बाढी पहिरोको वितण्डा: तीन सडक खण्ड अवरुद्ध

बाढी पहिरोको वितण्डा: तीन सडक खण्ड अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७९

काठमाडौँ । पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । 

तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । 

सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । 

डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका–३ कुर कुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । 

मध्य रातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनहुँले जनाएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक इन्द्रावती नदीले आज बिहान सवा ५ बजे बगाएको छ । 

सडक बगाउँदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।