'इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे'

'इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे'

एजेन्सी  |  विदेश  |  जेठ २९, २०७९

इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । २ महाशक्तिबीचको सम्बन्ध महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्न' बन्द गर्न आग्रह गरे । 

बैठकमा अमेरिकाले ताइबानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइबान स्वशासित टापु वरपर हालैको चिनियाँ सैन्य गतिविधिले यथास्थिति परिवर्तन गर्ने खतरा रहेको बताउँदै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ताइवानलाई अमेरिकी समर्थन रहेको बताए । उनले ताइबान नजिकै चीनको उत्तेजक र अस्थिर सैन्य गतिविधिमा निरन्तर वृद्धि भएको बताउँदै त्यसको आलोचना गरेका थिए ।

बेइजिङको कम्युनिस्ट मूलभूमिसँग एकताको मागलाई स्वीकार गर्न धम्की दिने उद्देश्यले चीनले हालैका वर्षहरूमा ताइबानविरुद्ध आफ्नो सैन्य उत्तेजकता बढाएको बेइजिङमाथि आरोप लाग्दै आएको छ ।

चीनले ताइबानलाई आफ्नो महत्त्वपूर्ण हिस्सा भएको दाबी गरेको छ । सन् १९४९ मा गृहयुद्धका क्रममा ताइबान विभाजन भएको थियो । बेइजिङले आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो संकल्पलाई कम नठान्न चेतावनी दिँदै ताइबानको स्वतन्त्रतालाई समर्थन गर्नेहरूले प्रतिकूल परिणाम भोग्नुपर्ने बताउँदै आएको छ ।