नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७९

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ । २ बैंकबीच शुक्रबार एकआपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००:९० शेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण १ वर्षपछि शेयर कारोबार खुला भएको थियो । 

२ बैंकले ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिने (मर्जर)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर तथा प्राप्ति-एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार ३० जेठदेखि रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए ।