भ्याली भ्युका विद्यार्थी : आफ्नो नेतृत्व छान्न पनि स्वस्तिक चिह्नको छाप !

भ्याली भ्युका विद्यार्थी : आफ्नो नेतृत्व छान्न पनि स्वस्तिक चिह्नको छाप !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ ३०, २०७९

काठमाडौँ । मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले चार ओटा सदन अन्तर्गत नेतृत्वका लागि विद्यार्थीहरूलाई सहभागी गराएर निर्वाचनको अभ्यास सम्पन्न गरेको छ । सदनको नेतृत्वका लागि विद्यार्थीहरू सदन निर्वाचनको प्रक्रियामा सहभागी भएका हुन् । 

मुलुकमा भरखरै सम्पन्न भएको स्थानीय निर्वाचनको चर्चा राष्ट्रियरूपमा चलिरहेकै सन्दर्भमा विद्यार्थीहरू उमेदवार र मतदाता हुन पाउँदा उत्साहित देखिएका थिए ।  कक्षा ७ देखि १० सम्म अध्ययनरत् सम्पूर्ण विद्यार्थीहरू उक्त निर्वाचनमा सहभागी भएका थिए । 

निर्वाचन जेठ २७ गते शुक्रबारका दिन बिहान ११ बजेबाट सुरु भएर २:३० बजे सम्पन्न भएको थियो । यस कार्यका लागि विद्यालयले निर्वाचन आयोग समेत गठन गरेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप विभागका विभागीय प्रमुख सन्तोष चापागाईँको  आयुक्ततामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरूले लामबद्ध भएर उत्सुकताका साथ मतदान कार्यमा भाग लिएका थिए । विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले प्रतिनिधि उम्मेदवार विद्यार्थीलाई मतपत्र हस्तान्तरण गरेपछि मतदान आरम्भ भएको थियो । विद्यालयका शिक्षक श्री योगेन्द्र पौडेलले विद्यार्थी, शिक्षक एवम् प्रशासनिक शाखाका व्यक्तित्वहरूसँग मतदानको उत्साह, प्रक्रिया र अनुभवसँग सम्बन्धित सङ्क्षिप्त प्रतिक्रियासमेत लिPएका थिए ।

सामाजिक शिक्षाको प्रयोगात्मक अभ्यास कार्यमा सहभागी हुन पाउँदा र निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्दा नौलो अनुभव र उत्साहप्रद अनुभूति सँगाल्न पाएको कुरा कक्षा सातका विद्यार्थी दिप्सन खनालले बताए । विद्यालयका प्राचार्य ण्डारीले निर्वाचनको यस आयोजनाले विद्यार्थीमा प्रयोगात्मक ज्ञान र सिप अभिवृद्धि हुनुका साथै बालविकास र नेतृत्व विकासमा सहयोग पुर्‍याउने धारणा राख्दै शुभकामना प्रदान गरेका थिए ।

यस निर्वाचनबाट सदनका कप्तान, छात्र उपकप्तान र छात्रा उपकप्तानका लागि एक एकजना विद्यार्थी चयन गरिएको थियो । राष्ट्रिय निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्दै नामावली प्रकाशन, उमेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतदान, मतगणना, नतिजा घोषणा र सपथ ग्रहणका कार्यक्रमहरू पनि क्रमशः सम्पन्न गरिएको विद्यालय संयोजक कृष्णप्रसाद मैनालीले बताए । 

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख तथा सदस्यद्वय इची महर्जन र अजित महर्जनको सहभागितामा निर्वाचन सहजीकरण एवं सचेतना अभियान  सञ्चालन भएको थियो । हेलेन, नाइटिङ्गेल, पारिजात र टेरेसा गरी जम्मा ४ ओटा सदनबाट ३/३ जना गरी १२ जना विद्यार्थीले १ वर्ष अवधिका लागि आ–आफ्नो सदनको नेतृत्व गर्ने प्रावधान रहेको जानकारी विद्यालयका प्रमुख प्रशासक निरज साउदले दिए। भ्याली भ्यु स्कुलले यस किसिमको निर्वाचनको अभ्यास हरेक वर्ष आफ्ना विद्यार्थीलाई गराउँदै आएको छ ।