'प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो'

'प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो'

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७९

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । 

प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताएका हुन् । 

सत्तारूढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्ने बताएको भन्दै सांसद ज्ञवालीले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्ने बताए । 

यसबारे प्रधानमन्त्री देउवाले संसदमा जानकारी गराउनुपर्ने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणका विषयमा सदन अनुत्तरित रहनुहुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूका तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’

प्रधानमन्त्री देउवाले आउँदो असारमा अमेरिका भ्रमणमा जाने तयारी गरेका छन् ।