'हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन्, हाम्रै भित्रबाट शकुनिहरू निस्किए'

'हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन्, हाम्रै भित्रबाट शकुनिहरू निस्किए'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै शकुनिहरूका कारण धेरै पालिकामा हार बेहोर्नुपरेको बताएका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार बेहोर्नुपरेको जनाए । 

‘हामी निराश हुनुपर्ने स्थिति छैन । अनेक प्रतिकूलताका बीच हामीले जित्यौँ', अध्यक्ष ओलीले भने, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट शकुनिहरू निस्किए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’ 

स्थानीय चुनावको परिणामको समीक्षा गर्दै उनले एमालेको स्थिति कमजोर नभएको दाबी गरे । ५ दलीय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए । 

‘तपाईँहरू  पार्टीको कार्यकर्ता हो । तपाईँहरूको काममार्फत अब जनताले पार्टी हेर्छन् । त्यसैले अनुकूल हुँदा मात्र होइन, प्रतिकूल हुँदा पनि निष्ठावान् कार्यकर्ता भएर देखाउनुहोस्', उनले भने ।