एन्फा निर्वाचन : यी हुन् २ समूहका उम्मेदवार

एन्फा निर्वाचन : यी हुन् २ समूहका उम्मेदवार

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ५, २०७९

नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ४ वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बूढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी ४ वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति पाउनेछ । 

अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ समूहसहित प्रतिस्पर्धाको मैदानमा उभिएका छन् । यस्तै, फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । 

नेपाली खेलकुद क्षेत्रमै बढी चलायमान र धेरै बजेट हुने संघ हो एन्फा । यसले गर्दा एन्फा जहिल्यै चर्चाको शिखरमा रहने गर्छ । पूर्वअध्यक्ष गणेश थापाको २२ वर्षे कार्यकालपछि नरेन्द्र श्रेष्ठ हुँदै कर्मा छिरिङको समूह एन्फाको नेतृत्वमा आएको थियो । तर, थापाको नेतृत्वलाई चिर्दै एन्फामा आएका कर्मा र पंकज नै यतिबेला प्रतिस्पर्धाको मैदानमा छन् । दुवैले समूह बनाएर नै एकअर्कालाई सिध्याउने मनस्थिति बनाएका छन् । 

अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी पर्दा एक वरिष्ठ उपाध्यक्षमा २, ४ उपाध्यक्ष पदका लागि ८, १३ खुला सदस्य पदका लागि ३५ तथा २ महिला सदस्य पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट बी डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा आफूलाई प्रस्तुत गरेका छन् । यस्तै, ४ उपाध्यक्षमा पूर्वखेलाडी तथा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वखेलाडी विज्ञानराज शर्मा, दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

१३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनीष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रूपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टीका लामा र महिलातर्फ पेमा डोल्मा लामा र बिना श्रेष्ठ छन् । 

यता, पंकज नेम्बाङ पक्षबाट बरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि तथा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले उम्मेदारी दिएका छन् । 

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्वखेलाडी विराटजंग शाही, बी डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र ए डिभिजन क्लब न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वरकुमार राउतसहित महिलामा वृन्दा देवान र सरला श्रेष्ठ छन् ।

यता, सदस्य पदका लागि केही स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।