सिद्धान्तको सीमा मिच्न सबै अनिच्छुक: संस्कृत वाङ्मयको अध्ययनबिना संसार बुझ्नै कठिन !

फर्कलान् र ती दिनहरु- ११३

सिद्धान्तको सीमा मिच्न सबै अनिच्छुक: संस्कृत वाङ्मयको अध्ययनबिना संसार बुझ्नै कठिन !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  जेठ २८, २०७९

आत्मकथा या आफ्नो जीवनीका कथा आफ्नै हातबाट कसरी सम्भव हुन्छ ? के त्यसमा आत्माभिमानको पुट हुँदैन र ? या त्यसमा कतिपय त्यस्ता कुराहरू राखिन्छन्, जुन समाजलाई थाहा छ तर आफूचाहिँ भन्न सक्दैन ? भन्दैन ? या त्यस्ता कुराहरू छन्, जुन उसलाई मात्र थाहा छ तर त्यो कुरा अहिले प्रकाश पार्‍यो भने त्यसले समाजमा, परिवारमा हलचल ल्याउँछ । हलचल मात्र होइन, सामाजिक सम्बन्धमा पनि नयाँ अन्योल कायम हुन सक्छ ।

मेरो विद्वान् भाइ छ- घनेन्द्र ओझा । ऊ जहिले पनि भन्छ, 'आत्मकथा लेख्नेले या त जस्तो पनि सत्य प्रकाशमा ल्याउन सक्नुपर्छ, या त त्यस्तो जोखिमपूर्ण काम गर्नु नै हुँदैन, जसले लेख्नेलाई पनि तितो, पढ्नेलाई पनि तितो, थाहा पाउनेलाई पनि तितो होस् । तितो त्यो अर्थमा कि लेखेको कुनै अंशप्रति अविश्वास हुनेबित्तिकै सम्पूर्ण लेखाइमाथि प्रश्न उठ्न सक्छ र त्यत्रो मिहिनेत खेर जान्छ ।' आत्मकथा वा आफ्नो जीवनी आफैँले लेख्ने काम सुरुचिपूर्ण पनि हो, कर्तव्य पनि हो, पछि कसैले त्यसमा तलमाथि नपारोस् भनेर गरिएको जोखिमपूर्ण यात्रा पनि । 

यस्तो जीवनयात्राको कुरा गर्दा श्रीकृष्ण द्वैपायन (२८औँ व्यास)ले महाभारतमा आफ्नाबारेमा भनेका कुराहरूले के भन्न हुन्छ, के भन्न हुँदैन भन्ने सीमा मिचेको पाइन्छ । स्वयं आफ्नो जन्मका बारेमा आफू ऋषि पाराशरको चाहनामा धीवर कुमारी (मत्स्यगन्धा) आमाबाट जन्मेको बताएका छन् । उनले आफू कुरूप रहेको, आमाको अनुरोधमा कुरु वंशलाई निरन्तरता दिनका लागि जस्तोसुकै काम गर्न पनि सक्ने, बुहारीसँगको सम्बन्धबाट बच्चा जन्माउन पनि सक्ने अनि त्यो नियोगको चलन थियो भनेर इतिहासमा लेख्न पनि सक्ने विद्वानको रूपमा आफूलाई उभ्याएका छन् ।

आफू धीवर कन्याबाट जन्मिएको भए पनि ब्राह्मणको रूपमा स्वीकृत भएर शूद्र कन्याबाट जन्मेको भए पनि शूद्र नभएकाले वेदको अध्ययन गर्न पाएको र वेदलाई सारांश, व्याख्या तथा नयाँ तरिकाले तयार गर्ने काम गरेकाले वेदव्यास भएको बताएका छन् । ब्राह्मणले वेद पढ्न र पढाउन पाउने तर शूद्रले वेद सुन्न पनि नहुने भएकाले र शूद्रले धनुर्वेदको अध्ययन गर्नु नपर्ने भएकाले शूद्र महिलाबाट जन्मेकाले विदुरलाई शूद्रको वर्णमा गणना गरिएको तर अन्य शिक्षाको भने जानकार गराएको देखिन्छ । 

अरू पनि उदाहरण होलान् । रत्नाकरको प्रायश्चितको नयाँ स्वरूपबाट वाल्मीकिको उत्पत्ति भएकाले आज हामीले रामायण जस्तो आदिकाव्य पाएका हौँ र अहिलेसम्मको अनुसन्धानबाट विश्वको पहिलो कविता उनैको मुखारविन्दबाट फुरेको क्रौञ्च दम्पत्तीका बारेमा व्याधाको  निर्ममताबाट निस्किएको विषादको पीडाले दिएको आर्त पुकार नै हो भन्ने छ । त्यसैले वाल्मीकि नै संस्कृतका मात्र नभएर विश्व साहित्यका नै आदिकवि हुन् भन्ने मान्दा हुन्छ । 

कुरो थियो जीवनीको लेखन । आत्मकथाको सत्यापन । सत्यापनका आधारमा जीवनीको सत्या सत्यका बारेमा अनुसन्धान । त्यसको आधारमा व्यक्तिको मूल्यांकन गर्ने प्रचलन । कसैले यति ढाँट्छन् कि आफूलाई महान् देखाउन कि त्यो कृति छिछिमा पर्छ एकातिर भने कसैले यति धेरै आफ्नाबारेमा खोल्छन् कि त्यसले उसका बारेमा जान्दा अरूको पनि अतीतका बारेमा पोल खोलेको हुन्छ अनि समाजमा कुनै बेलामा नयाँ हलचल पनि आउन सक्छ ।

कतिसम्म लेख्ने भन्ने त कुनै सीमा कसैले तोक्न सक्दैन तर जति लेखे पनि त्यो सत्य हुनुपर्छ, मौलिक रूपमा हुनुपर्छ र अरूले पनि 'हो नि त त्यो कुरा' भनेर भन्ने खालको हुनुपर्छ भन्ने मान्यता छ । तर, कतिपय कुरा उसका बारेमा उसैलाई मात्र थाहा हुन्छ, अरूले अनुमान पनि लगाउन सकेका हुँदैनन् । त्यस्ता कुराको अनुसन्धान आवश्यक परेका   बेलामा त्यस्ता  जीवनीपरक सत्यले इतिहासका काम गरेका हुन्छन्, जस्तो कि बीपी कोइरालाको आत्मबृतान्तले नेपाली इतिहासमा बीपी जस्तो हुुनुहुन्थ्यो, त्यस्तै बुझ्नका लागि मौका दियो । कतिपय कुराहरू त्यस्ता पनि आए, जसले नेपाली इतिहासलाई नै नयाँ तरिकाले बुझ्नका लागि मौका दिए ।

बीपीले त्यो जवानलाई भन्नुभएछ, 'हेर बाबू, सीमा त हुँदो रहेछ, मेरो पनि प्रजातन्त्र भन्ने सीमा छ, त्यसमा केही सीमा छन्, जसलाई भत्काएर म बरु मर्छु, सीमा मिच्न चाहन्नँ । त्यही आदर्श हो मेरो पनि जीवनको जस्तो कि तिमी पनि कुनै सीमामा त बाँधिएका रहेछौँ के गर्नु हुने, के गर्नु नहुने भनेर !'

यदि वरिष्ठ अधिवक्ता र स्पष्ट वक्ता गणेशराज शर्मा जीले बीपीसँग समय लिएर-यदि त्यो समयमा रेकर्ड नगरेको भए ती इतिहासका बोलीहरू उहाँसँगै आर्यघाटमा विलीन हुने थिए, कति त बाहिर नआई विलीन भएका पनि होलान् ) । अनि, बेलैमा त्यो अन्तर्वार्ता जस्तै भनाइ रेकर्ड गर्नुहुन्थेन भने नेपाली इतिहासमा बीपीप्रतिको बुझाइ हामी उहाँलाई नजिकैबाट चिन्नेबाहेक अरूका लागि हाम्रो भनाइ अपच पनि हुन्थ्यो जस्तो कि आत्मबृतान्त आउनुअघि भएको थियो । 

गणेशराजजी अब हुनुहुन्न । अब उहाँका बारेमा केही भन्दा अन्यथा नहोला भन्ने मानौँ । मलाई गणेशराजजीसँगको सम्पर्क सदैव सत्सङ्ग जस्तै लाग्यो । निर्भीक हुनुहुन्थ्यो र कसैको लाभ-हानिभन्दा पर मुलुक र प्रजातन्त्रको लाभका लागि बोल्नुहुन्थ्यो । एउटा राष्ट्रवादी चिन्तक हुनुहुन्थ्यो र परपरसम्मको विश्लेषण प्रमाण र संकेतका आधारमा गर्नुहुन्थ्यो, आखिर उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो ।

आफ्नो सिद्धान्तमा अडिग । राजनीतिलाई उहाँ तर्क र परिणामका बारेमा बुझ्नुहुन्थ्यो र अकाट्य तर्कद्वारा सिद्ध गर्नुहुन्थ्यो । सिद्धान्तका बारेमा उहाँका आफ्नै मानक थिए र आफ्ना मानकप्रति अत्यन्त इमान्दार । बीपीले आफूलाई किन एक्लो वृहस्पति झूठा भन्नुभयो (२५ जेठ २०३६ को, जुनचाहिँ बीपीको जीवनमा १ पुस २०१७ पछिको नेपालमा पहिलो सार्वजनिक आमसभामा) जनमतसंग्रहको पहिलो आमसभामा । बहुदललाई मत माग्ने पहिलो आमसभामा, टुँडिखेलमा ।

बीपीको कुरा बुझ्न छाडेर लहैलहैमा लाग्न थालेको संकेत उहाँले पाउनुभएको रहेछ भन्ने तर्क जुन थियो, अहिले त्यो सही साबित भएको छ । बीपीको जीवनीमा या आत्मबृतान्तमा कतै लेखेको होला, तर, बीपीले शनिबारको आफ्नो अन्तर्क्रियात्मक भेटमा एक पटक सुन्दरीजल जेलको संवादलाई आधार बनाएर सिद्धान्तका बारेमा भन्नुभएको थियो- एउटा कुनै सिपाही उहाँहरूको रेखदेखमा कारागारमा थियो भित्रै ।

एक पटक उसले बीपीलाई 'किन राजासँग निहुँ खोजेर जेलमा कोचिएर बसेको बरु बाहिर आएर पदमा बसे हुन्छ नि !' भनेर राजासँग विवाद नगर भन्ने आशयको धारणा व्यक्त गरेछन् । बीपीले पनि उदाहरणका रूपमा तिनै सिपाहीलाई सोध्नुभएछ, 'भाइ, यदि तिमीलाई आदेश आयो कि बाबुलाई पक्राउ गर, तिमी के गर्छौ ?' उसले भनेछ, 'पक्रन्छु ।' 'अनि, घरमा आगो लगाऊ र बाबु र आमालाई पक्रेर ल्याऊ, श्रीमतीलाई पनि बिनाकारण पक्रेर ल्याऊ भनेमा नि ?'

अलिक अकमक्किएर भनेछन्, 'सरकारको सिन्दूर पहिरिएपछि त भनेको मान्नै पर्‍यो नि हजुर !' 'अनि, तिम्रो हाकिमले तिमी आफ्नी आमालाई नाङ्गेझार पारेर बलात्कार गर भन्यो भने ?' त्यो सेनाको जवानले तत्काल भनेछ, 'बरु मर्छु, कहाँ आमालाई त्यस्तो गर्छु र ? हद गर्ला हाकिमले कोर्ट मार्सल लगाउला र भनेको नमान्ने भनेर जेलमा हल्ला, फाँसी देला ...।' अनि, बीपीले त्यो जवानलाई भन्नुभएछ, 'हेर बाबू, सीमा त हुँदो रहेछ, मेरो पनि प्रजातन्त्र भन्ने सीमा छ, त्यसमा केही सीमा छन्, जसलाई भत्काएर म बरु मर्छु, सीमा मिच्न चाहन्नँ । त्यही आदर्श हो मेरो पनि जीवनको जस्तो कि तिमी पनि कुनै सीमामा त बाँधिएका रहेछौ के गर्नु हुने, के गर्नु नहुने भनेर !' गणेशराजजीले एउटा कुरा बारम्बार भन्नुहुन्थ्यो, बीपीको जीवनसम्म उहाँलाई अपमान गरेर देशमा प्रजातन्त्र आउन नदिने एउटा शक्ति, दुइटा शक्ति या बहुशक्ति लागेका थिए, जसलाई धेरै नकावधारी हरूको सहयोग थियो, छ तर अब हुने सत्याग्रह (२०४२ सालको प्रतिबन्धित नेपाली कांग्रेसको आयोजनामा)ले झन् सद्दे प्रजातन्त्रको पुनर्स्थापनामा अवरोध आउनेछ ।

त्यति मात्र होइन, यो सत्याग्रहको निहुँमा नेपालमा, त्यही समयभित्रैबाट स्थायी रूपमा उग्रवादको जन्म हुनेछ, जुन नेपालमा सदैव प्रजातन्त्रको स्थायी शत्रुको रूपमा रहनेछ । गणेशराजजीका सबै कुरा पुगे कि पुगेनन्, ती सम्बन्धित बेलामा छलफलमा जाने जो अहिले उच्चपदस्थ छन् सत्तामा, उनीहरूले एक्लै बसेका बेलामा सोच्ने कुरा हो, समाजलाई दिने जबाफको कुरा हो । तर, अरू त अरू, ३० वैशाख २०७९ स्थानीय निर्वाचनको बिहानै पनि संसद् भवन अगाडि बम पड्केकै छ । हिंसाले यति उग्ररूप लिएको थियो र अझै हिंसाको मारबाट नेपालले पार पाएको छैन ।

त्यही १० जेठ २०४२ देखि सुरु भएको सत्याग्रहको १ महिनाभित्रै ६ असारमा नेपालमा बम पड्कियो सिंहदरबार, राजदरबार र अन्नपूर्ण होटलमा । त्यो क्रम आजको मितिसम्म पनि रोकिएको छैन, पात्र जोसुकै होस् । मुलुकमा यहीबीचमा प्रजातन्त्र पुनर्स्थापना भयो, प्रजातन्त्रका विरुद्धमा जनयुद्ध सुरु भयो र जनयुद्ध अन्तमा प्रजातन्त्रका पक्षमा अनुवाद भएर शान्तिपूर्ण अवस्थामा अवतरित भयो ।

संविधानसभाको निर्वाचन भयो तर पहिलो संविधानसभाले संविधान दिन सकेन, अन्तर्यमा पक्कै होला । त्यसमा देखिने अस्थिरताका पात्रहरू फरक होलान् तर अस्थिरता राजनीतिमा मात्र आजसम्म देखिएकै छ । मुलुकमा कुनै स्थिरताको लक्षण देखिएको छैन । 

सायद अब यी समयको बारेमा कसैले लेख्ला ! भर्खरै जस्तो राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालजीले गणतान्त्रिक नेपालको  संविधान, निर्माण प्रक्रिया पात्र र अन्तरवस्तु भन्ने एउटा अत्यन्त सान्दर्भिक स्मृतिजन्य तर तत्कालीन अवस्था ऐना प्रकाशनमा ल्याउनुभएको छ ।

कम्तीमा पनि उहाँले सत्य उद्घाटन गर्ने प्रयास गर्नुभएको छ । तर, उहाँ र हामी जस्ताले देख्ने र अनुभूत गर्ने सत्यभन्दा भित्री सत्य केही होलान्, जसको अनुसन्धान गर्नका लागि खनालजीले झकझक्याउनुभएको छ, अनुसन्धाता र सत्यापनका चुनौती पनि दिनुभएको छ आगामी कसैको प्रकाशनका लागि, सत्यको खोजीका लागि  । 

त्यस्तै कुरो आएको थियो जीवनी र आत्मकथाको प्रसंगमा । अझै आत्मकथामा रहनै पर्ने अन्तरवस्तुका बारेमा जेजे मानक तयार गरेका हुन्छन् बुद्धिजीवीहरूले, अनुसन्धाताहरूले तिनै आधार मानिने हुन् । मैले पनि अहिले आएर आफ्नाबारेमा जेजे सम्झने गरेको छु, लेख्दैछु तर मेरो भाइ विद्वान् तर निर्मम रूपमा आलोचना गर्न सक्ने आलोचक पनि हुन्, तिनको मानकसँग म सहमत अझै हुन सकेको छैन ।

तर, भाइ नै ठिक हुन् र उनको लेखनीले नयाँ नयाँ मानक तयार गरोस् भन्ने पनि चाहन्छु ।मलाई सिधै संस्कृत नजानेको र संस्कृतका श्लोकहरूको वा भाषाको अर्थ सहयोगमा मात्र बुझ्नुपरेकामा ग्लानि लाग्न थालेको छ । मैले नेपालका स्वनामधन्य अनुसन्धाता, विश्वका राम्रा मानिएका विश्वविद्यालयहरूबाट असल अनुसन्धाताका रूपमा पुरस्कृतहरू पनि अब संस्कृत पढ्न लालायित भएका पाएँ । मलाई पनि अब संस्कृत पढेर खरर अर्थ लाग्नेगरी जान्न मन लागेको छ । सायद त्यसले मेरो अहिलेको अल्पज्ञानको कुण्डमा थोरै अरू जलको विस्तार हुन सक्ने थियो कि ? न वेदको अर्थ जानियो, न उपनिषद्को ज्ञान राखियो, न वैदिक साहित्यको परख गर्न सकियो, न त संस्कृत साहित्यको मनन गर्न नै सकियो ।

क्रमशः