संकटमा पाक अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव

संकटमा पाक अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव

एजेन्सी  |  विदेश  |  असार १, २०७९

पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा  छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ । देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटौती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । 

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थ व्यवस्था बचाउने प्रयास स्वरूप म देशलाई एक कप चिया कम गर्न अपिल गर्नेछु ।’

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठूलो जनसंख्या छ । पाकिस्तान अहिले ठूलो विपत्तिको किनारमा छ । आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको छ ।

पाकिस्तानको नयाँ सरकारले आगामी ३ वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ । 

अमेरिकी स्वार्थबमोजिम सरकार गठन भएको भन्दै पूर्वप्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन् । संसद्‌मा अविश्वसको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए ।