गोबर लेपिएको कार

गोबर लेपिएको कार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

तपाईँ आफ्नो कारमा गर्मीबाट जोगिनका लागि के गर्नुहुन्छ ? तपाईँको सिधा उत्तर हुनसक्छ एसी चलाउँछु । तर भारतको अहमदाबादको एक महिलाले आफ्नो कारमा गर्मीबाट जोगिनका लागि भने गाईको गोबरको प्रयोग गरेकी छन् । 

काठमाडौं, एजेन्सी । भारत अहमदाबादकी एक महिलाले सोशल मिडियामा आफ्नो कारको फोटो पोस्ट गरिन । महिलाले कारको फोटो पोस्ट गर्ने बित्तिकै भाइरल भयो । फोटोमा खैरो रंगमा देखिएको कारको बारेमा सोधिखोजी भयो ।

गाडीको यस्तो अनौठो रंगको बारेमा सोधिखोजी हुँदै जाँदा उत्तर झनै रोचक र अनौठो आयो । 

ती महिलाले आफ्नो गाडीमा गाईको गोबर लेपन गरेकी  रहिछन् । कारणका बारेमा बुझ्दा झनै अनौठो तथ्य महिलाले बताइन् । गर्मीबाट जोगिनका लागि उनले गाडीमा त्यसो गरेकी रहिछन् । हाल यहाँको तापक्रम ४५ डिग्री पुगेको छ ।

सोसल मिडियामा मानिसहरुले गाडीको फोटोमात्र शेयर गरिरहेका छैनन् कि यो अनौठो उपायका बारेमा पनि महिलालाई बधाई दिइरहेका छन् ।   

यसको बारेमा  रूपेश गौरांग भन्ने व्यक्तिले पहिलो पटक यो गाडीको फोटो शेयर गरेका थिए । 

गोबरको यो भन्दा राम्रो उपयोग मैले देखेको छैन भन्ने क्याप्सन उनले फोटोमा लेखेका थिए । फोटोमा गोबर लेपिएको टोयोटा कोरोला गाडी देखिन्छ । 

खासमा गोबरले ताप प्रतिरोधी इंसुलेटरको काम गर्छ । यसले सूर्यबाट प्राप्त तापलाई गाडीभित्र आउनबाट रोक्छ र गाडीलाई चिसो भैरहन मद्दत गर्छ । 

आज पनि ग्रामीण इलाकामा घरको भित्ता तथा भुँइमा गोबरले लिप्ने गरिन्छ यसले घरलाई जाडोमा तातो र गर्मीमा चिसो बनाइ राख्छ । 

गाईको गोबरलाई प्राकृतिक कीटनाशक समेत मानिन्छ ।