बदमासी गरेपछि जागिरबाट निकाल्दा निकाल्दै  पनि साढे ७ लाख चोरी !

बदमासी गरेपछि जागिरबाट निकाल्दा निकाल्दै  पनि साढे ७ लाख चोरी !

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ६, २०७९

कास्की । पोखरा १४ मा रहेको वीपी मार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए ।

लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का थियो । विकले ग्रिल र झ्याल फुटाएर काउण्टरमा भएको पैसा चोरे । सञ्चालक सन्तबहादुर लामिछानेका अनुसार ७ लाख २५ हजार ३ सय ५० र ९ हजार भारतीय रुपैयाँ थियो । तर विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।

थप २ लाख रुपैयाँ पनि घरमा लुकाएको स्विकार गरेको प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । औद्योगिक क्षेत्रबाट सादा पोशाकमा खटिएको प्रहरीले विकलाई शंकास्पद अवस्थामै पक्राउ गरेको हो । तत्कालै खानतलासी गर्दा उनको साथबाट नगद भेटिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । विक माथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।