'सेनाले अर्को देशलाई पत्राचार गर्ने कुरा कूटनीतिक मर्यादामा पर्छ कि पर्दैन ?'

'सेनाले अर्को देशलाई पत्राचार गर्ने कुरा कूटनीतिक मर्यादामा पर्छ कि पर्दैन ?'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  असार ५, २०७९

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने  बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चार माध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनका बिरुद्ध गठन भएको गठबन्धनले मुलुकमा लोकतन्त्र, संविधान र जनताको हितमा कार्य गर्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनसम्म तालमेल गर्ने बताउनु भएको हो  । 

उहाँले प्रधानमन्त्री, शेरबहादुर देउवा, आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजै छलफल भएको बताउँदै उहाँले गठबन्धनलाई कसरी जोगाएर अगाडि बढ्ने, छ महिनाभित्र चुनाव सम्पन्न गर्ने, सिट बाड फाँडलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।   

विद्यमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत ल्याउन कठिन रहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनमा भएका कमि कमजोरीलाई समीक्षा गर्दै उहाँले छिट्टै सिट सङ्ख्या बाडफाँट गरी आगामी निर्वाचनमा सहकार्य गरी अगाडि बढ्ने नेताहरूकाबीच समझदारी भएको प्रष्ट पार्नुभयो । 

विगतमा सबै वडा पालिकामा पार्टीको सङ्गठन विस्तार नभएको, स्थानीय तहको निर्वाचनमा पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको अवस्थामा पनि आएको परिणाम सन्तोषजनक रहेको बताउँदै उहाँले देशका ७५३ पालिकामा तिब्र गतिमा राजनीतिक गतिविधिका साथै संग७ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष नेपालले केही समय अगाडि आशङ्कामा रहेको एमसिसि व्याख्यात्मक टिप्पणीपछि केही सहज भएको भए पनि अहिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा विवाद भएको र नयाँ तरङ्ग आएकाले राष्ट्रियतालाई कमजोर बनाउने गरी कुनै पनि कार्य गर्न नहुने बताउनुभयो ।  
 
सरकारले एसपिपीलाई खारेज गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो –‘सन् २०१५ अक्टोबर २७ मा एसपीपीका लागि नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि यसमा थप अन्योल देखा परेको छ, छिमेकी राष्ट्रलाई अप्ठेरो पार्न कुनै पनि सम्झौता गर्न सकिदैन् । 

प्रधानमन्त्रीसँग सोही सन्दर्भमा छलफल गर्दा उहाँ यस विषयमा चिन्तित भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, 'सेनाले अर्को देशलाई पत्राचार गरेको कुरा कुटनीतिक मर्यादामा पर्छ कि पर्दैन ?  कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । तत्कालीन प्रधानमन्त्री समेत अनविज्ञ रहेको एसपीपी विषय राष्ट्रको पक्षमा छैन् ।

अन्तर्राष्ट्रिय बजारमा उच्च भएको पेट्रोलियम उत्पादनको प्रभावले अहिले देशमा भइरहेको मूल्य वृद्धिले जनता महंगी को मारमा परेको बताउँदै अध्यक्ष नेपालले राज्यले जनताको पिर मर्का बुझेर ती पेट्रोलियम उत्पादनमा मूल्य बढाउन नहुने सुझाव दिनुभयो ।