडौँ, २६ जेठ । प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन् । 

मकालु प्रकाशन गृहका  प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद ढकालका अनुसार  फरन  ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘दि ट्रेडर फक्स’ को नेपाली अनुवाद  ‘सट्टेबाज  फ्याउरी’ र ‘स्कारफेस दि मदर ज्याकल’ को नेपाली अनुवाद ‘टाटे माउ स्याल’ प्रकाशन गरी बजारमा ल्याएको हो ।  

‘दि ट्रेडर फक्स’ शीर्षकको कथा सङ्ग्रहलाई रवीन्द्र तिमसेनाले र ‘स्कारफेस दि मदर ज्याकल’ शीर्षकको पुस्तकलाई डा. विमल सुवेदीले अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरेका हुन् । ‘स्कारफेस दि मदर ज्याकल’ १३ औँ चाइना बुक अवार्ड जित्न सफल कृति हो ।

यी दुवै पुस्तकमा मान्छे तथा जङ्गली र घरपालुवा जनावरहरूलाई पात्रका रूपमा प्रस्तुत गरिएको छ । जनावरको बानीबेहोरा र भावनात्मक बुद्धिमत्ताबारे पर्याप्त जानकारी दिनुका साथै तिनलाई मानिसको बानीबेहोरासँग तुलना गर्दै नैतिक र पर्यावरणीय सवाललाई उठान गरेकाले यी कृतिहरू पठनीय भएको मकालु प्रकाशन गृहका सञ्चालक वासुदेव ढकालले जानकारी दिए । अङ्ग्रेजी भाषाका उपयोगी कृतिहरूलाई नेपाली पाठकमाझ सहज तुल्याउने उद्देश्यअनुरूप पछिल्लो समय अनुवाद र प्रकाशनका कार्यलाई प्राथमिकता दिएको उनको भनाइ छ । 

चीनको साङ्घाई निवासी लेखक सिछी बालसाहित्य र जनावरसम्बन्धी कथा तथा उपन्यास लेखनका चिनियाँ सम्राट् मानिन्छन् । उत्कृष्ट बालसाहित्यका लागि चिनियाँ लेखक सङ्घले प्रदान गर्ने राष्ट्रिय पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुका साथै उनले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनले चाइना बुक अवार्ड पनि थुप्रै पटक जितेका छन् । उनका अन्य प्रमुख कृतिहरूमा ‘दि ग्लोरियस ड्रिम अफ दि मदर वल्फ’, ‘दि सेभेन्थ हन्टिङ डग’ लगायत छन् ।