शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' सार्वजनिक

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ४, २०७९

कवयित्री शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन् ।

कविताकृतिमाथि टिप्पणी गर्दै कवि मोमिलाले शान्तिका कविताका विषय र शिल्प बेजोड रहेको बताइन् । समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

साझा प्रकाशनका महाप्रबन्धक कवि प्रह्लाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताए ।

कुलपति गंगाप्रसाद उप्रेतीले शान्तिको सिर्जनाकला प्रशंसायोग्य रहेको उल्लेख गर्दै अझ सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिए ।

कवि शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बूको परिवेशलाई समेटेर कविता रचना गरिएको बताइन् । कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयवस्तुहरूलाई उठान गरिएको पनि उनकाे भनाइ थियो ।

साझा प्रकाशनले प्रकाशन गरेको कवितासंग्रहमा ४७ वटा छन् । कार्यक्रममा ‘नसोधिदेऊ विन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।