महिलालाई दायित्व बढी, विश्वास कमः सहसचिव राधिका अर्याल
  • तारा वाग्ले

सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन् । तर, सहसचिव राधिका अर्यालले चाहिँ शाखा अधिकृतबाट उपसचिव नभई सिधै सहसचिवमा फड्को मार्नुभयो । सहसचिव राधिका अर्यालले अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

२०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्यालले खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा एकै पटकमा उपसचिव र सहसचिव दुवै पदमा नाम निकाल्नुभयो । २०६९ सालमा अन्तर्वार्तामा सहसचिवमा नाम निकालेपछि उहाँले उपसचिवको कार्य अनुभव नलिँदै सहसचिव हुनुभएको हो ।

करिब १० वर्षअघिदेखि सहसचिवको भूमिकामा रहनुभएकी अर्याल अब भने बढुवाबाट सचिव बन्ने लाइनमा हुनुहुन्छ । काठमाडौंको निम्नमध्यम परिवारमा उहाँको जन्म भएको हो । कृषि पेसामा निर्भर परिवारमा संघर्ष गर्दै पढेर अर्यालले वनस्पति विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ । निजामती सेवामा रहेर काम गर्न पाउँदा गौरव अनुभूति गर्ने सहसचिवको किशोर अवस्थाको रहर भने शिक्षिका बन्ने थियो । समयसँगै पेसा बदलिए पनि केही उदाहरणीय काम गरेर देश र जनतामाझ छुट्टै पहिचान स्थापित गर्ने उहाँको रहर भने कत्ति पनि बदलिएको छैन । नयाँ जोस जाँगर र लगनशीलताको साथ १८ वर्षको निजामती सेवाको यात्रा पूरा गर्नुभएकी सहसचिव अर्यालको अनुभव उहाँकै शब्दमा:

बुबा निरक्षर, आमा पढ्न सक्ने

मेरो जन्म काठमाडौंको साविकको गोलढुंगा गाउँ विकास समिति-  ३, हालको तारकेश्वर नगरपालिका- ५ मा भए पनि हुर्किने क्रममा र पढ्ने क्रममा समेटेका अनुभवहरू देशका अन्य दुर्गम क्षेत्रका बालबालिकाका जस्तै नै हुन् । कृषि पेसामा आश्रित परिवार थियो हाम्रो । बुबा निरक्षर हुनुहुन्थ्यो भने आमा अक्षर चिन्न सक्ने हुनुहुन्थ्यो । आमाले हामीलाई धार्मिक पुस्तकहरू वाचन गरेर सुनाउनुहुन्थ्यो ।

म बुझ्न सक्ने बेलासम्म पनि हाम्रो ठाउँतिर सबै छोरीले पढ्ने चलन आइसकेको थिएन । हामी ५ जना दिदीबहिनी र १ जना दाजुमध्ये मभन्दा माथिका ३ जना दिदीहरूले त पढ्नै पाउनुभएन । दाजुले भने पढ्नुभएको थियो । आफूले पढिसकेपछि बहिनीहरूलाई पनि पढाउनुपर्छ भनेर म र मेरी बहिनीलाई पढ्न प्रेरित गर्नुभयो ।

उहाँकै शिक्षाप्रतिको जागरणका कारण हामीले पढ्न पायौँ । मैले १ देखि ७ कक्षासम्म काठमाडौंको पृथ्वीनारायण माविमा र ८ कक्षादेखि एसएलसीसम्म लैनचौरको कन्या मा.वि.मा अध्ययन गरे । स्कुलमा मेरो पढाइ राम्रो थियो । मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी वनस्पति विज्ञानमा स्नातकोत्तरसम्म अध्ययन गरेँ । यसका साथै जनप्रशासन संकायमा स्नातकोत्तर तह र जापानको टोकियो विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छु ।

'शिक्षिका बन्छु जस्तो लाग्थ्यो'

मैले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह पढिसकेपछि आफैँले पढेको विद्यालयमा पढाउन थालेँ । भविष्यमा विश्वविद्यालय तहको अध्ययन सकेपछि कलेजमै पढाउँछु होला भन्ने लागेको थियो । तर, समयसँगै लक्ष्य पनि बदलियो । मैलै एमएस्सी सकेपछि साथीहरूले लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोलेको छ, जाँच दिने होइन ? भन्न थाले । मैले पनि कोसिस गरेँ ।

पहिलो पटकमा शाखा अधिकृतको प्रारम्भिक परीक्षामा र तेस्रो पटक अन्तिम चरणको परीक्षामा सफलता हाँसिल गरेँ र २०६१ सालमा निजामती सेवामा प्रवेश गरेँ । यस क्षेत्रमा प्रवेश गरेपछि शिक्षण पेसा छुट्यो । तर, अहिले यस क्षेत्रमा आएर राम्रो गरेछु भन्ने लाग्छ । निजामती सेवा जिम्मेवारीभित्र रहेर देश र जनताको हित हुने काममा संलग्न भई आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिन पाउँदा आनन्द र गौरव अनुभव हुन्छ ।

शाखा अधिकृतपछि सिधै सहसचिव

शाखा अधिकृत भएपछि विभिन्न निकायमा रहेर ७ वर्ष सम्म काम गरेँ । कार्यालयको जिम्मेवारीका साथसाथै आफ्नो वृत्ति विकासप्रति पनि सचेत नै थिएँ । यसै क्रममा उपसचिव र सहसचिव दुवै पदका लागि खुला प्रतियोगितामार्फत परीक्षा दिएकी थिएँ । दुवै पदको लिखित परीक्षामा नाम निस्कियो । तर, अन्तर्वार्तामा चाहिँ सहसचिवमा मात्र दिएकी थिएँ । पहिलो पटकमै सफल पनि भएँ । २०६९ सालदेखि सहसचिवको जिम्मेवारीमा छु ।

सफलताको श्रेय दाजु, श्रीमान्‌ र परिवारलाई

म अहिले जुन स्थानमा छु, त्यसको सबै श्रेय मेरा दाजु, श्रीमान्‌ र परिवारलाई जान्छ । दाजुले मलाई स्कुल पढ्न पठाउनुभयो र परिवारले पनि यस कदमलाई सकारात्मक रूपमा लिई मेरो विद्यालय तह र विश्वविद्यालय तहको पढाइ सम्पन्न गर्न पूर्ण रूपमा सहयोग गर्‍यो । मेरा दाजुले सधैँ मलाई निजामती सेवामा आउन पनि हौसला दिनुहुन्थ्यो । उहाँ निजामती सेवामा हुनुभएकाले मलाई यस क्षेत्रमा प्रवेश गर्न धेरै सजिलो भएको हो । आजसम्म पनि मैले उहाँबाट सहयोग पाई नै रहेकी छु ।

शाखा अधिकृत भएपछि मात्र मेरो विवाह भएको हो । श्रीमान्‌ अहिले नेपाली सेनाको प्रमुख सेनानी पदमा कार्यरत हुनुहुन्छ । श्रीमान्‌ले पनि मलाई अघि बढ्न निरन्तर साथ दिनुभयो । परिवार पनि निकै सहयोगी पाएकी छु । सासू-ससुराले पनि बुहारीले घरको मात्र काम गर्ने हो भन्ने सोच नराखी मेरो वृत्ति विकासमा सधैँ सहयोग गर्नुभयो । घरायसी काममा सघाउनुभयो र मैले पढ्ने पर्याप्त समय पाएँ । अहिले पनि मेरी ५ वर्षकी छोरीको हेरचाह गरिदिनुभएको छ । त्यसैले मैले ढुक्कले कार्यालयको काममा मात्र ध्यान दिन पाएकी छु ।

चुनौतीभन्दा अवसर धेरै

मैले सेवा प्रवेश गरेदेखि हालसम्म विभिन्न मन्त्रालय, विभाग तथा महाशाखामा रहेर काम गर्ने अवसर पाएँ । शाखा अधिकृत भएपछि श्रम मन्त्रालयबाट काम सुरु गरेकी थिएँ । पछि सहसचिव भएपछि ५ वर्षसम्म महिला मन्त्रालयमा काम गरेँ । त्यहाँ काम गर्दा महिला अधिकारका लागि विभिन्न नीति, नियम बनाउन र तिनको कार्यान्वयन गर्ने काममा सरिक भएँ । कामकै सिलसिलामा महिला अधिकारसम्बन्धी महासन्धिको कार्यान्वयनको अवस्थाका बारेमा सिड कमिटीमा प्रतिवेदन पेस गर्ने अवसर पाएकी छु ।

निजामती सेवा टिमवर्कमा आधारित भएकाले मैले यति नै काम गरे भनेर मापन गर्न सकिँदैन तर महिला, बालबालिका, अपांगता भएका व्यक्ति, लैंगिक हिंसापीडित महिला तथा किशोरी र ज्येष्ठ नागरिकको हक र अधिकार स्थापित गर्नका लागि काम गर्ने अवसर महिला मन्त्रालयमा प्राप्त भयो । यसपछि संचार तथा सूचना प्रविधि मन्त्रालयमा र बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १/१ वर्ष काम गरेँ ।

यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भयो । काम गर्ने क्रममा सहकर्मी तथा सिनियरबाट सधैँ सहयोग र मार्गदर्शन प्राप्त भयो । कतिपय अवस्थामा काम गर्ने क्रममा चुनौती र अप्ठ्याराहरू आउनु त स्वाभाविक नै हो । त्यसैले यस क्षेत्रका चुनौतीको सामना गरी अवसर र सम्भावनामा ध्यान दिएर सोहीअनुरूप काम गर्न सकेमा सफलता हासिल गर्न सकिन्छ ।

अहिले हाम्रो समाजमा महिलाले अधिकार पाउने क्रम विस्तार हुँदै छ । राज्यको पनि महिला सशक्तीकरणमा ध्यान गएको छ । तर, सामाजिक सोचमा भने अझै परिवर्तन भैसकेको छैन । जुनसुकै क्षेत्रमा पनि महिलालाई उच्च जिम्मेवारी र संवेदनशील तहको जिम्मेवारी दिन आनाकानी गर्ने गरेको देखिन्छ । महिलाले आफ्नो क्षमता प्रमाणित गर्न पुरुषभन्दा बढी नै खटिनुपर्छ ।

अर्को कुरा, महिलालाई घर परिवारको जिम्मेवारी, सामाजिक दायित्व र कार्यालयको काम साथसाथै लैजानुपर्ने हुन्छ । यस्तै, दोहोरो तेहरो जिम्मेवारीकै बीच कार्यसम्पादन गरी आफ्नो वृत्ति विकास गर्नुपर्ने हुन्छ । त्यसैले महिलाको सफलताको डोरो उसको परिवारसँग जोडिएको हुन्छ । परिवारले साथ र हौसला दिएमा तथा सहयोग गरेमा मात्र महिलाले सफलताको सिँढीहरू सहजै पार गर्न सक्छन् । त्यसैले महिलाको उन्नतिका लागि महिला स्वयंको परिश्रम, मिहिनेत र इच्छाशक्तिका साथै परिवारको पनि हौसला र सहयोग आवश्यक छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार