रामचन्द्र घिमिरे: दश आइजिपीका 'पुरेत', अप्रकाशित आधा दर्जन महाकाव्य पाण्डुलिपिका धनी सर्जक

रामचन्द्र घिमिरे: दश आइजिपीका 'पुरेत', अप्रकाशित आधा दर्जन महाकाव्य पाण्डुलिपिका धनी सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ २८, २०७९

उहाँको पैतृक थलो ओखलढुंगाको लेती लिखु हो । पोकली छाँगोको छेउ वनपाले भन्ने ठाउँ हो । वनपाले भनेको देवी थानको मुख्य जिम्मा लिएर गर्ने काम गर्ने कारणले भनिएको हो । देवी थान, कुल देवतास्थान रक्षा गर्ने जिम्मेवारी उहाँको पितापुर्खाको हो।उहाँको बुवाले वनपालेको काम गर्नुभएको हुनाले उहाँहरुलाई अहिले पनि वनपालेको सन्तान भनिँदो रहेछ ।
000
उहाँको बुवा उच्च शिक्षाको लागि बनारस जानुभयो । बनारसमा पढेर आइसकेपछि काठमाण्डौको गौशालामा वेद विद्याश्रम वन काली स्थापना गर्नमा उहाँको मुख्य भूमिका रह्यो । राजा महेन्द्रको इच्छाअनुसार स्थापना भएको वेद विद्याश्रमको श्यामलाल घिमिरे संस्थापक प्रधानाध्यापक हुनुभयो । उहाँको बुवाले कलेजमा पढाउने भन्दा पनि मैले काँचो माटो बनाउनुपर्छ भन्ने सिद्धान्तका कारण विद्यालयमै पढाउनु भयो।
साना विद्यार्थी तयार भएनन् भने ठूलो विद्यार्थीलाई पढाएर उत्पादन हुँदैन भन्दै उहाँले वेद, कर्मकाण्ड जस्ता विषय पढाउनमा जोड दिनुभयो ।

राजा महेन्द्रले पनि आफ्नो अन्तिम अवस्थातिर राजा महाराजाले धर्म कर्ममा अपनत्व नदिएको देखेर तथा अरू धर्मको थिचोमिचो एवं पुरोहितहरूको कमी हुने देखेर वेद विद्याश्रमको स्थापना गर्नुभएको थियो । विस्तार विस्तार परिवर्तन पनि हुनुपर्छ तर,समाजको उत्थान गर्नका लागि यजमान वृत्ति गर्ने यजमान शिक्षा तथा पुरोहित चाहिन्छ भन्ने उद्देश्यले पनि वेद विद्याश्रमको स्थापना भएको थियो।
उहाँको ठूलो दाइ डा। आनन्द प्रसाद घिमिरे वाल्मीकि विद्यापीठमा शुक्ल यजुर्वेदको प्राध्यापक तथा विभागाध्यक्ष एवम् माहिलो दाई शिवदत्त घिमिरे नव्यव्याकणाचार्य हुनुहुन्छ भने उहाँ चाहिँ फलित ज्योतिषमा आचार्य ।

000

उहाँको जन्म काठमाडौँको सिफलमा २०३३ सालमा भएको हो । शायद परिवारको संस्कार अनि व्यवहारका कारण पनि होला उहाँको बालापन त्यति चञ्चल रहेन । तर पनि बालक हो अलि अलि उछलकुद त भइनै हाल्छ । बुवालाई प्यारालाइसिसले समातेको र बुवालाई हेर्ने जिम्मा उहाँको भागमा परेपछि जिम्मेवारीले पनि उहाँलाई गम्भीर बनायो ।

२०४३ सालमा उहाँको व्रतबन्ध भयो । त्यसबेला उहाँ सिफलको सरकारी बाल व्यवसायिक केन्द्रमा चार कक्षामा पढ्दै हुनुहुन्थ्यो । चार कक्षा पास गर्नु त भयो तर फेरि वेद विद्याश्रममा गएर चार कक्षामा नै भर्ना हुनुभयो ।व्रतबन्ध नभएका वटुकलाई भर्ना नलिने कारण पनि उहाँ व्रतबन्ध कुरेर बसिरहनु भएको थियो ।
बटुकहरूले पढ्नुपर्ने, सिक्नुपर्ने सबै कर्म व्रतबन्धपछि हुने भएकाले यस्तो नियम राखिएको हो । उहाँ चारदेखि सात कक्षासम्म भने प्रथम, द्वितीय नै हुनुहुन्थ्यो । तर, पछि भने उहाँको स्तर अलि खस्कियो ।

वेद विद्याश्रमको नियम भनेको विद्यार्थी पलेँटी कसेर बस्नुपर्ने भएकाले बस्ने बेञ्च हुने कुरा भएन । बस्नलाई भुइँमा पलेँटी कसेर बस्ने किताब राख्नका लागि भने डेस्कको व्यवस्था हुन्छ वेद विद्याश्रममा । वेद विद्याश्रमको एघार तथा बाह्र कक्षाको विद्यार्थीले पनि भुइँमै पलेँटी कसेर बस्नुपर्छ ।
वेद पढ्दा सार तथा स्वरको एकदमै महत्व हुने कारणले पनि भुइँमा पलेँटी कसेर पढ्दा सहज हुने कारणले यसो गरिएको हो ।

पहिले उहाँ पढ्दा एउटा कक्षामा दश जना राख्ने गरिन्थ्यो भने अहिले भने बीस/पच्चीस जना राख्ने गरिन्छ । अहिले वेद विद्याश्रममा एक सय एघार जनाको कोटा नै रहने गरी सबै जिल्लालाई समेटिएको छ । पशुपति क्षेत्र विकास कोषले जिम्मा लिएका कारण वटुकहरूको खाने तथा बस्ने व्यवस्था आश्रममा नै व्यवस्था हुन्छ ।
वेद विद्याश्रमको कोर्समा ४० अध्याय वेद कण्ठ पार्नुपर्छ । त्यसकारण पनि उहाँको पालामा घोक्नमा बढी जोड गरिन्थ्यो । तर, अहिले भने त्यस्तो छैन । वेद विद्याश्रमबाट एसएलसी सक्दा ४० अध्याय वेद र २ हजार भन्दा बढी वेदका मन्त्रहरू कण्ठप्रायः हुन्छन् । उहाँ भन्नुहुन्छ अहिले पनि कसैले भागवतमा भन्दा वेद पाठ गर्न बोलाउँदा आनन्द लाग्छ ।

कण्ठस्थ भए पनि किताब भने अगाडि राख्नुपर्छ । किताब अगाडि नराखी पढ्दा त्यसको दोष हुन्छ । किताब अगाडि राख्ने भनेको साक्षीका लागि पनि हो । किताब अगाडि राख्दा ह्रस्व दीर्घ तथा मात्राको त्रुटि हुँदैन ।

वेद विद्याश्रममा नेपाली, गणित सामाजिक शिक्षा, इतिहास, वेद, कर्मकाण्ड, तर्क संग्रह लगायतका विषय पढ्नुपर्थ्यो उहाँहरुले अहिले भने अंग्रेजी पनि थपिएको छ ।
उहाँ त्यस्तो उम्दा अनि निम्छरो विद्यार्थी पनि होइन । त्यसमाथि हेडमास्टरको छोरोको लाज राख्न पनि केही मेहनत त गर्नैपर्‍यो ।

एसएलसीपछि उहाँ वाल्मिकी क्याम्पसमा पढ्न थाल्नुभयो । उत्तर मध्यमा, शास्त्री र आचार्य उहाँले वाल्मीकि क्याम्पसबाट गर्नुभएको हो । उहाँले फलित ज्योतिषमा आचार्य गर्नुभएको हो । उहाँले ज्योतिष अभ्यास चाहिँ गर्नुभएन । उहाँले पढ्दा ठेली पढेर, हातैले चिना बनाएर गर्ने प्रचलन थियो । अहिले समय सफ्टवेयरको आएको छ, उहाँ भन्नुहुन्छ : धनको तीन किसिमको गति हुन्छ,एउटा दान गरेर सक्ने, अर्को उपभोग गरेर सक्ने अनि अर्को भनेको नाश भएर जाने । त्यसैले पैसा कमाउन मरिहत्ते गरेर नचाहिँदा फलादेश गरेर मान्छेलाई डर, त्रास देखाएर उहाँलाई कमाउन मन भएन । त्यसकारण पनि उहाँको विद्या थन्किएर बसेको छ । उहाँले २०६१ सालमा आचार्य सक्नुभएको हो ।

000

गुरु पुत्र अनि पढाइ पनि संस्कृतमा राम्रै भएकाले पूजाका लागि योग्य ठानेर २०५४ सालमा प्रहरी निरीक्षक हरिभक्त सिग्देलले उहाँलाई घरबाट लिएर जानुभयो । प्रहरी प्रधान कार्यालय तथा आइजीपी निवासमा त्यस बेला नयाँ मन्दिर बनाइएको थियो ।

उहाँले करिब डेढरदुई महिना भने त्यसै सेवा गर्नुभयो । तर पछि दोलखाको किर्ने टारमा उहाँ सिपाहीमा भर्ना हुनुभयो । उहाँलाई कार्यालय सहयोगीको रुपमा राख्ने उहाँहरुको सुर रहेछ । तर, त्यस्तो पदोन्नति नहुने जागिर उहाँले नखाने भनेपछि सिपाहीमा जागिर खानु भएको रहेछ । त्यतिबेला

उहाँलाई अन्य सरह प्रतिस्पर्धा नगरी पदोन्नति हुन्छ भनिएको रहेछ । तर ९ वर्ष सिपाहीमा जागिर खाएर पनि पदोन्नति नभएपछि उहाँले जाँच दिएर असइमा नाम निकाल्नुभयो ।

आइजीपी निवासमा मन्दिर भएकोले पनि उहाँको सबै आइजीपी सँग राम्रो सम्बन्ध हुने नै भयो । उहाँले नेपाल प्रहरीका दशजना आइजीपी सँग काम गर्नुभयो । उहाँले जागिर खाँदा ध्रुव बहादुर प्रधान आइजीपी हुनुहुन्थ्यो ।देवताको पूजा अर्चना गर्नुपर्ने कारण उहाँको ड्युटी भनेको ३६५ दिन नै हुन्थ्यो । असई भइसकेपछि तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्याललाई उहाँले आफ्नो नियुक्तिको समयमा भएका पदोन्नतिको कुरा राख्नुभयो । तर,नियमले त्यसो गर्न मिल्दैन भनिएपछि जागिर खाएको अठार वर्ष पुगेर अवकाश प्राप्त गर्ने समय पनि पुगेका कारण उहाँले जागिर छोड्नुभयो ।

उहाँले २०५४ सालमा सिपाहीमा जागिर खाँदा तलब १७ सय थियो । त्यस बेला त्यो पैसा भनेको राम्रै थियो । उहाँका अरू साथीहरु भने त्यस बेला गुरु पुरोहित बनेर नेपाली सेनामा जागिर खान गए । जागिर खाए पनि वाल्मिकी क्याम्पसमा छात्रवृत्ति पाइन्थ्यो । तर,उहाँले भने छात्रवृत्ति लिनु भएन । त्यसो त कतिपय साथीलाई उहाँले जागिर छोडि सकेपछि बल्ल पुलिसमा काम गर्थ्यो भनेर थाहा भयो ।

पहिलो तलब यसमा नै खर्च भयो भन्ने यकिन भने उहाँलाई छैन । पैसा राख्नलाई बैंकमा खाता खोलेको उहाँलाई थाहा छ । खाता नम्बर ११४१८ थियो । त्यसबाहेक घर खर्चमा नै सकिएको हुनुपर्ने उहाँको अनुमान छ ।

000

उहाँले जागिर खाने समयमा माओवादी प्रभाव बढेको थियो । आइजीपी निवास बनेको स्थान अलि अफाप हुने स्थानमा भएका कारण त्यहाँ मन्दिर बनाइएको रहेछ । प्रहरी तथा आइजीपीलाई पनि त्यसले केही आध्यात्मिक शक्ति र मानसिक रुपमा आत्मवल प्राप्त हुन सकोस् भनेर मन्दिर बनाइएको रहेछ ।नेपाल प्रहरीको जंगी निशान अहिले पनि सेनाले पूजा गर्दै आएको छ । रामदल पल्टनबाट नेपाल प्रहरी आएको कारण अहिले पनि सेनाले पूजा गर्ने गर्छ । 

श्यामभक्त थापाले गुरुहरू भनेको देउताको अगाडि झुक्ने मान्छे,हामी पनि देउताको अगाडि झुक्ने हो त्यसकारण गुरु हाम्रो अगाडि झुक्ने होइन । हाम्रो अगाडि झुक्दा त तपाईहरुको तेज नै हराइहाल्छ नि त्यसो नगर्नुस् भनेको उहाँ सम्झनुहुन्छ ।

तर प्रहरीले आफ्नो निशान पूजा नगरेकोमा उहाँको त्यति चित्त बुझेको छैन । त्यसैगरी छालाको जुत्ता लगाएर निशान भगवती मन्दिरमा जाने चलन उहाँलाई चित्त नबुझेको रहेछ।

श्यामभक्त थापाले गुरुहरू भनेको देउताको अगाडि झुक्ने मान्छे,हामी पनि देउताको अगाडि झुक्ने हो त्यसकारण गुरु हाम्रो अगाडि झुक्ने होइन । हाम्रो अगाडि झुक्दा त तपाईहरुको तेज नै हराइहाल्छ नि त्यसो नगर्नुस् भनेको उहाँ सम्झनुहुन्छ ।

ड्युटीमा रहँदा सलाम गर्नु ठिकै हो तर पूजा पाठको प्रसाद दिन आएको छ अनि सलाम गर्दै आउने हो र ? भनेर थापाले भन्नुभएको उहाँलाई सम्झना छ ।

उहाँले प्रहरीको प्रत्येक जिल्लामा एउटा एउटा मन्दिर बनाएर सेनाको जस्तो पढे लेखेका पुरोहितको एउटा समूह नै बनाएर जानुपर्छ भनेर सुझाव पनि नदिएको होइन । तर, उहाँको अवकाश हुँदासम्म त्यो लागू भए जस्तो उहाँलाई लागेन।

000

जागिर छोडेपछि उहाँको साहित्यिक यात्राले गति लियो । २०६३/६४ मा नेताहरूबाट भाषणमा नयाँ नेपालको कुरा धेरै सुनेपछि उहाँले फेसबुकमा नयाँ नेपालमा के के हुन्छ के के अपेक्षा छ भनेर लेख्न थाल्नुभयो । उहाँले यसपछि आद्यक्षरी शुरु गर्नुभयो । अर्थात् 'नयाँ नेपालका कुरा' का अगाडिका अक्षरबाट श्लोक प्रारम्भ गर्ने । जस्तै,
नयाँ काम कुनै गर्दा खाँचो पर्दछ साथको
यात्रा आरम्भ गर्दामा खाँचो पर्दछ नाथको ।।

यसरी लेख्दै जाँदा उहाँको संगत रमेश खकुरेल, होम सुवेदी कोषराज गुरुहरूसँग भयो । त्यस बेला शुरु हुन लागेको प्रतिभा निकुञ्जसँग उहाँ आबद्ध हुनुभयो । प्रतिभा निकुञ्ज भनेको छन्दको अभ्यास गर्ने ठाउँ हो । अहिले लेख्दै गर्दा प्रतिभा निकुञ्जको १३र१४ सय अंक भइसकेको छ । जसमा ७५ जना जति साधक हुनुहुन्छ ।

प्रतिभा निकुञ्जमा हरेक दिन अभ्यास हुन्छ । हरेक दिन फरक छन्दमा, फरक फरक विषय वस्तुमा,फरक फरक समस्यापूर्तिमा लेख्ने चलन छ।

प्रकाशनका हकमा भने उहाँ निर्मम देखिनुहुन्छ । मैले कविता लेखेर चना चटपटे वालालाई दिने वा कसैलाई जी, हजुरी खुसामद गरेर यति बेचिदेऊ भनेर जिम्मा दिने हो ! आफ्नो साधना हो गरिन्छ, गरि राखिएको पनि छ भन्ने उहाँको विचार छ ।

उहाँको विशेषता भनेको सद्य सिर्जना हो । उहाँ बासी सिर्जनामा त्यति रमाउनुहुन्न । अलि अलि परिष्कार गर्न सकिएला तर लेख्न चाहिँ तुरुन्त लेख्नुपर्छ भन्ने उहाँको मान्यता छ । उहाँमा यो मान्यता विकसित हुनुमा कोक गोष्ठी अर्थात कोठे कविता गोष्ठीको योगदान छ ।

कोक गोष्ठीमा उहाँलाई गुरुहरूले सद्य टिप्पणी गर्नुपर्छ भनेर भन्नुहुन्छ । अहिले भर्चुअल भइरहेका कारण उहाँले यस्तै दुई/तीन घण्टाको समय माग्नु भएको छ । अन्यथा गोष्ठीको बीचमा नै पद्य सृजना गरिन्छ । त्यहाँ

प्रायः एक,पाँचलगायत श्‍लोकका कविता हुन्छन् । अरूले वाचन गरेका कविताको सारलाई एक श्‍लोकमा मिलाएर जुन छन्दमा लेखिएको छ त्यही छन्दमा एक प्रकारले भन्नुपर्दा उत्तर दिने रचना सद्य टिप्पणी हो ।

000

उहाँले कूटपद्य भनेर पनि शुरु गर्नु भएको छ । यसमा भन्न खोजिएको कुरालाई सिधा नभनेर अलि नबुझिने गरी लेखिने विधा हो । जस्तै उहाँले उहाँको नाम रामचन्द्रलाई अंग्रेजीमा 'र्‍याट, एप्पल मंकी छन् क्याट, हेन र एप्पलू भनेर पूरा श्लोक तयार गर्नु भएको छ । जसमा जसका अगाडिका अक्षर आर ए एम (राम) अर्थात जसबाट उहाँको नाम राम हुन आउँछ । यो अंग्रेजीमा मात्र नभएर नेपालीमा पनि हुन्छ । मुसो, स्याउ तथा ढेडु भनेर नेपालीमा उल्था गरेर पनि यसलाई उहाँले कविताको रूप दिनुभएको छ ।

त्यस्तै नेपालीमा खाँबे अक्षरमा धर्को राम्रो अक्षर जोडियो, चरि चुच्चे थपी न्यूरी मुन्टे अक्षर तोडियो । अर्थात रामचन्द्र । उहाँले अहिलेसम्म यसरी ८० शीर्षक कुट पद्यबाट लेखिसक्नु भएको छ । यो बेग्लै शैलीमा पनि उहाँले गजबले कलम चलाइरहनु भएको छ । उहाँ गजलमा पनि कलम चलाउनुहुन्छ ।

उहाँका आजसम्म कुनै प्रकाशन आएका छैनन् । उहाँ आफ्नो रचना कलर नोटमा नै राख्नुहुन्छ । उहाँको आद्यक्षरी भन्ने पेज पनि छ । उहाँ अब आफू नयाँ पनि नभएको अनि अब लेखेर के के न गरौँ भन्ने हुटहुटी पनि नभएको साथै आफ्नै रफ्तारमा लेखिरहने हुनाले पनि प्रकाशनमा नआएको बताउनुहुन्छ ।

उहाँको प्रतिभा निकुञ्जमा मात्र १३ सय श्लोक माथिका पाँच वटा पाण्डुलिपि छन् । महाकाव्य हुनका लागि १२ सय माथि श्लोक चाहिन्छ । त्यस हिसाबले उहाँका पाँचवटा महाकाव्य यहीँ तयार हुने देखिन्छन् ।

अन्य आद्यक्षरी र कुट पद्यका हिसाबमा कुरा गर्दा उहाँले प्रकाशन गर्न चाहेका खण्ड थुप्रै रचना नेपाली साहित्यमा आउने देखिन्छन् । पुरस्कार र सम्मानको कुरा गर्दा जसले आफ्नो रचना कृति नै प्रकाश गरेको छैन उसलाई के को पुरस्कार अनि सम्मान ! भन्नुहुन्छ घिमिरे ।