लमजुङ स्थित राइनास नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

लमजुङ स्थित राइनास नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ३, २०७९

लमजुङ । लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।

राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेस गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि आठसम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।
विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले बताए । अछामीका अनुसार पाठ्यक्रममा पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।

हाल कक्षा एकदेखि पाँचसम्मको पाठ्यक्रम निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमुख अच्छामीले यही शैक्षिक सत्रबाट पालिकाभित्रका पाँचवटा संस्थागत र ३६ वटा सामुदायिकसहित ४१ वटा विद्यालयमा अध्यापन सुरु गरिने बताए । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा, शैक्षिक क्षेत्रमा योगदान पु–याएका विशेष व्यक्ति एवं स्थानीय शिक्षकसहितको सात सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतका सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।

पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिको बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको राईनासका नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।