गोविन्द गिरी ‘प्रेरणा’ : हरेक विधामा पोख्त, लेखेर नथाक्ने सर्जक

दक्षिणकालीबाट हेटौंडा जाँदा दुई वटा बाटाहरु आउँछन् एउटा फाखेल अनि अर्को सिस्नेरी । तल सिस्नेरीमा टेकर भन्ने एउटा ठाउँ छ जहाँ गोविन्द गिरी प्रेरणाको जन्म २०१५ सालमा भयो । उहाँ जन्मिएको घर यद्यपि छँदैछ । उहाँको पाँच दाजुभाई तथा एक दिदीमा उहाँ र दिदी मात्र बाँकी हुनुहुन्छ । यसकारण पनि हरेक वर्ष भाइ टीकामा दिदीको हातको टीका थाप्न उहाँ अमेरिकाबाट आइ पुग्नुहुन्छ । यो उहाँको नियमित कार्यक्रम नै बनिसकेको छ । 

उहाँको बुवाहरू टेकरमा हुनेखाने परिवारमा गनिनुहुन्थ्यो । बाढी पहिरो जाँदा दुःख पाएका मानिसलाई तिमीले कति बोकेर लैजान सक्छौ भनेर दिने चलन रहेछ गिरी परिवारको । अनि पिँढीबाट टन्न भारी हालेर बोक्न नसकेपछि दुई जना मिलेर लैजाने पनि गर्दा रहेछन् आमाका अनुसार । 

टेकरमा प्राथमिक स्कूल मात्र भएको हुँदा छोराछोरीको पढाइका लागि उहाँको बुवा २०२३ सालमा हेटौंडा बसाइ सर्नुभयो । उहाँहरुको पारिवारिक अवस्था भनेको कृषि तथा पशुपालन नै मुख्य हो । भैंसी पालन पनि थियो उहाँहरुको । उहाँ आफैँ पनि भैंसीको दूध बेच्न हिँड्नुहुन्थ्यो । 

०००

सानोमा गोठालो जाने, बाँदरेको फल खाने, चुत्रो खाने, ऐँसेलु खाने, बाढी आएको खोलामा पनि पौडी खेल्ने यस्ता थिए गिरीका बालापनका हर्कत । कुलेखानी असला माछाका लागि प्रख्यात ठाउँ । बारुद पड्काएर माछा मार्ने चलन थियो । उहाँको बुवा अलि ठालु भएका कारण वरिपरि मान्छेलाई अह्राइ पराइ गरेर बस्नुहुन्थ्यो । उहाँ भने शुक्रबार स्कूलबाट सिधै माछा मारेको ठाउँमा जाने अनि माछा पोलेर खाने गर्नुहुन्थ्यो । चिसो पानी भएका कारण माछा मार्नेहरूलाई जाडो हुन्छ भनेर आगो बालिएको हुन्थ्यो । 

हेटौंडा सरेपछि भने सामान्य केही परिवर्तन भयो । अब माछा मार्ने ठाउँ टाढा भयो । अब गाइ, भैंसी गोठाला जाने, खेतीपातीका काम गर्ने, दूध बेच्न जाने काम हुन थाल्यो । 

०००
सरस्वती पूजाको दिनमा बुवाले सरस्वतीको प्रतिक षटकोण बनाएर त्यहाँ हातले लेख्न लगाएर अनि ढोगेर शुरु भएको हो उहाँको प्रारम्भिक शिक्षा । उहाँको स्कूले शिक्षा भने टेकरबाट नै शुरु भयो । दुई कक्षासम्म त्यहीँको स्कूलमा पढ्नुभयो । त्यसपछि उहाँ हेटौंडाको भुटन देवी माविमा तीन कक्षामा भर्ना हुनुभयो । 

टेकर सिस्नेरीमा उहाँ पढ्दा रुख मुनि बसेरै पढ्नु भएको हो । कक्षा कोठा भनेको एउटा सानो टहरो थियो । कहिलेकाहीँ त उहाँले रुखमा चढेर ढुंगा हानेको कुरा पनि सुनाउँछन् साथीभाइले । त्यसकारण उहाँलाई धुन्धुकारि पनि भन्थे रे ! 

भुटन देवीमा भने डेस्क बेन्चहरु सामान्य थिए । एउटा कक्षामा ४०/५० जना विद्यार्थी हुन्थे । महिलाहरु झण्डै २० प्रतिशत हुन्थे । अर्थात ८/१० जना मात्र । उहाँले त्यस बेला जंगलमा हुने निहुरो अनि पिँडालु जस्तो तरकारी खाने जलकु पनि ल्याएर बेच्नु भएको छ । 

उहाँ मध्यम खालको विद्यार्थी हो । बसाइ पनि मध्यम नै रह्यो । अगाडिको बेञ्चमा बिरलै बस्नुहुन्थ्यो । उहाँको पढाइ भने दश कक्षासम्म नै उस्तै उस्तै भयो । 
०००

उहाँले २०३२ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचका झण्डै ५०/६० जना विद्यार्थी थिए । त्यसमध्ये करिब ४० जना पास भए । उहाँ पनि चालिस मध्ये पर्नुभयो । एसएलसीपछि पढ्नका लागि उहाँ काठमाडौँ आउनुभयो । उहाँले पढ्न चाहेको त पब्लिक युथ क्याम्पसमा हो । त्यसमा नाम ननिस्किएपछि उहाँ नेपाल कमर्श क्याम्पस, मान भवनमा पढ्न थाल्नुभयो । 

त्यस बेला नेपाल कमर्श क्याम्पस मान भवनको आदर्श विद्या मन्दिर स्कूलको भवनमा भाडामा थियो । कलेजको जग्गा पनि थियो कुपण्डोल हिमालय होटलसँगै । पछि त्यो जग्गा बेचेर मिन भवनमा सरेको हो नेपाल कमर्श क्याम्पस । उहाँहरु मिन भवनको पहिलो ब्याच समेत हो । उहाँको आइएदेखि एमएसम्मका सबै पढाइहरु मिन भवनमै पूरा भए । 

उहाँ एक पटक २०२५ सालमा काठमाण्डौ आउनु भएको हो । उहाँको दाइ नेपाल प्रहरीमा हवल्दार हुनुहुन्थ्यो । उहाँ सरुवा भएर ताप्लेजुङको ओलाङचुङगोलामा सरुवा भएर जानु भयो । भाउजु कोठामा एक्लै हुने कारणले साथी बस्नका लागि उहाँ काठमाडौँ आउनु भएको रहेछ । त्यस बेला उहाँ ८ कक्षामा पढ्नुहुन्थ्यो । कमलपोखरीको कवि रमेश खकुरेलको घरमा त्यस बेला स्कूल थियो । त्यो स्कूलमा उहाँको भाउजूले पढाउनुहुन्थ्यो । उहाँ पनि त्यहाँ गएर पढ्नु भयो । 

दाइको कोठा जैसी देवलमा थियो । अनि लाइन लागेर सार्वजनिक शौचालयको प्रयोग गरेको सम्झना पनि छ उहाँलाई । त्यस्तै ओसिलो कोठामा झुम्रो वाला मट्टितेल स्टोभमा भात पकाउँदा को त्यो गन्ध अझै पनि उहाँको नाकमा छँदैछ । 

उहाँको त्यो पहिलो काठमाडौँ यात्रा थियो लोक भक्त ट्रान्सपोर्ट बसमार्फत । आफ्नै फुपाजुले गाडी चलाउने कारणले भाडा तिर्नु परेन । 

एक पटक हजुरआमासँग काठमाण्डौ आउँदा भक्तपुर अनि पाटन घुमेको पनि सम्झना छ उहाँलाई । त्यस बेला उहाँ टेकरबाट दक्षिणकाली हुँदै हिँडेरै काठमाण्डौ आउनु भएको हो । 
०००
एसएलसी सकिएपछि उहाँ भुटन देवी माविमा जागिर खान नजानु भएको पनि होइन । तर, उहाँको साथीको दाई हिरालाल श्रेष्ठ विद्यालय संचालन समितिमा भएका कारण अन्तरवार्ता लिनेमा हुनु हुँदो रहेछ । उहाँले जागिर खाएर हुँदैन काठमाडौँ पढ्न जानुपर्छ बरु के के सहयोग गर्नुपर्छ गरौँला भाइ पनि जान्छ भनेपछि काठमाण्डौ आउनु भयो । पछि उहाँले काठमाण्डौमा पढ्न निकै सहयोग पनि गर्नुभयो । 

काम गर्दै गर्दा एक जना फ्रेण्डस क्लब कुपण्डोलका साथी शुशील ढुंगेल हुनुहुन्थ्यो । फ्रेण्डस क्लबको मुखपत्र ‘आस्था’ निस्कने रहेछ त्यस बेला । अनि उहाँलाई साथीले तपाइँ त कथा लेख्नु हुँदो रहेछ हाम्रो पत्रिकालाई पनि दिनुस् भनेपछि उहाँको पहिलो कथा ‘किनारा’ छापियो । त्यस बेला उहाँ गोविन्द गिरी मात्र हुनुहुन्थ्यो । ‘प्रेरणा’ भइसक्नु भएको थिएन । 

पहिले उहाँ काठमाण्डौ आउँदा त्यस बेलाका मेयर निरशंकर श्रेष्ठको भाइसँग झोछेंमा केही समय बस्नुभयो । त्यसपछि कालिमाटीमा बस्नुभयो । दशैँ आएर एक महिना घर जाँदा उक्त कोठा छोड्नु पर्यो । पछि भने त्रिपुरेश्वरको चन्द्रलोक श्रेष्ठको घरमा बस्न थाल्नुभयो । धेरै डेरा चहारेपछि उहाँले महिनाको ६० रुपैया तिर्ने गरी कालिमाटीको श्याम राईको घरमा डेरा बस्न थाल्नुभयो । 

उहाँले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जागिर खानुभयो । १६ रुपैयाँ दैनिक ज्यालादारीमा । दैनिक ज्यालादारी भए पनि तलब मासिक नै आउँथ्यो । विद्यार्थी भएका कारण बिहान दश बजेको साटो बाह्र बजे आउने अनि बेलुकी भने सात बजेसम्म काम गर्नुपर्ने सुविधा दिएको थियो अफिसले । त्यसबेला त्रिविको अफिस अहिले वल्ड ट्रेड सेन्टर भएको स्थानमा थियो । 

पहिलो तलबले खाना खाजा तथा दशैँमा घर जाँदा यसो घरमा केही किनेर लगेको सम्झना छ उहाँलाई । उहाँले खाएको पहिलो तथा अन्तिम जागिर नै त्यही थियो । ज्याला दारीबाट अस्थायी, स्थायी अनि लेखा अधिकृतसम्म भएर जागिर छोड्नुभयो । २२ वर्षको दौरान उहाँको एक पटक मात्र बढुवा भयो त्यो पनि २०४६ सालको आन्दोलनमा जर्बजस्ती र लडाइँ गरेर ।  

०००
प्राय शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गथ्र्यो । उहाँ आठ कक्षामा आएपछि भने पहिलो कविता शुक्रबारे गोष्ठीका लागि लेख्नुभएको हो । शीर्षक थियो बिहान । चरा चराचुरुङ्गीको  चिरबिर, मन्दिरमा घण्ट बज्न थाले भन्ने जस्ता शब्दहरु थिए कवितामा । कविता पुरस्कृत पनि भएन र उहाँले त्यसपछि भाग लिन पनि छोड्नुभयो । 

एसएलसी पास भइयो भने मनकामनामा अण्डा चढाउँछु भन्ने उहाँको भाकल थियो अनि उहाँ एक्लै जानुभएको थियो । अण्डा चढाइ सकेपछि त्यसलाई झिक्रा खोजेर पकाएर खान्छु भनेर लाग्दा आएको एउटा बसको युवतीले उहाँलाई आउन इशारा गरिन । उहाँ पच्छ्याउँदै जानुभयो । तर, गाडी हुँइँकियर गई गयो । त्यस पछि उहाँ कोठामा आएर एउटा गीत लेख्नुभयो । डेरा सर्दा त्यो गीत कता हरायो थाहा भएन । 
गीत यस्तो थियो :
इशारा किन गर्यौ मलाई एकान्तको पहाडमा, 
छटपटाउने व्यथा दियौँ किन एकान्तको पहाडमा ।।

काठमाडौँ आइसकेपछि त्यस बेला सुन्ने भनेकै रेडियो नेपाल थियो । गीतमा यसले रुचि जगायो । उहाँ रेडियोमा आएका गीतहरु सबै सार्नुहुन्थ्यो । ती सारेका गीतका डायरी अझै सुरक्षित छ उहाँसँग । 

त्यस बेला नयाँ सन्देशमा कथाहरु आउँथे । उहाँ पढ्नुहुन्थ्यो । र, उहाँले नयाँ सन्देशमा छाप्नका लागि भनेर कथा लेख्नु पनि भयो । तर, कहिल्यै छापिएन । उहाँको कथा नछापिइकन नयाँ सन्देश सकियो तर उहाँ भने कथाकार हुनुभयो । 

उहाँ काम गर्दै गर्दा एक जना फ्रेण्डस क्लब कुपण्डोलका साथी शुशील ढुंगेल हुनुहुन्थ्यो । फ्रेण्डस क्लबको मुखपत्र ‘आस्था’ निस्कने रहेछ त्यस बेला । अनि उहाँलाई साथीले तपाइँ त कथा लेख्नु हुँदो रहेछ हाम्रो पत्रिकालाई पनि दिनुस् भनेपछि उहाँको पहिलो कथा ‘किनारा’ छापियो । त्यस बेला उहाँ गोविन्द गिरी मात्र हुनुहुन्थ्यो । ‘प्रेरणा’ भइसक्नु भएको थिएन । 

२०३६ सालमा भएको सडक कविता क्रान्तिपछि उहाँ धेरै माझ परिचित हुन पुग्नुभयो । चर्चा भयो । समाचार छापिए । सडक कविता क्रान्तिले उहाँलाई धेरै सहज बनायो । भर्खर लेख्न थालेको उहाँले मोहन कोइरालासँग बसेर कविता वाचन गर्न पाउनु भयो । यसरी लेख्न थाल्नु भएको उहाँ आजसम्म लेखेको लेख्यै हुनुहुन्छ । 

ठूला ठूला लेखक पनि सामान्य र सहृदयी हुँदा रहेछन् । माया, सद्भाव राख्ने रहेछन् । अनुज पुस्ताले पनि एकदमै सम्मान र आदर राख्थे । एकपटक सडक कविता क्रान्तिमा भवानी घिमिरेले सबै उद्घोष गर्नुहुन्थ्यो । 

एक पटक त्यस दिनको सडक कविता क्रान्तिमा कविता पाठ गरेर अन्तिम अन्तिम भएको थियो । त्यतिकै मा हरिभक्त कटुवालले गएर माइक समात्नु भयो र भन्नुभयो, पख्नुस् आज हामीले यो कार्यक्रममा यति राम्रो राम्रो कविता सुन्यौँ तर अझै एउटा कविता सुन्न बाँकी छ । भवानी जीले बिर्सनु भयो तर मैले बिर्सेको छैन ती हुन् गोविन्द गिरी 'प्रेरणा'  भनेर उहाँले उद्घोष गर्नुभयो । यो उहाँको लागि एकदमै गौरव तथा उत्प्रेरणाको क्षण थियो । 

उहाँले सडक कविता क्रान्तिको मञ्चमा यो देश ब्युँझदैछ भन्ने कविता वाचन गर्ने गर्नुहुन्थ्यो । 

उहाँले लेख्न थालेपछि एकदमै धेरै कथा, कविता, निबन्ध लगायत सबै विधाका किताबहरु पढ्नुभयो । यसले कुनै विषय लेख्दा कुन विधामा जाने भन्ने कुरा थाहा हुँदो रहेछ । त्यो रचना कथा, कविता, निबन्ध, उपन्यास के बन्न ठिक छ भन्ने कुरा आफैँ थाहा हुने रहेछ । 

धेरै विधा पढ्दा त्यसको जरासम्म पुगिन्छ र कहाँ कसरी जाने भन्ने त्यसले मार्ग प्रशस्त गर्ने उहाँको अनुभव छ । 

गोविन्द गिरीबाट त्यसबेला नामको पछाडि फुर्को झुन्ड्याउने चलनका कारण प्रेरित भएर प्रेरणा हुन पुग्नु भएको रहेछ । कतिले यो स्त्री लिंग जनाउने नाम भयो पनि नभनेका होइनन् । तर उहाँले भने त्यसरी सोचेर राख्नु भएको होइन । पछि उहाँलाई के लाग्यो भने गोविन्द गिरी त अनेकौँ छन् प्रेरणा भएका कारण नै उहाँलाई चिनिन सजिलो भएको हो । 

०००
उहाँका हालसम्म ५ वटा कविता संग्रह, ६ वटा कथा संग्रह, ६ वटा उपन्यास, ३ वटा यात्रा संस्मरण, २ वटा निबन्ध संग्रह, एउटा समालोचना, एउटा हास्य व्यंग्य र एउटा अन्तरवार्ता रहेको छ । 

पुरस्कारका सम्बन्धका उहाँको आफ्नै धारणा छ । त्यो के हो भने लेखक सधैँ सही हुन्छ । लेखकले राम्रो लेखेर दिएनन् भने पनि नदिने को गल्ती नराम्रो लेखेर दिए पनि दिनेको गल्ती । 

उहाँले यहाँ राइटर्स क्लब शुरु गर्नु भएको थियो । पछि अमेरिका गए पछि अन्तर्राष्ट्रिय साहित्य समाजको डीसी मेट्रो च्याप्टरको संस्थापक महासचिव तथा अध्यक्षको रुपमा पनि काम गर्नुभयो । 

उहाँको अगुवाइमा वासुदेव त्रिपाठीको अभिनन्दन, कृष्ण प्रसाद पराजुलीको अभिनन्दन, डा. वासुदेव त्रिपाठीको अभिनन्दन, यादव खरेल, एसपी कोइराला, पुष्कर लोहनीको सम्मान जस्ता धेरै काम उहाँको नेतृत्वमा भयो । 

महाकवि लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकी संसारभर मनाइयो तर, अमेरिकामा मात्र सात दिनसम्म सप्ताहव्यापी रुपमा उहाँको संयोजकत्वमा मनाउने काम भयो । उहाँले युवा वर्ष मोती पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, मैनाली कथा पुरस्कार, वासु–शशी स्मृति पुरस्कार, नई पुरस्कार लगायत थुप्रै पुरस्कार  प्राप्त गर्नुभएको छ ।