सम्झनै पर्ने प्रथम महान गुरुहरु

सम्झनै पर्ने प्रथम महान गुरुहरु

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  जेठ १०, २०७६

‘बालबालिकालाई शिक्षा दिने शिक्षक केवल बालबालिकालाई जन्म मात्रै दिने अभिभावकभन्दा बढी सम्मान पाउन योग्य छन् । यस्ता अभिभावकले खाली जीवन मात्र प्रदान गरेका छन् भने शिक्षकले एउटा असल जीवन सुनिश्चित गरेका छन्,’ एरिस्टोटलको यो भनाई निकै मर्मस्पर्र्शी छ ।

यसबाट पनि के स्पष्ट हुन्छ भने देशमा असल नागरिक तयार गर्ने प्रमुख भूमिका अर्थात् हात ‘गुरु’हरूको हुन्छ । विश्वमा गुरुको उच्च सम्मान गर्ने प्रचलन पनि छ । पूर्वीय मान्यताले त झन् गुरुलाई देवता समानको सम्मान दिएको पाइन्छ । यो आलेखमार्फत् नेपालमा विद्यालय र महाविद्यालयको स्थापना तथा संस्थागत विकासमा उल्लेखनीय योगदान गरी शिक्षाको उज्यालो फैलाउने केही महान गुरुको सम्झना र सम्मान स्वरूप तयार गरिएको छ । 

जनस्तरबाट संचालित पहिलो पाठशालाका संस्थापक बालागुरु 

भोजपुरको उत्तरी भेग दिङलामा जन्मेका बालागुरु षडानन्द अधिकारी (वि.सं १८९२–१९६६) आठ वर्षको उमेरमा व्रतबन्ध भएपछि तीर्थयात्रीहरूसँगै ज्ञानको खोजीमा जनकपुरतिर लागेका थिए । उनले जनकपुरको ब्रह्मचर्याश्रममा रहेर गुरुकूल प्रणालीमा १० वर्षसम्म संस्कृत भाषा र व्याकरणको अध्ययन गरेको पाइन्छ । त्यसपछि भारतको बनारस गएर गीता, कर्मकाण्ड, ज्योतिष, वेद र उपनिषद्को अध्ययन पूरा गरे । विद्या आर्जन गरेपछि अधिकारीलाई आफ्नै जन्मस्थानमा गई सेवा गर्ने इच्छा जाग्यो । फलस्वरूप उनले वि.सं. १९३२ चैत रामनवमीको दिन स्थानीय जनताको सहभागितामा दिङलाको कैलाशमा नर्मदेश्वर शिव मन्दिर र पाठशालाको निर्माण गरी सेवा प्रारम्भ गरेका थिए । सुरुका केही वर्षमा बालागुरु आफैले समेत पढाएका थिए । यसअघि नै सरकारी पहलमा पाठशाला स्थापना भइसकेको भए पनि बालागुरुद्वारा स्थापित विद्यालयलाई जनस्तरबाट संचालित नेपालकै पहिलो विद्यालयको रूपमा मानिन्छ । यो विद्यालय हाल षडानन्द संस्कृत माध्यमिक विद्यालयको रूपमा सञ्चालित छ भने दिङलामै षडानन्द माध्यमिक विद्यालय र षडानन्द क्याम्पस पनि सञ्चालनमा छन् । आबाल ब्रह्मचारी बालागुरुको पढाईप्रतिको मोहले सबैका लागि प्रेरणाको स्रोतको रूपमा रहँदै आएको छ । आफ्नो जन्मथलोमा जनस्तरबाट पहिलो विद्यालय खोलेर शैक्षिक ज्योति फैलाउने बालागुरुको योगदान ज्यादै सह्रानीय छ । बालागुरुको सम्मानमा भोजपुरमा षडानन्द नगरपालिकाको नामकरणसमेत गरिएको छ ।

मानवतावादी गुरु तथा पहिलो नेपाली पाठ्यपुस्तक लेखक 

बझाङमा जन्मेका जयपृथ्वीबहादुर सिंहलाई (वि.सं. १९३४–१९९७) बझाङमा विद्यालय नभएकाले आठ वर्षको उमेरमा काठमाडौं लगिएको थियो । उनले प्राथमिक र माध्यमिक तहको अध्ययन क्रमशः थापाथली दरबार पाठशाला र दरबार हाइस्कुलमा गरेका थिए । त्यसपछि वि.सं. १९५१ सालमा भारतको कलकत्ताबाट प्रवेशिका (म्याट्रिक) उत्तीर्ण गरे । उनले भारतकै इलाहावाद कलेजबाट वि.सं. १९५२ मा आइ.ए. र वि.सं. १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक गरेको पाइन्छ । स्वाध्यायनमा बढी चाख राख्ने उनले कानुनका अतिरिक्त दर्शनशास्त्र, राजनीतिशास्त्र, साहित्य र समाजशास्त्रमा समेत ज्ञान हासिल गरेको देखिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाका छोरीपट्टिका नाति जयपृथ्वीलाई काठमाडौंमा अध्ययनरत भएकै समयमा वि.सं. १९४७ सालमा बझाङको राजा घोषित गरिएको थियो । 

प्रवेशिका पास गरेकै साल उनको चन्द्रसमशेर जंगबहादुर राणाकी छोरी खगेश्वरी राणासँग बिहे भएको थियो । यसरी जंगबहादुर राणाका छोरीपट्टिका नाति भएका नाताले काठमाडौं पढ्न गएका जयपृथ्वी चन्द्रशम्शेरको छोरी–ज्वाइँ र बझाङी राजा बनेर २१ वर्षको भएपछि मात्रै बझाङ फर्किएका थिए । २५ वर्षसम्म बझाङी राजाको भूमिकामा रहेपछि उनले आफ्नो राजापदवी बाबुलाई नै सुम्पेर ७ वर्षसम्म (वि.सं. १९७३–१९७९) भारतको देहरादुन र नैनीतालमा रहेर प्रख्यात पुस्तक ‘मानवतावाद’ लेखेका थिए, जसलाई दर्शनसम्बन्धी नेपालकै पहिलो पुस्तक मानिन्छ । उनले मानवतावादको विषयमा संसारका धेरै मुलुकमा भ्रमण गरेर प्रवचनसमेत दिएका थिए । वि.सं. १९७९ मा उनका बाबु राजा विक्रमबहादुर सिंहको निधन भएकाले उनी नेपाल आए । आफ्ना कान्छा भाइलाई राजा पदवी हस्तान्तरण गरेर वि.सं. १९८० देखि फेरि भारतको बैंगलोर गए । पढेलेखेका युवा राजाले शिक्षा, स्वास्थ्य, कानुन, न्याय, मानव अधिकार, उद्योग, भूमिसुधारको क्षेत्रमा निकै सुधार गर्नुका साथै घोडेटा बाटा तथा धर्मशाला निर्माणमा पनि निकै पहल गरेका थिए ।

उनको पहलमा वि.सं. १९६३ मा नक्सालस्थित आफ्नो दरबारमा सत्यवादी प्राथमिक पाठशालाको स्थापना गरी आफै प्रधानाध्यापकसमेत भए । उक्त पाठशालामा बझाङबाट समेत आठ दलित र अन्य जातिका विद्यार्थी झिकाई पढाउने व्यवस्थासमेत मिलाएका थिए । वि.सं. १९७० मा उक्त सत्यवादी पाठशालालाई बझाङ सारिएको थियो । गोपीनाथ शर्माले आफ्नो पुस्तक ‘नेपालमा शिक्षाको इतिहास’मा उल्लेख गरे अनुसार नेपालको पहिलो पाठ्यपुस्तक लेख्ने व्यक्ति जयपृथ्वी नै हुन् । उनले वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देवशमशेरको आदेश अनुसार ४२ पेजको ‘अक्षरांक’ शिक्षा नामक पुस्तक लेखेका थिए । काठमाडौं उपत्यकामा खुलेका पाठशालामा पाठ्यपुस्तकको रूपमा प्रयोग गरिएको सो पुस्तकको प्रकाशन ११३ दिनमै देवशमशेरलाई पदच्यूत गरी प्रधानमन्त्री बनेका उनका आफ्नै ससुरा चन्द्रशमशेरले बन्द गरिदिएका थिए । जयपृथ्वीले कोशिश गर्दा गर्दै पनि चन्द्रशमशेरले त्यो निर्णयलाई रोक्न सकेनन् । उनले वि.सं. १९६९ मा प्राकृत व्याकरण लेखे, जुन नेपाली भाषामा लेखिएको पहिलो व्याकरण हो । पहिलो व्याकरणकार तथा पाठ्यपुस्तक लेखक जयपृथ्वीले शिक्षकको भूमिका सम्बन्धमा स्पष्ट गरेका छन्, ‘शिक्षकले आफूलाई विशिष्ट अद्यापकका रूपमा होइन, सहशिक्षार्थीका रूपमा राख्नुपर्छ, कठोर प्रशाशकका रूपमा होइन, विद्यार्थीको असल र भरपर्दाे साथीका रूपमा राख्नुपर्छ । वास्तविक शिक्षक वा अध्यापक त्यही हो, जो विद्यार्थी सँगै पढ्छ, रमाउँछ र मनोरञ्जनको शैलीमा सिक्छ र सिकाउँछ पनि ।’ 
जयपृथ्वी एक मानवतावादी गुरु र शिक्षाका प्रखर सुधारक हुन् । उनी एक अग्रणी लेखक पनि थिए । उनका डेढ दर्जन पुस्तक प्रकाशित रहेका छन् । जयपृथ्वीको सम्मानमा उनको जन्मथलो बझाङमा साविकका पाँच गाविस चैनपुर, रिठापाटा, सुबेडा, हेमन्तवाडा र लुयाटालाई मिलाएर जयपृथ्वी नगरपालिका नामाकरणसमेत गरिएको छ ।

पहिलो नेपाली हेडमास्टर तथा कर्मवीर उपकुलपति 

नेपालमा औपचारिक रूपमा आधुनिक शिक्षाको शुरुवात वि.सं. १९१० मा दरबार स्कुल खुलेपछि भएको मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर बेलायतबाट फर्केको तीन वर्षपछि दरवारियाका लागि मात्र खुलेको स्कुललाई माध्यमिक तह सञ्चालन गर्न २२ वर्ष लागेको थियो । कहिले थापाथली दरबार त कहिले सेतो दरबारमा सञ्चालन हुँदै यो स्कुल वि.सं. १९४८ मा मात्र रानीपोखरीस्थित हालको स्थानमा सारिएको थियो । लगातार ६२ वर्षसम्म भारतीय हेडमास्टर रहेको दरबार स्कुलमा हेडमास्टर हुने पहिलो नेपाली हुन्– सरदार रुद्रराज पाण्डे (वि.सं. १९५७ –२०४३) । पाण्डेले माध्यमिक तहसम्म दरबार हाइस्कुलमा अध्ययन गरे पनि प्रवेशिका परीक्षा दिने सुविधा नेपालमा थिएन । त्यसैले उनले बडो कष्टपूर्वक कलकत्ता गएर प्रथम श्रेणीमा प्रवेशिका पास गरेका थिए । त्यसपछि भारतमै आई.ए. र बि.ए.सम्मको अध्ययन पूरा गरी इलाहावाद विश्वविद्यालयबाट इतिहासमा एम.ए. पास गरेर फर्कनेबित्तिकै पाण्डेले त्रिचन्द्र कलेजमा नियुक्ति पाएको पाइन्छ । त्यसको दुई वर्षपछि वि.सं. १९८२ मा बंगाली हेडमास्टर शारदाप्रसाद मुखर्जीको बिदाइ गरेपछि २५ वर्षको उमेरमै उनले त्यो जिम्मेवारी पाएका थिए । उनले त्रिचन्द्र कलेजमा प्राध्यापन र दरवार हाइस्कुलमा हेडमास्टरको जिम्मेवारीलाई सँगै अघि बढाएका थिए । प्रवेशिकाको परीक्षा दिन कलकत्ता जाँदाको पीडा आफैले भोगेका पाण्डेले नेपालमै एसएलसी बोर्ड स्थापना गरी परीक्षा सञ्चालन गर्ने व्यवस्थाको लागि अथक प्रयास गरे र यसमा उनी सफल पनि भएको पाइन्छ । वि.सं. १९९४ देखि लगातार १३ वर्ष त्रिचन्द्र क्याम्पसको प्राचार्यको रूपमा काम गर्दा उनले स्नातक तहसम्म विज्ञानको पढाई हुने व्यवस्था मिलाएका थिए । वि.सं. २००८ सालमा शिक्षा मन्त्रालयका सचिव भएका पाण्डेले २०१० मा पुरातत्व विभागको निर्देशक भएकै बेला शिक्षा समितिको सभापति र नेपाल राष्ट्रिय शिक्षा आयोगको अध्यक्षको भूमिका समेत निर्वाह गरे । उनको नेतृत्वको शिक्षा आयोगले सर्वव्यापी, निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा, पठनपाठनको माध्यम नेपाली र एउटा राष्ट्रिय विश्वविद्यालयको स्थापना हुनुपर्ने सुझाव दिएको थियो । त्यो आज पनि त्यत्तिकै सान्दर्भिक छ । 

स्थापना भएको पाँच वर्षपश्चात वि.सं. २०२१ सालमा पाण्डे त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति भएका पाण्डेले लगातार पाँच वर्षसम्म नेतृत्व गरे । आफ्नो कार्यकालमा त्रिविका केन्द्रीय कार्यालयलाई त्रिपुरेश्वरबाट र केन्द्रीय पुस्तकालयलाई लालदरबारबाट कीर्तिपुर सार्ने, त्रिविअन्तर्गत आर्थिक विकास तथा प्रशासन केन्द्र र एसियाली विकास केन्द्रको स्थापना गर्ने, विश्वविद्यालय हाताभित्र भवन, छात्रावास र सडक निर्माण गर्ने र विद्यार्थीको लागि पदक र पुरस्कारको व्यवस्थाजस्ता महत्वपूर्ण कार्य गरे । उनलाई एक कर्मवीर उपकुलपतिको रूपमा लिने गरिएको छ । साथै उनी एक प्रतिष्ठित साहित्यकार र इतिहासकार पनि हुन् । उनका साहित्य र इतिहासको क्षेत्रमा १८ कृति प्रकशित भएका छन् । सरदार पाण्डेद्वारा लिखित नेपालकै पहिलो सामाजिक उपन्यास ‘रूपमती’ २५ संस्करण प्रकाशित हुनुका साथै अंग्रेजी र उर्दू भाषामा पनि अनुवाद गरेर छापिएका छन् ।

स्नातकोत्तर तह सुरु गर्ने पहिलो प्राचार्य  

शंकरदेव पन्त (वि.सं. १९६६–२०३०) ले दरबार हाइस्कुलबाट प्रवेशिका र त्रिचन्द्र कलेजबाट आइ.ए. र बि.ए. उत्तीर्ण गरी पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरेका थिए । भारतमा उच्च शिक्षा हासिल गर्दा कवि रविन्द्रनाथ टैगोरको ‘मेरो विद्यालय’नामक निबन्धबाट निकै प्रभावित भएका पन्तले बालिका र महिलाको लागि एउटा छुट्टै कलेज स्थापना गर्न कम्मर कस्ने सोच बनाएका थिए । नेपालमा प्रजातन्त्रको उदय हुनेबित्तिकै समाजसेवातर्फ आफू अग्रसर हुने अभिलाषाका साथ उनले बालिका र महिला कलेज खोल्ने जमर्काे गरे । तर, त्यो सम्भव हुन सकेन । त्यसपछि वि.सं. २००८ मा उनले रानीपोखरीस्थित दरबार हाइस्कुलको तल्लो तलाको तीन कोठामा आफ्नो व्यक्तिगत लगानीमा नेपाल नेसनल कलेज स्थापना गरे । वि.सं. २०११ मा आफ्ना तीन सहयोगीको साथ लिएर उनले नेपालमै पहिलो पटक स्नातकोत्तर तहको पढाई सुरु गरेका थिए । दुई वर्षपछि त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह सुरु भएपश्चात सो कलेजको स्नातकोत्तर तहलाई बन्द गरिएको थियो । उनको देहावशानपछि उक्त कलेजलाई शंकरदेव नामाकरण गरिएको हो । त्यस्तै पन्तले पद्मोदय हाइस्कुल, रत्नराज्य बालिका विद्यालय र विजय मेमोरियल स्कुल स्थापना गर्नको लागि पनि महत्वपूर्ण सहयोग गरेका थिए । 

नेसनल कलेजमै रसायनशास्त्र विषय अध्यापन गर्दै शंकरदेव पन्तको मिसनमा सक्दो सहयोग पुर्‍याउने काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् डा. सुरेशराज शर्मा भन्नुहुन्छ– २००७ सालभन्दा धेरै अघि अंग्रेजीमा एम.ए. पास गर्ने पन्तका लागि त्यसताका कति अवसर थिए होलान् । न उहाँले कुनै प्रशाशनिक, कुटनीतिक वा राजनीतिक पदको चाहना गर्नुभयो, न आर्थिक कमाइ गर्ने विचार नै । उहाँले त सरकारी सेवा गर्दै नगर्ने र शिक्षामा स्वतन्त्र भएर काम गर्ने अडान आजीवन लिनुभयो ।’ 

नेपालीका अतिरिक्त अंग्रेजी, संस्कृत, हिन्दी, उर्दू, फारसी र बंगाली भाषामा दख्खल राख्ने पन्तले आफूले स्थापना गरेको कलेजमा उनले जीवन पर्यन्त–वि.सं. २०३०) प्राचार्यको रूपमा सेवा गरे । वि.सं. २०२३ मा राजा महेन्द्रले गोरखा दक्षिणबाहु पदक प्रदान गर्न लाग्दा ‘मैले त्यति ठूलो योगदान अझै गरिसकेको छैन’ भन्दै लिन इन्कार गरेर उनी निकै चर्चित भएका थिए किनकि त्यसअघि कसैले उक्त पदक बहिष्कार गरेको थिएन ।