इन्भेष्टमेन्ट र मेगा बैंक गाभ्ने समझदारी : 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड' बन्ने

इन्भेष्टमेन्ट र मेगा बैंक गाभ्ने समझदारी : 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड' बन्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २७, २०७९

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एक आपसमा  गाभ्नको लागि प्रारम्भिक समझदारी पत्र हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ भएको दुबै  बैंकद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । 

संयुक्त प्रेस विज्ञप्तिका अनुसार  २०७९ जेठ २७ गते शुक्रवारका दिन नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एकआपसमा गाभ्नको लागि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष  भोज बहादुर शाहले  हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गर्नु भएको हो  । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सु परिचित रहेको  उल्लेख गर्दै  बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ । 

मर्जर पछि बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड' हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ भने त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने सहमति भएकाे  छ । 

हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पूँजी रु.१८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पूँजी रु. १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु.३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने कुरा संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक बताइएको छ । 

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहक वर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षद्वयले जानकारी गराउनु भएको थियो । उहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुक हरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।