भारतमा कांग्रेस दोस्रो ठूलो पार्टी

भारतमा कांग्रेस दोस्रो ठूलो पार्टी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं । भारतमा सम्पन्न १७ औं लोकसभा निर्वाचनमा इण्डियन नेसनल कांग्रेस ५२ सिटमा विजयी भएर देशको दोस्रो ठूलो पार्टी बनेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले चुनाव लडेका दुई स्थानमध्ये केरलको वायनाड संसदीय क्षेत्रबाट भारी बहुमतले विजयी भएका छन् । तर, उत्तरप्रदेशको अमेठीबाट भने उनी पराजित भएका छन् ।

कांग्रेसले केरलका २० सिटमध्ये १५ सिटमा विजयी भएको छ । यहाँ भाजपाको खाता खुल्न सकेन । कांग्रेसलाई सफलता मिलेको अर्काे राज्य दक्षिण भारतको तमिलनाडु हो । यस राज्यका चुनाव भएका ३८ सिटमध्ये कांग्रेस ८ सिटमा विजयी भयो । यहाँ पनि भाजपाको खाता खुल्न सकेन ।

कांग्रेसलाई सफल बनाउने अर्काे राज्य उत्तर भारतको पञ्जाव राज्य हो । यहाँका १३ सिटमध्ये कांग्रेसले ८ मा विजय प्राप्त गरेको छ । भाजपाले यस राज्यबाट आफै २ सिट र उसका सहयोगीले २ सिट गरी ४ सिटमा विजयी भयो ।

कांग्रेसले उत्तर प्रदेशका ८० मध्ये १, मध्यप्रदेशका २९ मध्ये १, छत्तिसगढका ११ मध्ये २, झारखण्डका १४ मध्ये १, बिहारका ४० मध्ये १, अण्डमान निकोबारका १ मध्ये १, आसामका १४ मध्ये ३, गोवाका २ मध्ये १, कर्नाटकका २८ मध्ये १, मेघालयका २ मध्ये १, उडिसाका २१ मध्ये १, पांडिचेरीका १ मध्ये १, तेलांगानाको १७ मध्ये ३ र पश्चिम बंगालका ४२ मध्ये २ र महाराष्ट्रका ४८ मध्ये १ सिटमा विजयी भएको छ ।

हरियाणा, दिल्ली, उत्तराखण्ड, हिमाचल प्रदेश, जम्मू–काश्मिर, राजस्थान, अरुणाचल प्रदेश, आन्द्र प्रदेश, गुजरातलगायत राज्यबाट कांग्रेसले एक सिट पनि जित्न सकेन ।