माओवादीमा पदाधिकारी चयन पेचिलो बन्दै: महासचिवको दाबेदारहरू पछि नहट्दा बैठक नै अनिश्चित

माओवादीमा पदाधिकारी चयन पेचिलो बन्दै: महासचिवको दाबेदारहरू पछि नहट्दा बैठक नै अनिश्चित

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७९

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन गत पुसमा सम्पन्न भएको पाँच महिना बितिसकेको छ । पार्टीको महाधिवेशन सम्पन्न भएको पाँच महिना भइसक्दा पनि पदाधिकारी, स्थायी कमिटि, पोलिटब्युरो, बाँकी केन्द्रीय सदस्य चयन गर्न सकिरहेको छैन ।

महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरे पनि बाँकी जिम्मेवारी बाँडफाँड गर्न सकेको छैन ।  सुरुमा पार्टीका प्रभावशाली नेता वर्षमान पुन चीनमा उपचारका क्रममा रहेकाले उनी आएपछि अन्य जिम्मेवारी टुंगो लगाउने भनिए पनि उनी आएपछि पनि संगठनात्मक संरचनाले पूर्णता पाउने कुरामा झनै अन्योलता बढ्दै गएको छ । 

 पुन आफैं पनि महासचिवको दाबेदार हुन् । उनीसँगै अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा पनि महासचिवका दाबेदार छन् । पुन र शर्मामध्ये एक जना महासचिव बन्ने र एक जनालाई उपाध्यक्ष बनाउने तयारी भए पनि दुवै जनाले दाबी नछाडेका कारण २०७९ जेठ २० गतेको बैठक बस्नै सकेन । पार्टीभित्र पदीय भागबण्डा नमिल्दा संगठनात्मक संरचनालाई पूर्णता दिन समेत पूर्णतया असफल हुँदै  गएको हो । 

महाधिवेशनको करिब पाँच महिना पछि सांगठनिक संरचनालाई पूर्णता दिन माओवादीले गृहकार्य सुरु गरेको बताउँदै आएको  छ । आगामी १५ असारमा बोलाइएको केन्द्रीय कमिटी बैठकले पार्टीका सम्पूर्ण कमिटी र जनवर्गीय संगठनको समेत टुंगो लगाउने तयारी सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बसेर टुंगो लगाउने यसअघि नै निर्णय भएको थियो । स्थानीय चुनाव सम्पन्न भएको डेड महिनापछि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बिचमा चुनावी परिणाम र स्थानीय तहका प्रमुख/उपप्रमुखलाई स्थानीय सरकार सञ्चालनबारे प्रशिक्षण आयोजना गरेको थियो । 

अध्यक्ष प्रचण्ड समेत महासचिवमा आन्तरिक चुनाव गर्ने तयारीमा छन् । पार्टीमा महासचिवका लागि देव गुरुङ र पम्फा भुसालको पनि दाबेदारी रहँदै आएको  छ । तर यी दुवै नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने तयारी अध्यक्ष प्रचण्डको रहेको छ । 

‘आगामी असार १५ देखि बस्ने बैठकबाटै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गृहकार्य सुरु भएको छ,’ माओवादी निकट स्रोतले भन्यो, ‘त्यसका लागि पार्टी अध्यक्ष प्रचण्डसहित अन्य नेताहरु छलफलमा जुटिसकेका छन् ।’

यसअघि स्थानीय तह चुनावको मुखमा जिम्मेवारी बाँडफाँडको निर्णय गर्दा पार्टीमा असन्तुष्टि बढ्ने र त्यसले चुनावलाई प्रभावित पार्ने देखेपछि सो प्रक्रिया चुनावपछि सारिएको थियो । अब संघीय र प्रदेशसभाको चुनावअघि नै जिम्मेवारी टुंगो लगाइनेछ । 

माओवादीमा ९ देखि १५ जनासम्मको पदाधिकारी टिम बनाउने तयारी छ । पार्टी अध्यक्ष प्रचण्डपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने पक्कापक्की छ । त्यसपछिको उपाध्यक्षमा कृष्णबहादुर महरालाई राख्ने तयारी भइरहेको छ ।

सबैभन्दा पेचिलो विवाद भने महासचिवमा रहेको  छ । महासचिवका लागि दुई प्रभावशाली नेताहरु वर्षमान पुन र जनार्दन शर्माको बलियो दाबे दारी कायम छ । यी दुवै नेताका केन्द्रदेखि तल्ला कमिटीसम्म गुट छन् । पार्टी र जनवर्गीय संगठनको नेतृत्व चयनमा समेत दुई नेता निकटका प्रतिस्पर्धीहरु रहने गरेका छ। त्यसकारण यी दुवै नेतालाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्डलाई पनि चुनौतीका रुपमा रहँदै आएको छ ।

दुई नेतालाई मिलेर आउन भनिए पनि अहिलेसम्म दुई जना मिल्ने सम्भावना कम देखिएको छ । यदि दुई जनाबीच सहमति नभएमा मतदान गरेर भए पनि महासचिवको टुंगो लगाउने तयारी गरिएको छ । त्यसो भएमा जित्नेले महासचिव बन्ने र हार्नेले स्वीकार गर्ने अवस्था सिर्जनाका लागि दबाद दिइरहेका छन् । 

अध्यक्ष प्रचण्ड समेत महासचिवमा आन्तरिक चुनाव गर्ने तयारीमा छन् । पार्टीमा महासचिवका लागि देव गुरुङ र पम्फा भुसालको पनि दाबेदारी रहँदै आएको  छ । तर यी दुवै नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने तयारी अध्यक्ष प्रचण्डको रहेको छ । 

एमसीसी पनि छलफलमा

माओवादी केन्द्रमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेको विषयमा तीव्र विवाद छ । अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमति जनाएपछि सो विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी निकट समूह असन्तुष्ट छ ।

यसअघि पनि एमसीसीको विषयलाई लिएर छलफल गर्न खोजिए पनि पार्टी नै विभाजित हुने खतरा उत्पन्न भएपछि त्यसलाई मत्थर पार्न चुनावपछि छलफल गर्ने भन्दै पछि सारिएको थियो । अबको केन्द्रीय कमिटी बैठकमा एमसीसी बारे समेत छलफलको तयारी छ ।

त्यसैले यो बैठकमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ निकट समूहबीच चर्को बहसको सम्भावना छ । नेता श्रेष्ठले एमसीसी पारित गरेलगत्तै सामाजिक सञ्जालबाटै चर्को असन्तुष्टि पोखेका थिए । त्यस विषयमा प्रचण्डसँग भएको छलफल समेत सकारात्मक बनेको थिएन । त्यसकारण अब एमसीसीका विषयमा हुने छलफललाई पनि महत्वका साथ हेरिएको छ । 

स्थानीय चुनावको समीक्षा

माओवादीले आगामी केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा समेत गर्नेछ । अब २०७४ को स्थानीय चुनाव र हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामबारे तुलनात्मक समीक्षा हुनेछ । २०७४ को स्थानीय चुनावमा भन्दा बढी स्थानमा माओवादीले यसपटक प्रमुख/उपप्रमुख जितेको छ । जसमध्ये धेरै स्थानमा उसले गठबन्धनको बलमा जित हात पारेको छ ।

एक्लै चुनावमा गएको अवस्थामा माओवादीको परिणाम निकै कमजोर हुन्थ्यो भन्ने परिणामबाट देखिएको छ । अर्कोतिर पार्टीबाट रामबहादुर थापासहितका नेताहरु बाहिरिँदा परेको असरबारे समेत समीक्षा हुनेछ । थापाको गृहजिल्ला चितवनमा यसअघि जितको स्थानीय तह माओवादीले गुमाएको छ भने अर्घाखाँचीमा टोपबहादुर रायमाझी एमालेमा गएको प्रभाव देखिएको छ ।

यस्तै मधेश प्रदेशमा पनि यसपटक माओवादीको कमजोर परिणाम आएको छ । एकातिर पार्टीमा रहेको आन्तरिक विवाद र अर्कोतिर प्रभु साहको बहिर्गमन ले मधेसमा माओवादी कमजोर देखिएको छ । त्यसैले पनि माओवादीले अबको केन्द्रीय कमिटी बैठकबाट वस्तुनिष्ठ समीक्षा गरी क्षति भएका स्थानमा पुनः शक्ति हासिल गर्ने रणनीति तय गर्ने तयारी गरेको माओवादी निकट स्रोत बताउँछ ।

यस्तै पार्टी या गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध खडा भएका नेताहरुलाई समेत कारबाहीको गृहकार्य सुरु भएको छ । मधेशमा माओवादी केन्द्र पाँचौ दल बनेपछि यसको गम्भीर समीक्षा गर्दै दोषी नेतामाथि कारबाही गर्ने निचोडमा अध्यक्ष प्रचण्ड पुगेका छन् ।