गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २९, २०७९

गत साता नेप्से १ दशमलब ४७  प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो ।

बुधबार ६० अंकले बढेको नेप्से बाँकी ४ कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित सम्बोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा छ ।

यसअघिको उच्चतम बिन्दु ३२२७  बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीले घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि शेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।
अबको ३ महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालू आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि शेयर बजारमा जेठ, असारलाई लगानीको सिजनका रूपमा लिने गरिन्थ्यो । तर, यस वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रूपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ ।

गत साता नेप्से घटे पनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औसत कारोबार रकम ६ दशमलब २८ प्रतिशत बढेर १ दशमलब ३२ अर्ब कारोबार हुँदा सातामा साढे ६ दशमलब ६० अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।  नेप्से घटेपछि कुल बजार पुँजीकरण ४२ अर्ब रुपैयाँले घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो साता कुल बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ रहेको थियो ।

गत साता नेप्सेमा ४ वटा कम्पनीका २ करोड १२ लाख २ हजार २९२ दशमलब ९३ कित्ता शेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पुँजीको ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पुँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८ दशमलब ९३ कित्ता बोनस शेयर र सीवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।