'एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैन'

'एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता गरेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो । 

देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य एमालेलाई स्वीकार्य नरहेको उनको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘सदनलाई, सरकारलाई, सिंगो देशलाई आग्रह गर्न चाहन्छु, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यो हुन दिँदैनौँ ।’ 

नेपालको सबै देशसँग मित्रता रहेको भन्दै उनले एसपीपी सम्झौताबारे सरकारले संसद्‌मा जबाफ दिनुपर्ने माग गरे । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति उल्लंघन हुने चेतावनी दिएका ज्ञवालीले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिंगो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन । कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदै छ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’

कुनै देशको रणनीतिको साझेदार बन्न्न सक्दैनौँ भन्न नसक्नेलाई सरकारमा बसिरहन नैतिक अधिकार पनि नरहेको उनको भनाइ छ ।