चियाको बृहत राष्ट्रिय प्रदर्शनी:  बुटवलमा ३ र ४ असारमा

चियाको बृहत राष्ट्रिय प्रदर्शनी:  बुटवलमा ३ र ४ असारमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २९, २०७९

रुपन्देही ।  नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/ संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले आगामी ३ र ४ असारमा बृहत चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।

चिया प्रदर्शनी बुटवल मिलनचोक स्थित सिद्धार्थ कटेजमा आयोजना हुने बोर्डका कार्यकारी निर्देशक चन्द्र पुरीले जानकारी दिए । 'बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ,' उनले भने ।

'स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं'  भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र  यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एशोसिएशन, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एशोसिएशन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको प्रदर्शनीमा मुख्य रुपमा सहभागिता रहने छ । 

कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक पुरीले जानकारी दिए । नेपालको तराई क्षेत्रमा विशेष गरी झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।

नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्ने हो भने नेपालले तीन अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ । 

नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो । इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास १५० वर्ष भन्दा पुरानो रहेको छ । आर्थिक वर्ष २०७७।०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको र २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।