फुटबलको सर्वोच्च निकाय एन्फाको  नेतृत्वका लागि आज मतदान  पार्क भिलेज रिसोर्टमा

फुटबलको सर्वोच्च निकाय एन्फाको  नेतृत्वका लागि आज मतदान  पार्क भिलेज रिसोर्टमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ६, २०७९

काठमाडौँ । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारण सभा आजबाट सुरु हुँदै छ । आगामी चार वर्षे नेतृत्वका लागि आज २१ सदस्यीय  केन्द्रीय कार्यसमिति छनौट गर्ने छ । निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लब , राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिनेछन्।

एन्फा अन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन्।  यस पटक एन्फामा ८४ जनाले मताधिकार पाएका छन्।   काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम ९ बजे सुरू हुने बताइएको छ । उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन्। 
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्का प्रतिस्पर्धामा छन् । यस्तै उपाध्यक्षमा शेर्पा पक्षबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्। नेम्बाङ पक्षबाट विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवार छन्।

निर्वाचनमा ७ प्रदेशमध्ये प्रदेश १ एकका सबैले नेम्बाङलाई भोट दिने सार्वजनिक रूपमै घोषणा गरेका थिए। यस्तै सी डिभिजन क्लबका मताधिकार पाएका व्यक्ति पनि नेम्बाङ पक्षका खुलेका छन्। एन्फाको लामो समय नेतृत्व गरेका पूर्व अध्यक्ष गणेश थापा समेत नेम्बाङ पक्षमा खुलेको बताइएको छ । थापाको नेपाली फुटवलमा राम्रो भूमिका भएकोले पनि यस पटक नेम्बाङ पक्षले वाजी मार्ने अनुमान गरीएको छ ।  

भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै एन्फाको विधान विपरित मताधिकार दिइएको  दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो। कबर्तमान कार्यसमिति विभिन्न काण्डमा मुछिएपछि पछि पनि एन्फामा नेतृत्व परिवर्तन गर्नुपर्ने दवाव परेको बताइन्छ ।