काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने

काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७९

काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटकपटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनका लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्र समस्या समाधान गर्न सकिने बताइन् । 

शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बन्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाँक्रीले फोहोरमैला व्यवस्थापनका लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने उनले बताइन् । 

‘हामीले बलियो संयन्त्र बनाउँछौँ । मन्त्रीहरू त आउने जाने भइरहन्छ । यसका लागि माननीयज्यूहरू संलग्न समिति बनाउनु राम्रो हुन्छ । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौं र समिति बनाएर काम अगाडि बढाउँछौँ’, मन्त्री झाँक्रीले भनिन् । 

छलफलको क्रममा बलियो संयन्त्र बनाएर अनुगमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेलाबेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए । 

सोही क्रममा मन्त्री झाँक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने उनको भनाइ थियो । 

मन्त्री झाँक्रीले भनेको समितिको संयोजकका लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसद्‌मा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् । 

आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । ‘काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियाेस्’, उनले भने ।

काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्र गर्न सक्ने उनको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको १ महिना बितिसकेको तर, फोहोरको समस्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । वर्तमान सरकार बनेको पनि १ वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको उनले दाबी गरे ।