विद्रोह, असन्तुष्टि, आक्रोश, कुण्ठा, असहमति र निराशाको सम्मिश्रण शान्तिको ‘सपनाको समाधि’

विद्रोह, असन्तुष्टि, आक्रोश, कुण्ठा, असहमति र निराशाको सम्मिश्रण शान्तिको ‘सपनाको समाधि’

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ४, २०७९

‘समाधि’का अनेक अर्थ छन् । सांसारिक मोहबाट मुक्त अर्थात् सहज मृत्युवरणसम्मका अर्थमा समाधिको प्रयोग हुन्छ । तर, समाधि अनेकार्थी शब्द हो । कुनै पनि जञ्जालबाट मुक्तिको अवस्था, योग साधनाको आठौँ अवस्थालाई पनि समाधि भनिएको पाइन्छ ।

यहाँ स्रष्टा शान्ति शर्माको कविता कृति ‘सपनाको समाधि’बारे छोटो चर्चा गर्न खोजिएकाले उक्त कृतिमा संगृहीत कवितामा अभिव्यक्त समाधिमाथि मात्र केन्द्रित हुनु उपयुक्त हुनेछ ।

२०७८ सालमा साझा प्रकाशनबाट प्रकाशित ‘सपनाको समाधि’ शान्ति शर्माको तेस्रो साहित्यिक कृति हो । यसअघि उनका ‘अम्लान फूल’, २०७४ गजल कृति र ‘बार्दलीमा जून’, २०७६ मुक्तक कृति बजारमा आइसकेका छन् । गीत लेखनमा पनि उत्तिकै सक्रिय शर्मा सुन्दर लेखन कलाका साथै मधुर वाचन, गायन कला पनि भएकी स्रष्टा हुन् ।

जीवनको शृंगारिक पक्ष अर्थात् प्रणयलाई केन्द्रमा राखेर रचना गर्न रुचाउने शर्माका रचनामा समसामयिक सिर्जनाभित्र पनि प्रणय, प्रेम वा शृंगारको पुट पसिसकेको हुन्छ । यो उनको भिन्नै वैशिष्ट्य पनि हो ।

यस कविताकृतिभित्रका ४७ वटा रचनामा कवि शर्माले जीवनका अनेक पक्ष र कोण प्रस्तुत गरेकी छन् । कृतिको नाम ‘सपनाको समाधि’ अर्थात् यस कृतिलाई मात्र लिँदा सपनाको विश्राम वा अन्त्यको अर्थमा राखिए पनि यस कृतिभित्रका रचनाले शान्तिको सपनाको अन्त्य गर्दैनन् बरु झन्झन् ऊर्जाशील बनाएर सपना देख्नेलाई नयाँ सोच, विचार र मार्गमा हिँड्न प्रेरित गर्छन् ।

साहित्य र कलाको आशय पर्गेल्ने काम सजिलो होइन । शान्तिका रचनाको आशय पनि यस्तै जटिल बनेकाले होला, झट्ट पढ्दा कस्तो निराशावादी, कस्तो असन्तुष्टिको चाङ मात्र, कस्तो गनगन लेखेको ?

‘लेभल अफ पर्सेप्सन’ अर्थात् बुझाइको तह भन्ने कुरा बडो अनौठो हुन्छ । व्यक्तिको बुझाइको तहअनुसार नै उसले कुनै पनि कुरालाई बोध र ग्रहण गर्छ । एउटा डकैतीको घटनालाई आपराधिक वृत्तिको मानिसले डकैती गर्ने नयाँ ‘आइडिया’का रूपमा बुझ्छ भने त्यही घटनालाई सही मान्छेले डकैतीबाट कसरी जोगिने भन्ने कोणबाट बुझ्छ ।

यसरी नै लागुपदार्थ दुव्र्यसनीको संगतमा रहनेमध्ये उस्तै बुझाइको तह भएकाले लागुऔषध सेवनमा आकर्षित हुन्छ भने अर्को बुझाइको व्यक्ति त्यसबाट दूर हुन्छ ।

यही बुझाइका विभिन्न तहमा कुनै पनि विषय, सन्दर्भ वा घटनालाई हेर्नुपर्छ ।

यसरी हेर्दा कवि शान्ति शर्माका कवितामा विद्रोह, असन्तुष्टि, आक्रोश, कुण्ठा, अ सहमति र निराशा व्यापक रूपमा प्रस्तुत भएको छ । विगतमा देखिएका सुन्दर सपनाहरूले मूर्त रूप लिन नसकेका, उसैउसै लल्याकलुलुक बनेका, सिथिल भएका भन्ने अर्थमा पुस्तकको नाम ‘सपनाको समाधि’ राखिए पनि कृतिभित्रका कविता त्यतिमा सीमित छैनन् ।

निराशाभित्र आशाको संचार गर्ने, पीडामा खुसीको आस देखाउने, अन्धकारमा उज्यालो खोज्न प्रेरित गर्ने भाव र सन्दर्भका रचना यस संग्रहमा छन् ।

मानिसको जीवनको क्षणभंगुरताबारे प्रस्ट हुँदै जीवनभित्रै गर्नुपर्ने काम र कर्तव्यको बोधसहित ऊर्जाशील र आशावादी जीवन बाँच्न प्रेरित गर्ने खालका सिर्जना शान्तिको यस कृतिमा पाइन्छन् । साहित्य र कलाको आशय पर्गेल्ने काम सजिलो होइन । शान्तिका रचनाको आशय पनि यस्तै जटिल बनेकाले होला, झट्ट पढ्दा कस्तो निराशावादी, कस्तो असन्तुष्टिको चाङ मात्र, कस्तो गनगन लेखेको ? भन्ने लाग्न सक्छ पाठकलाई ।

तर, यिनै निराशा, असन्तुष्टि र गनगनभित्रका विद्रोह, आशा, उत्साह र नयाँ चिजको, नयाँ र समृद्ध समाजको चाह, खोजी र क्रान्तिको अपेक्षा भने पाठकको बोधगम्यतामा भरपर्ने कुरा हो ।

यो छोटो पाठकीय टिप्पणीमा ११२ पेजमा संगृहीत झन्डै ४ दर्जन कवितालाई समेट्न सकिँदैन । तर, शान्तिको कविता सिर्जनाका केही सन्दर्भ भने लोभलाग्दा होइन, इष्र्यालाग्दा पनि लागे । जस्तो कि हामी आमनेपालीले जन्मे, हुर्के र बाँचेका पहाड, पाखा, पखेराका सुन्दर गाम्ले शब्दहरू, त्यहाँको प्राकृतिक लवज, सौन्दर्य र आममान्छेका चित्र शब्दमार्फत कति सुन्दर तरिकाले प्रस्तुत गरेकी छन् ।

क्या बान्किला शब्दजाल ! क्या पोटिला शब्दपुञ्ज ! क्या परिपक्व शब्दकला शान्तिको ! जीवन, जगत् र प्रकृतिलाई शब्दका सुन्दर मालामा मुलायम शिल्पको धागोले उन्ने खुबी पनि प्रशंसायोग्य नै लाग्छ ।

साझा प्रकाशनले छापेको ‘सपनाको समाधि’को मूल्य २३० रुपैयाँ छ ।