मेलम्ची बाढीको १ वर्ष : कता हराए २० जना ? पुनर्निर्माण र पुनर्स्थापना कहिले ?

मेलम्ची बाढीको १ वर्ष : कता हराए २० जना ? पुनर्निर्माण र पुनर्स्थापना कहिले ?

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३, २०७९

१ असार २०७८ मा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्‍यो । बाढीमा परी मृत्यु भएका ५ जनाको शव भेटिएको छ भने २० जना अझै बेपत्ता छन् ।

सिन्धुपाल्चोकको भ्रेमाथाङबाट आएको  बाढीले हेलम्बु गाउँपालिकाको तिम्बुदेखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी हुँदै सिपाघाटसम्म ठूलो मात्रामा क्षति पुर्‍यायो । अर्बौँ रुपैयाँको भौतिक संरचना र खेतीयोग्य जमिन बगरमा परिणत भयो ।

बाढी गएको १ वर्ष पुगेको छ । मेलम्ची र हेलम्बुबासीले पीडा खेपेको यतिको समय बितिसक्दा संघीय सरकारले भने मेलम्चीको पुनर्निर्माणमा र पुनर्स्थापनामा कुनै चासो दिएको छैन ।

सरकार सुरुदेखि नै मेलम्ची र हेलम्बुबासीको पीडामा कसरी मह्लम लगाउने भन्दा पनि मेलम्चीको पानी काठमाडौं पुर्‍याएर कसरी नाम कमाउने भन्ने दाउमा लाग्यो । फल स्वरूप हालसम्म पनि मेलम्चीका नागरिकले आनन्दको स्वास फेर्न सकेका छैनन् । पुनर्निर्माण र पुनर्स्थापनाको त परको कुरा ।

मेलम्ची खानेपानी आयोजना थिएन भने हेलम्बु गाउँपालिकाको चनौटेमा हालसम्म पनि पुल बन्ने थिएन । हेलम्बुका सागर लामिछाने भन्नुहुन्छ, 'मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौं पुर्‍याउनका निमित्त मर्मतका लागि आवश्यक सामग्री लैजान बाध्य भएर पुल बनाइयो ।'

नत्र अहिलेपनि हेलम्बुको तिम्बु र चनौटे क्षेत्र सडक संजालबाट टाढा हुने उहाँको तर्क छ । 'मेलम्ची नगरपालिका हुदैँ पाँचपोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिका र सदरमुकाम चौतारा जोड्ने पुल आजसम्म किन निर्माण गर्न नसकेको त सरकारले ?', लामिछानेको प्रश्न थियो ।

बाढी पछि सरकारी बजेट नपाएकाले मेलम्चीबासी आफैँले स्थानीय र विभिन्न सहयोगीहरूमार्फत मेलम्चीमा पुरिएका घरहरू र सडकहरू खोतलेर बस्न लायक बनाउनतर्फ लागे । सरोकार समिति नै गठन गरेर मेलम्चीबासीले स्थानीय सरकार र केन्द्रीय सरकारप्रति आशा मरेको भन्दै आफ्नो घर आफैँ जोगाऔँ भन्ने अभियानमा लागे ।

बाढीले घरमा पुरेको बालुका निकाले, ढुंगा, मुढाहरू पन्छाए । केही महिनापछि पुरानै अवस्थामा बस्न थाले । तर, बाढीको डरले भने राम्रोसँग अझै पनि रात कटाउन सकेका छैनन् । बाढीले सबै गुमेपछि मेलम्चीका केही स्थानीयले थातथलो नै छाडेर हिँडेँ ।

नदी तटीय क्षेत्रका स्थानीयहरू हालसम्म पनि त्रासमै बसिरहेका छन् । मौसमविद्ले यस वर्ष अझै धेरै वर्षा हुने भन्दै विभिन्न संचार माध्यममा दिएको अभिव्यक्तिले मेलम्चीबासी झनै त्रसित बनेका छन् ।

हेलम्बु र मेलम्चीका बासिन्दाहरू कतिबेला फेरि बाढी आएर बाँकी भएका भौतिक सम्पत्तिको पनि उठिबास लगाउने हो भन्ने त्रासमा त्राहिमाम छन् ।

स्थानीय सरकारले अहिले बाढी बजार क्षेत्रमा नपसोस् भनेर नदीलाई पुरानै अवस्थामा लैजान दिनरात नदीमा स्काभेटर लगाइरहेको छ । मेलम्ची बजारलाई प्राकृतिक विपत्ति तथा अकल्पित क्षतिबाट थोरै भए पनि जोगाउन स्थानीय सरकार लागिरहेको छ । तर, नागरिकको स्थायी पुनर्बासको तथा पुललगायतका भौतिक निर्माणमा भने नगरपालिका हालसम्म पनि बेखबर छ ।

नदी क्षेत्रमा तटबन्धन नलगाउने हो भने कुनै पनि बेला आएको बाढीले मेलम्ची क्षेत्रमा थप क्षति पुर्‍याउन सक्छ । मेलम्ची बजार संरक्षकका लागि न संघीय सरकारले कुनै बजेट विनियोजन गरेको छ, न त स्थानीय सरकारले पहलकदमी नै लिएको छ ।

बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची हुँदै सदरमुकाम चौतारा, पाँचपोखरी र इन्द्रावती जाने पक्की पुल बगायो । बर्खा सकिएपछि सडक ह्युम पाइप राखेर सडक संजाल जोडिएको भए पनि वर्षासँगै आएको बाढीका कारण अहिले सो ह्युम पाइप झिकिएको छ ।

सडक संजाल टुटेपछि अहिले मेलम्ची नगरपालिका- ९, १० वडा र पाँचपोखरी र इन्द्रावती गाउँपालिकाका स्थानीयले जोखिमपूर्ण यात्रा गुर्नपरेको छ । वैकल्पिक रूपमा रहेको बाहुनेपाटी, संजेलटार बगुवाको बाटो पनि पूर्ण रूपमा मर्मत हुन सकेको छैन ।

बाढीमा अझै बेपत्ता

बाढीले २ भारतीय नागरिक १ चिनियाँ नागरिकसहित १७ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएका २ जना चिनियाँ नागरिक १ जना भारतीय र २ जना नेपाली नागरिक गरी ५ जनाको शव भेटिएको थियो ।

बाँकी २० जनाको अझै अत्तोपत्तो छैन । परिवारले पनि उनीहरू फेला पर्ने आशा मारिसकेका छन् ।

बाढीबाट कति क्षति भयो ?

मेलम्ची र हेलम्बु गाउँपालिकाको तथ्यांकअनुसार बाढीले मेलम्ची नगरपालिकाभित्र २४२ र हेलम्बु गाउँपालिकाको ३०८ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार १ असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको कार्यालय मेलम्चीमा रहेको ब्लकको १८ वटा भवन, २ वटा ट्रस्ट, टोयटाको हाइलक्स गाडीसहित विभिन्न मेसिनरी सामग्रीहरूमा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।

बाढीले ठूलो मात्रामा गेग्रान थुपारेर मेलम्ची खानेपानी आयोजनाको अम्बाथानको प्रमुख द्वार नै पुरेको थियो । खानेपानी मन्त्रालयले काठमाडौंमा खानेपानी ल्याउनका लागि ती गेग्रान हटाउनका लागि करिब ८० करोड रुपैयाँ खर्च गरेको छ । स्थानीय बासिन्दा सुरुङको प्रवेशद्वारमा ८० करोड रुपैयाँको लागतमा गेग्रान हटाइएको कुरो सुनेर चकित छन् ।

त्यस्तै, बाढीले मेलम्चीका २ वटा झोलुंगे पुल र २ वटा पक्की पुल बगायो । मेलम्ची नगरपालिका- ६ स्थित तालामाराङमा रहेको तेर्से माविको एउटा भवनमा क्षति पुर्‍यायो ।

मेलम्ची- ११ मा रहेको बंगुर फर्म, माछा फर्म, भैँसी फर्म, २ वटा गोठ र मेलम्ची- ६ मा विभिन्न व्यक्तिका गरी २८ वटा गोठ कटेरा बगाएको थियो ।  विभिन्न व्यापार व्यवसाय गरेर बसेका स्थानीयको धेरै व्यवसाय बाढीले तहसनहस बनायो ।

त्यस्तै, हेलम्बु गाउँपालिकामा रहेका ७ वटा झोलुंगे पुलमध्ये एउटा बगायो भने बाँकी ६ वटामा क्षति पुर्‍याएको थियो । ६ वटा पक्की पुल बाढीले तहसनहस बनायो । ८ वटा माछा फर्म र इप्रका हेलम्बुलगायत धेरै घरहरू बाढीले बगायो ।

मेलम्चीमा मात्र व्यक्तिगत १ हजार ८८२ रोपनी र सार्वजनिक १ हजार २०० रोपनी गरी ३ हजार ८२ रोपनी जग्गा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । हेलम्बुमा पनि २ हजार १०० रोपनी खेतियोग्य जमिन बाढीले पूर्ण रूपमा ध्वस्त पारेको थियो ।

राहत र खर्च ?

बाढीपछि मेलम्ची र हेलम्बु गाउँपालिकाको स्थानीयलाई राहत स्वरूप विभिन्न पालिका, विभिन्न संघसंस्था र व्यक्तिहरूले आर्थिक सहयोग गरे । हेलम्बु र मेलम्ची नगरपालिकाको बैँक खातामा ती सहयोगी संस्थाहरूले पीडितलाई खाद्यान्न तथा पुनर्वासका लागि भन्दै राहत रकम जम्मा गरिदिए ।

राहत स्वरूप हेलम्बु गाउँपालिकाले गत पुस महिनासम्ममा ४ करोड ४४ लाख ४१ हजार ९४९ रुपैयाँ पाएको छ ।

गाउँपालिकाका अनुसार उक्त रकम राहत वितरण तथा सडक मर्मतका लागि खर्च भयो । सडक निर्माणका लागि चाहिने सामग्री ढुवानी, हल तथा भवनको प्रयोगलगायतको खर्च देखाएर ३८ लाख २३ हजार रुपैयाँ मौज्दात रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै, मेलम्ची नगरपालिकाको राहत कोषमा ६ करोड ९४ लाख १५ हजार ६९५ रुपैयाँ जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ, जसमध्ये १०० पीडित घरधुरीलाई १० हजार रुपैयाँको दरले राहत वितरण गरेको साथै नदी नियन्त्रणका लागि भएको खर्च तथा विभिन्न खर्च गरी ६ करोड ३८ लाख १८ हजार ७५७ रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

हाल नगरपालिकाले ५ वटा उपभोक्ता समिति गठन गरेर मेलम्ची बजार क्षेत्रको ५ ठाउँमा नदी नियन्त्रणका काम भइरहेको जानकारी दिएको हो । प्रतिउपभोक्ता समिति ५० लाख रुपैयाँको दरले नदी तथा तटीय क्षेत्रको सुरक्षाका लागि उपभोक्ता समितिमार्फत काम भइरहेको नगरपालिकाले जनाएको छ ।

पीडितले के पाए ?

मेलम्ची नगरपालिकाले नगरभित्रका वडा नं.- ६, ७, १०, ११, १२ का पीडित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँको दरले राहत स्वरूपको रकम उपलब्ध गराएको थियो ।

त्यस्तै, हेलम्बु गाउँपालिकाले खाद्यान्नका लागि भन्दै प्रति पीडित परिवार १ बोरा चामल र एउटा त्रिपाल बाँडेको थियो ।

पीडित परिवारको स्थायी बासस्थानका लागि हेलम्बु गाउँपालिकाको १० प्रतिशत, प्रदेश तथा संघीय सरकारबाट ९० प्रतिशतको अनुदानमा निर्माण गर्ने तयारी छ ।

तस्बीरः आदित्य दाहाल

स्रोत: आईएनएस-स्वतन्त्र समाचार