गृहकार्य र परीक्षाको असंयोग: शिक्षकलाई मिहिनेती, कडा देखाउन कि विद्यार्थीको टाउको दुखाउन ?

फर्कलान् र ती दिनहरु

गृहकार्य र परीक्षाको असंयोग: शिक्षकलाई मिहिनेती, कडा देखाउन कि विद्यार्थीको टाउको दुखाउन ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  असार ४, २०७९

२०३१ सालबाट सुरु गरेको शिक्षण कार्य आजसम्म पनि निरन्तर छ । नियमितरुपमा त सामुदायिक विद्यालयबाट निवृत्त भएकै हुँ तर हामी आफैँले प्रयास गरेर खोलेको सामुदायिक क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसमा आत्म रतिका लागि भए पनि कहिलेकाहीँ पढाउँदै छु । अर्थात् करिब करिब ५ दशकदेखि निरन्तरजस्तै गरी अध्यापन गर्दाका धेरै सम्झनाहरू नहुने कुरै भएन । 

सकेसम्म नयाँ नयाँ तरिकाले पढाउने कोसिस गरिन्थ्यो तर त्यसका लागि शिक्षकको तयारीले मात्र नपुग्ने रहेछ, विद्यार्थीहरूमा पनि त्यो तत्परता चाहिन्छ नै । विद्यालयहरुमा गृहकार्यको बारेमा बढी चर्चा हुन्छ । गृहकार्य गराउने शिक्षक मिहिनेती, कडा, यदि गृहकार्य नगरे शारीरिक दण्डसमेत दिने काम गरिन्थ्यो, गरिन्छ ।

यदि हामीले विद्यालय कक्षामा नै विद्यार्थीहरुलाई सम्झाउन सक्यौँ भने गहकार्य ले उसलाई अभ्यासका लागि प्रेरित गर्न सक्नुपर्छ तर त्यस्तो भएको मैले महशुस गरेको छैन । बसौँ देखिको त्यो पुरानो चलनले अहिले पनि उत्तिकै महत्व पाएको मैले पाएको छु । मलाई गृहकार्य गरेका विद्यार्थीहरुको अभ्यास पुस्तिकाका आधारमा उनीहरुको विकास हुन्छ, भन्ने कुरामा कहिल्यै पनि आकर्षण गरेन किनभने गृहकार्यले अभ्यास गर्नका लागि मद्दत पुर्‍याउने हो जबकि घरमा अरु कसैले गरेर ल्याउने, अझ विद्यालयमा त अंग्रेजी, गणित र विज्ञानमा बढी जोड दिइन्थ्यो ।

मलाई त  आफ्ना देशको मात्र यो चलन हो कि भन्ने लागेको थियो, तर एकपटक अमेरिकाको चर्चित नेसनल एजुकेसन एशोसियसनको एन इ ए भन्ने पत्रिकामा एउटा कार्टुन देखेँ - सबैभन्दा मिहिनेती र निरन्तर गृहकार्य गर्ने विद्यार्थीलाई पुरस्कार दिइएको रहेछ, पुरस्कार लिन जाँदा पुरस्कार लिन उसले आफ्नी आमालाई बोलाउँदै भनेको रहेछ - मम्, कम । अर्थात् सबै गृहकार्य गर्ने त उसकी आमा पो रहिछन् ।

अहिले पनि मलाई लाग्छ, घरमा गृहकार्य गर्न नदिँदा शिक्षकलाई भनिन्छ, कस्तो शिक्षक गृहकार्य नै दिँदैनन्, अनि विद्यार्थीका लागि पढाइ टाउको दुखाइको विषय हुने गरेको छ ।अभिभावकहरु झन अहिले त यति व्यस्त छन् कि आफ्ना बच्चा बच्चीले के गरे भन्ने पनि थाहा पाउने समय हुँदैन ।  शिक्षक मिहिनेती, कडा देखाउन र  गृहकार्य नगरे शारीरिक दण्ड  दिनको लागि उपयोग हुँदै आएको छ । 

सबैभन्दा बढी गृहकार्य दिइने विषय भनेको गणित, विज्ञान , भाषामा हो । अचम्म त के कुरामा लाग्थ्यो र लाग्छ अहिले पनि भने केही विद्यार्थीहरुको धेरै प्राप्ताङ्क पनि गणितमा नै हुने अनि धेरै विद्यार्थीहरुको कम प्राप्ताङ्क पनि गणितमा नै रहने । पहिले पहिले माध्यमिक विद्यालयको अन्तिम परीक्षा जुन थियो एस. एल. सी.,त्यहाँ धेरै विद्यार्थीहरुको असफल हुनेहरुको संख्या पनि गणितमा हुने तथ्याङ्कले देखिन्थ्यो । 

पहिले कक्षा १० लाई विद्यालयको अन्तिम कक्षा मानिएको थियो र माध्यमिक विद्यालयको अन्तिम परीक्षा भनेर एस एल सी बोर्डले लिने गर्थ्यो । त्यसैलाई एसएलसी बोर्ड अर्थात् परीक्षा नियन्त्रण कार्यालय हुन्थ्यो । अहिले पनि त्यो कार्यालय छ तर त्यसको आधिकारिक नाम राष्ट्रिय परीक्षा बोर्ड भनेर नामाकरण गरिएको छ । त्यसले कक्षा १देखि कक्षा १२सम्मको स्तर परीक्षण गर्नुपर्ने हो तर अहिले शिक्षाको जिम्मा तीन तहका सरकारमा बाँडिएको छ । 

अहिले स्कुल लिभिङ सर्टिफिकेट अर्थात् एसएलसी छैन तर त्यसको नाम माध्यमिक विद्यालय शिक्षा परीक्षा अर्थात् एस इ इ राखिएको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको रुपमा लिइएको ले कक्षा १०लाई पुरानो सम्झनाको लागि अझै त्यही तामझामका साथ परीक्षा लिइन्छ । साँच्चै भन्ने हो विद्यालय तहको अन्तिम परीक्षा भनेको कक्षा १२ हुने भएपछि कक्षा १० लाई किन विद्यालयकै भरमा नछोड्ने र ? जहाँसम्म गुणात्मकताको कुरा छ, के हामीले हाम्रो पाठ्यक्रममा  तोकिएको उद्देश्यको मापन गरेका छौँ र प्रत्येक परीक्षामा या प्रत्येक शैक्षिक वर्षमा ? के दुई वा तीन घण्टाको परीक्षाको प्राप्त नतिजाको आधारमा मान्ने हो कि हाम्रा लक्षित उद्देश्यहरु पूरा भएका होलान् ? 

फेरि अहिलेको कोरोनाको महामारीले हामीलाई ठुलो शिक्षा दिएको छ, महामारीमा, मुलुकमा वा वैश्विक परिस्थितिमा आई पर्ने कुनै पनि अपरिवर्तनीय अवस्थासँग कसरी जुध्ने ? त्यो बेलामा कसरी बालबालिकाको भविष्य सुनिश्चित गर्ने अनि आम नागरिकहरुलाई बाँच्ने आधारको रोजगारीको कसरी प्रत्याभूत गर्न सकिने ? बालबालिकाहरुलाई कसरी अभिभावकहरुको सहसम्बन्धमा उनीहरुको शिक्षाको आवश्यकता पूरा गर्न सकिन्छ, त्यो पनि व्यावहारिक शिक्षा, जीवनोपयोगी शिक्षाको माग र जरुरत अनुसारको आपूर्ति । 

मैले धेरै शिक्षाविदका कुरा सुनेको छु, धेरैजना व्यावहारिक पाठ्यक्रम तयार गर्नका लागि विश्वमा ती देशहरुको अध्ययन भ्रमणमा गएको पनि देखेको छु । तिनले किन ती सफल देशहरुको जस्तो शैक्षिक कार्यक्रमको तर्जुमा गर्न सकेनन् ? दोष जत्ति शिक्षकलाई दिइन्छ शैक्षिक अवनतिका लागि । होला शिक्षकले त्यसलाई कक्षाकोठामा कार्यान्वयन गर्ने हुनाले केही कमी भएको होला तर शिक्षकलाई के कुराले हतोत्साहित पार्‍यो होला ? राष्ट्रिय भावनाको कमी ? आफ्ना कर्तव्यहरूप्रतिको वितृष्णा ? अभिभावकहरुको कम चासो ? विद्यालय शिक्षाप्रति तीन तहका सरकारकै कम प्राथमिकता ? निजी विद्यालयहरुको कथित सफलताका अगिल्तिर आफूले गर्न नसकेकोमा क्षोभ ? 

मलाई एउटा अनुभव छ - जब म लेबोरेटरी विद्यालयबाट काज फिर्ता भएर गुह्येश्वरी बाल शिक्षा मावि थापाथलीमा गएँ, त्यहाँको कक्षा गत बन्दोबस्त, परीक्षाको अवस्था र एस एल सी मा विद्यार्थीहरुको असफलताको अवस्था । कारण थियो, त्यहाँ पढ्ने विद्यार्थीहरुको कोही पनि निश्चित अभिभावक थिएन र अभिभावक बोलाउँदा कि त मालिकसाहेब वा मालिक्नी साहेब आउने कि कोही पनि नआउने । त्यसको कारण थियो, त्यहाँ विहानी कक्षा थियो कक्षा ७देखि १० सम्म ।

हामी किन टेस्टमा फेल गर्छौँ विद्यार्थीहरुलाई ? फेल गर्नुको अर्थ हो फेरि अर्को सालमा सुधार गर्ने ? अनि हामीले फेल गरेका विद्यार्थीहरु कुनै पनि क्लासमा फेरि फर्केर आएका छन् त ? किनभने तिनीहरुको चिन्ता लिने हामीले मात्र हो, अरु कोही पनि छैन ।

बाल श्रमिकहरु विहानी कक्षामा पठाइन्थे र कसैले पनि उनीहरुको अभिभावकत्वको जिम्मा लिन चाहँदैनथे । अनि एस एल सी मा तीन वर्षसम्म ३० प्रतिशतभन्दा घटी उत्तीर्ण हुँदा विद्यालयको अनुदान कटौती गर्ने नियम राखिएको थियो त्यस ताका । अनि प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक सकेसम्म योग्यता परीक्षामा रोकेर एस एल सी मा धेरै पास भएको देखाउन चाहन्थे, तर उल्टो पर्थ्यो किनभने एस एल सी मा पनि एकदम कम पास हुने ।

योग्यता परीक्षामा पनि फेल हुने, अन्तिम परीक्षामा पनि फेल हुने अनि विद्यालयको पास प्रतिशत कम हुने । सधैँ डर के हुने रहेछ भने कहीँ तीन वर्षसम्म पनि ३० प्रतिशतभन्दा घटी पो हुने हो कि ? मलाई लाग्यो केही सल्लाह दिउँ कि ? तर डर थियो म उहाँहरूभन्दा पुरानो शिक्षक भए पनि बढी अनुभव उहाँहरुको थियो त्यो विद्यालयमा । म बोर्डमा स्थान ल्याई रहने विद्यालयबाट गएको शिक्षक, केही भन्दा धेरै उपदेश दिएको जस्तो हुने किनभने ल्याब स्कुलमा सबैजस्तो चलन अमेरिकी चलनको थियो तर नीति त नेपालकै थियो ।

त्यहाँ पनि केही मिलिरहेको थिएन तर हामी त्यहाँ त्यसबारेमा घनघोर छलफल गर्थ्यौँ र कुनै न कुनै उपाय निकाल्थ्यौँ किनभने त्यहाँका अभिभावकहरु सक्रिय थिए र हामी शिक्षकहरु पनि देखासिकी ले पनि सक्रिय थियौँ ।

योजना, कार्यान्वयन र अनुगमनको समिश्रण थियो तर थापाथलीमा त्यसको कमी थियो जस्तो लाग्यो र मैले एकदिन प्रअ र सप्रअलाई भनेँ - हामी किन टेस्टमा फेल गर्छौँ विद्यार्थीहरुलाई ? फेल गर्नुको अर्थ हो फेरि अर्को सालमा सुधार गर्ने ? अनि हामीले फेल गरेका विद्यार्थीहरु कुनै पनि क्लासमा फेरि फर्केर आएका छन् त ? किनभने तिनीहरुको चिन्ता लिने हामीले मात्र हो, अरु कोही पनि छैन ।

फेरि हाम्रा त्यस्ता विद्यालयमा पढ्न आउने भनेका भुइँ मानिसहरु नै हुन् । तिनका पारिवारिक अवस्था कस्तो हुन्थ्यो भने छिन्न भिन्न परिवार, टुक्रेका अभिभावकत्व, अर्काका घरमा बसेर जीवन जिउनु परेको व्यथा तर पढेर केही हुन्छ कि भनेर बेला बेलामा स्कुल धाउने चलन । हप्तामा दुई या तीन दिन मात्र आउने । जाँचका बेलामा पनि जाँच सुरु भएको झन्डै एक घण्टापछि मात्र आउने बाध्यता किनभने मालिकका घरमा काम जो सम्पन्न गर्नुछ या मालिकका सन्तानलाई विद्यालय जाने तयारी गर्नु जो छ ।

मैले निवृत्ति भरणमा अनिवार्य अवकाश लिएको पनि करिब ८ वर्ष भयो, अहिले कस्तो होला अवस्था  छ थाहा छैन तर त्यो अवस्थाबाट त्यति धेरै परिवर्तन र उन्नति भएको जस्तो लाग्दैन । अहिले त्यो विद्यालयमा एकै सिफ्टमा कक्षा सुरु गर्न थालिएको रहेछ किनभने विद्यालय भवन बनेछ पक्का । तर पनि बच्चाहरूमा म किन पढ्दैछु भन्ने भावना कतिमा होला ?

मैले पढेर के हुने भन्ने सजगता कतिमा होला ? मलाई लाग्छ, बच्चाहरुको चाहना अनुसारको शिक्षा दिने भनेको नै व्यावहारिक तथा बाल मनोविज्ञानमा आधारित शिक्षा हो । त्यसैले भुइँ मानिसहरु पढ्ने विद्यालयमा, न त कसैले भर्ना लिन्न भन्न सक्छ, न त आएका विद्यार्थीहरुलाई फर्काउन सक्छ । हो विद्यालयमा कक्षा कोठा नभएर ठाउँ हुँदैन, बस्ने ठाउँ हुँदैन अनि फर्काउनु जरुरी हुन्छ तर जो शिक्षा दिइन्छ, त्यो पनि सबै शिक्षकको जिम्मामा हुन्छ । 

अनि मैले भनेँ - अब कुनै पनि कक्षामा कसैलाई फेल नगरौँ । मेरो कुरा सुन्दा मेरा ती भाइहरूले केही त भन्न सकेनन् तर मनमा लाग्यो होला, त्यसरी कसरी हुन्छ र ? मेरो तर्क थियो, हामी मात्र उनीहरुको चिन्ता लिन्छौं, कम्तीमा पनि उनीहरुको चिन्ता उनीहरुलाई पनि दिउँ न । उदाहरणका लागि मैले भने, जब कुनै विद्यार्थी फेल भएपछि फर्केर आउँदैन भने कम्तीमा पास गरेमा अर्को कक्षामा पढ्ने मौका पाउँछ र आफूलाई सुधार गर्ने समय पाउँछ । कसले पो के धेरै जानेको हो र ?

हामीलाई पनि त कक्षा १० मा पढेका कुराहरु सबै अहिले याद छैन नि ! अनि त्यसको पहिलो प्रयोग गरियो कक्षा १०को योग्यता परीक्षामा । परीक्षा हामीले नै लियौँ किनभने शिक्षा नियमावलीमा योग्यता परीक्षा लिने काम विद्यालयको जिम्मा नै थियो । हामीले नै प्रश्नपत्र बनायौँ, एस एल सी स्तरको अनि विद्यार्थीहरुलाई उत्प्रेरित गर्‍यौँ जस्तो आउँछ त्यस्तो लेख्नका लागि ।

कारण थियो योग्यता परीक्षाको नतिजाका आधारमा सुधार गरेर लैजाने र सबैलाई बरु पास गर्ने । नभन्दै अचम्म भयो, त्यो पटक नै ८०प्रतिशत विद्यार्थीहरुले एस एल सी मा उत्तीर्ण गरे । अर्को सालमा त झन प्रथम श्रेणी पनि आयो, शतप्रतिशत पास भए । त्यसपछि त प्रत्येक वर्ष नतिजा राम्रो आउन थाल्यो । त्यतिमात्र नभएर मैल पत्रकारितामा कक्षा ९ र १० को कक्षा पनि सुरु गरेँ ।

कक्षा ९र १०मा इच्छाधीन दोस्रो पत्रमा दुई विषय मैले नै एउटै कक्षा लिन्थेँ - पत्रकारिता र लेखा तथा कार्यालय सञ्चालन । जम्मा पिरियड थियो हप्तामा तीन घण्टी । तर मैले उनीहरुलाई एउटै कक्षामा राखेर कहिले लेखा कहिले पत्रकारिता पढाएँ । सायदै दुवै विषयमा कोही फेल भए होलान् जस्तो लाग्छ । पत्रकारिता विषयका विद्यार्थीहरुलाई म बेलामौकामा कार्यक्रममा पनि लान्थेँ जसले गर्दा उनीहरुमा समाजमा आफूहरुको अस्तित्व रहेछ भन्ने बारेमा सचेत हुन्थे ।

मैले पत्रकारिता विद्यालयमा पढाएर जीवनमा पत्रकारिताको महत्व सम्झाउन सकेका मध्ये दुईजना विद्यार्थीहरुले अझै पनि त्यो शिक्षालाई पेसाको रुपमा, समाजसेवाको रुपमा ग्रहण गरेका छन् - सरल गुरुङ र अशोक दर्नालले ।

सरल त अचम्मको थियो, कक्षाको राम्रो विद्यार्थी थियो तर टेस्ट ताका कुनै पर्यटकीय समूह सायद ताइवानी समूहलाई लिएर पहाडी भ्रमणमा गएछ। फाराम भर्न छुट्यो । अनि फेरि कक्षा १०मा नै पढ्यो है । उसमा शिक्षा प्रतिको भने चासो थियो तर मनमौजी थियो । साह्रै सहयोगी । विद्यालयमा पर्ने समस्याहरुको समाधानका लागि सधैँ तत्पर । अनि अशोक थियो अल्छी तर भन्थ्यो - गुरु मैले मौका पाएँ भने पत्रकारिताबाट संसारमा चिनिन्छु । नभन्दै मैले कतिपय पत्रिकामा लगेर लेख्न लगाएँ , युएसएडले उसलाई विद्यालयमा नै हुँदा छात्रवृत्ति दिएको रहेछ पत्रकारिताका लागि लेख्ने वृत्तिका लागि । त्यति बेर मलाई कति खुसी लागेको थियो ।  पछि सरल गुरुङ नेपाली पत्रकारितामा साहसी पत्रकारको रुपमा गणना गरियो र धेरै अनुसन्धानात्मक रिपोर्टिङ गरेको पाएँ कहिले नेपाल एफ एममा, कहिले सगरमाथा टिभीमा, कहिले कान्तिपुर टिभीमा ।

सायद अहिले उच्च शिक्षाका लागि नेपाल बाहिर गएको जस्तो लाग्छ, अशोक चाहिँ दलित अनलाइन भन्ने अनलाइनमा छन् क्यारे । अरु कतिले के के पढे त थाहा छैन, मैले ती अभिभावकविहीन बच्चाहरुलाई सधैँ बाँच्न र केही गर्नका लागि प्रेरित गर्न पाएँ त्यसमा खुसी लाग्छ । अरु पनि कति अनुभवहरु छन् , पछि पस्कौँ ला ! ।

क्रमशः