२८ स्थानीय तहमा पुगेनन् बैंक

२८ स्थानीय तहमा पुगेनन् बैंक

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १०, २०७६

काठमाडौं । देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्।

सरकारले आम नेपालीलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पुर्याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ। केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कूल २८ वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ।

राष्ट्र बैंकका अनुसार प्रदेश १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको नौ महिनाको अन्त्यसम्म १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन्।

प्रदेश २ का कूल १३६ स्थानीय तहमध्ये कूल १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। सो प्रदेशका दुई स्थानीय तहमा बैैंकको शाखा पुर्याउने योजना केन्द्रीय बैंकको छ।

प्रदेश ३ का कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्।

प्रदेश ५ को भने कूल १०९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन्। सबै स्थानीय तहमा बैंकको शाखा पुर्याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ। आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ।

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। कूल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्। भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ।

त्यस्तै, सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पुर्याउने लक्ष्य राखिएको छ।

राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन्। यस्तै विकास बैंक एक हजार २२४, वित्त कम्पनी २०३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४६९ शाखा सञ्चालनमा रहेका छन्। सबैं बैंक तथा वित्तीय संस्थाका गरी कूल आठ हजार २०५ शाखा सञ्चालनमा छन्। यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको समाचार राससमा छ ।