समोसामा छँदैछ आलु तर बिहारमा रहेनन् लालु

समोसामा छँदैछ आलु तर बिहारमा रहेनन् लालु

लक्ष्मण ओझा  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं । भारतको बिहारमा एउटा उखान चर्चित छ- जब तक रहेगा समोसेमा आलु तब तक रहेगा बिहारमे लालु । अर्थात् बिहारमा लालु यादवको पार्टी रहुञ्जेल सत्तामा रहिरहन्छ ।

तर, भर्खरै सकिएको लोकसभा चुनावमा यो उखान गलत सावित भएको छ । अर्थात् समोसामा आलु रहे पनि बिहारको सत्तामा लालु यादवको पार्टी रहने छैन । चुनावमा लालुको नेतृत्वको राष्ट्रिय जनता दलले खाता पनि खोल्न सकेन ।

बिहारका ४० सिटमध्ये ३९ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले जितेको छ भने कांग्रेसले एक सिट जितेको छ ।

भाजपा नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए)लाई चुनौती दिन लालु यादव नेतृत्वको पार्टीले पाँच दलसँग महागठबन्धन गरे पनि सफल भएन ।

बिहारमा राष्ट्रिय जनता दल, कांग्रेस, हिन्दुस्थानी अवाम मोर्चा, कम्युनिस्ट पार्टी अफ इण्डिया (माक्र्ससिस्ट-लेनिनिस्ट), विकासशील इन्सान पार्टी र राष्ट्रिय लोक समता पार्टीले महागठबन्धन गरेका थिए ।

सन् २०१४ को लोकसभा चुनावमा भने लालु यादव नेतृत्वको पार्टीले ४ सिट जितेको थियो ।