गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बाग्मतीले थप्यो ५ करोड

गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बाग्मतीले थप्यो ५ करोड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २, २०७९

धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।

आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

बाग्मती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । बाग्मतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेटमा  ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुट्याएको छु’ भनिएको छ । यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।

३ अर्ब रुपैयाँ लागत रहेको यस रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो ।