प्रहरी महानिरीक्षक सिंहद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

प्रहरी महानिरीक्षक सिंहद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगंजको शुक्रबार निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतीक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेसन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन गरेका थिए । 

निरीक्षणपश्चात् अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पादन गर्ने सामर्थ्य र मनोबलसँग जोडिने बताए । 

संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने उनले जनाए । 

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता जनाएका थिए ।