नेप्से दोहोरो अंकले घटेसँगै  एक अर्बको रुपैयाँको कारोबार !

नेप्से दोहोरो अंकले घटेसँगै  एक अर्बको रुपैयाँको कारोबार !

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७९

काठमाडौँ । पछिल्ला केही महिनायता निरन्तर ओरालो लागेको सेयर बजारले यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएकाे छ । कारोबारको पहिलो दिन सोमबार कारोबारमा आएका २३० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ।

साेमबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा अडिएको छ। यस्तै सेन्सेटिभ पनि २.३० अंकले घटेको छ।

कारोबारमा आएका १३ उपस मूहमध्ये सबैजसो उपसमूहको घटेका छन्। नेप्सेका अनुसार फाइनान्स, होटल एण्ड टुरिजम, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन तथा निर्जीव बिमा १ प्रतिशतभन्दा धेरैले घटेका छन्।

यस्तै वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड, अन्य र बजार उपसमुह ०.२२ प्रतिशत भन्दा बढिले घटेका छन्। 

यसरी सेयर बजार घट्नुको कारण तरलता अभाव र सरकारको व्यवस्था रहेको जानकारहरु बताउँछन्। बजार घटेको समयमा पनि तरलता अभावका कारण बैंकबाट पैसा नपाउनुले खरिदकर्ता बजारमा आउन नसकेको उनीहरूको तर्क छ।

७ जेठ बुधबार दुई हजार बिन्दुको परीक्षण गरेलगत्तै बाउन्सब्याक लिएको नेप्से एकैदिन ६० अंकको वृद्धि भएर बन्द भयो। बिहीबार कारोबार समयमा नै  परिसूचक २१०० बिन्दुमा पुगिसकेको थियो। तर, बिहीबार २१ सयलाई पार गरेलगत्तै बिक्रेताको सक्रिय प्रदर्शनी बजारमा देखिएको थियो। २१ सय काट्ने बित्तिकै सामान्य नाफा बुक गरेर लगानीकर्ता बाहिरिएका थिए।

बुधबार यता कारोबारी तीन दिन मात्र नेप्से ४८ अंकले घटिसकेको छ। साेमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार बढीको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये बलेफि हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत नाफा कमाएका छन्। 

यस्तै मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्ध भूमी नेपालका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत भन्दा धेरै गुमाउका छन्। 
यस्तै आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड बढीको कारोबार भएको छ ।